घुँयत्राे : “चोक्टा खान गाकी बुढी झोलाँ डुबेर मरी“ भन्याझैँ भो त हँ मधेसीहरुलाई

“चोक्टा खान गाकी बुढी झोलाँ डुबेर मरी“ भन्याझैँ भो त हँ मधेसीहरुलाई । ओलीबाको अंवैधानिक कामलाई काँध थाम्दै हिँडेको मधेसी दलको महन्थ ठाकुर ग्रुप मन्त्री बनेर देशको ढुकुटियाँ रजाइँ गर्ने सपना बोकेर मन्त्री मण्डलाँ गए ।

तर मधेसीहरु मंगलबारको सर्वाेच्च अदालतको निर्णयले अबकास भएछि अब मधेसीहरु धोबिका कुत्ता घरका न घाटकाझैँ भा छन् । हुन त ओलीबा ( प्रधानमन्त्रीले ) मधेसीहरुलाई क्वाटर छोडेर जान पर्दैन ।

१/२ दिनाँ केही न केही तर्किब सोच्छु भनेर अहिलेलाई थुम्थुम्याकै छन् । तर कतिन्जेल हो कुन्नि ? अदालताँ पर्या मुद्दा अनि एकपछि अर्काेमा उनको हार । त्यसपछि फेरि अर्काे निर्णय त्यसमा राष्ट्रपतिको लालमोहर ।

यी सब काण्डलाई हेर्दा त ओली र भण्डारीले देशलाई न्याउरी मुसोले सर्पलाई खेलाई खेलाई मारेझैँ देशलाई नि खेलाई खेलाई तहसनहस पार्न लाग्या जस्तो देखिँदै छ । तर पनि राष्ट्रपति र प्रधानमन्त्रीको यो हर्कतविरुद्ध प्रतिपक्ष दलहरु टुलुटुलु परेर हेर्या देख्दा जनतासमेत प्रतिपक्षप्रति पनि विश्वस्त देखिँदैनन् ।

प्रधानमन्त्रीका हरेक क्रियाकलापलाई सर्वाेच्च अदालतले अमान्य घोषित गर्दासमेत प्रधानमन्त्री विरुद्ध कुनै आवाज उठाउन नसक्ने भएपछि विपक्षीहरु आँफैमा अत्यन्तकमजोर रहेको महसुस पनि सर्वत्र गरिँदै छ । अदालतले पनि प्रधानमन्त्रीका काम गैरसंवैधानिक भन्दै जाने तर उनलाई पदबाट हटन बाध्य हुने किसिमको फैसला वा आदेश दिन नसक्ने अवस्थामा पो देखिन्छ ।

-वेदर्षि

तपाईको प्रतिक्रिया