चुरे उत्खनन् गर्न मिल्छ ?

डा. उपेन्द्र बराल । अहिले चुरे निकै चर्चामा छ । यस पर्वत शृंखलाको उत्पत्ति र विकास कसरी भयो ? हामी सबैलाई सन् २०१५ को भूकम्पपछि इन्डियन प्लेट एसियन प्लेटमुनि धुस्रिने क्रम निरन्तर रहेको र यही कारणले बारम्बार भूकम्प जाने गरेको थाहा भइसकेको छ । हो यही इन्डियन र एसियन प्लेटको बीचमा साढे ५ करोड वर्ष पहिले तेथिस भनिने ठूलो महासागर थियो ।

दक्षिणी गोलार्धमा रहेको इन्डियन प्लेट क्रमशः उत्तरतर्फ बढ्दै एसियन प्लेट भएको ठाउँमा पुग्दा ठोकियो र पर्वतीय शृंखला बन्ने क्रम जारी भयो । हिमाली शृङ्खलामा मूलत ४ ठूला धाँजा (जसलाई थर्सट र फल्ट भन्ने गरिन्छ) रहेको पाइएको छ । यही कारणले सागरमा थिग्रिएर रहेको जमिनले पहाडको रूप लिएको हो । इन्डियन र एसियन प्लेटको ठक्करसँगै यी धाँजाहरू फाटेका हुन् ।

यसमा ’साउथ टिबेटियन डिट्याचमेन्ट सिस्टम’को सक्रियता १.६ करोड वर्षमा, ’मेन सेन्ट्रल थर्स्ट’को पुनः सक्रियता करिब ८० लाख वर्षमा, ’मेन बाउन्ड्री थर्स्ट’को सक्रियता करिब १ करोड वर्षमा र ’मेन फ्रन्टल थर्स्ट’को १० लाख वर्ष यता भएको पाइएको छ । सुन्दा अचम्म लागे पनि यसले पर्वतको बनोट र उत्पत्तिको लागि लामो समय लाग्ने जानकारी दिन्छ ।

पहाड कसरी बनेको होला भन्ने जानकारी लिन मन भए यसबाट केही मद्दत हुन्छ । यसरी पहाड बन्ने क्रमसँगै ती पहाडको वरपर ठूलाठूला ताल (ससाना सागर) को विकास पनि हुन थाल्यो । यसरी बनेका तालमा त्यहीँ अग्लिदै गएका पहाड हुँदै बग्ने खोलानाला, हिमपात, वायु आदिले बगाएर ल्याएका कण थिग्रिन थाले । पछि गएर तिनै पहाडका रूपमा विकास भए । यस्तै क्रममा १.६ करोड वर्ष पहिले पर्वत शृङ्खलाको दक्षिणमा बन्न गएको तालमा त्यस समयबाट २० लाख वर्षसम्म थेग्रिएर बनेको पहाड नै हालको चुरे हो ।

पूर्वमा ब्रह्मपुत्र र पश्चिममा इन्दुस नदीको बीचमा फैलिएको २४ सय किलोमिटर लामो यस हिमाली पर्वत शृङ्खलामध्येको ८५० किमि नेपालमा पर्छ । यो हिमालय संसारको सबैभन्दा कान्छो पर्वत हो र यसमा पनि चुरे सबैभन्दा पछाडि बनेको पर्वत शृङ्खला हो ।  बाँकी तीन हिमालयः तथिस, हाइयर र लेसर चुरेको उत्तरतर्फ रहेका छन् भने दक्षिणमा तराईको समथल भूभाग छ ।

चुरेलाई भौगर्भिक समाजमा सिवालिक भन्ने गरिन्छ । सरदर चुरे पहाड तराईबाट १० देखि ५० किमिसम्म फैलिएको छ र १ हजार ५०० मिटरदेखि २ हजार मिटरसम्म उचाइका डाकँडाकाँडा छन् । चुरे पर्वत शृङ्खलालाई यसमा पाइने चट्टानको आधारमा तीन भागमा बाँडिएको छ ।  यसमध्ये तल्लो भाग (जसलाई लोअर सिवालिक भन्ने गरिन्छ) धेरैजसो ठाउँमा तराईको फाटसँगै जोडिएको पाइन्छ । यो भाग अधिक मात्रामा माटोले बनेका पत्रे चट्टान र थोरै ससाना कणले बनेका कंकण ( स्यानस्टोन) मिलेर बनेको छ ।

बुटबल–पाल्पा सडकमा पर्ने सिद्धबाबाको मन्दिरसँगै वा चतरा मन्दिरको उत्तर हेर्दा यस प्रकारको चट्टान देख्न सकिन्छ । माटोको मात्रा धेरै भए छिटो बगेर जाने हुँदा त्यस क्षेत्रमा बढी मात्रामा भूक्षय हुने गरेको देखन सकिन्छ । यो जमिन १६ करोड वर्षदेखि १० करोड वर्षसम्म नदीले थुपारेर बनाएको हिमालमा रहेका ठूलाठूला चिरा र धाँजाको कारणले सतहभन्दा माथि आई हाल पहाडको रूपमा रहेको हो । यस समयमा हिमालय (जुन पहिले नै सतहभन्दा माथि आइसकेको थियो) को कटाइ ̸ क्षय तीव्र गतिमा भएको थियो र सिवालिक बेसिन पनि हिमालयभन्दा टाढा रहेको थियो । यसै कारणले यस भागमा माटोले बनेको चट्टानको मात्रा धेरै भएको हो ।

तल्लो भागभन्दा माथि कंकणका आकारमा केही परिवर्तन भएको पाइन्छ । यस मध्य भाग ( मिडल सिवालिक) मा कंकणको मात्रा धेरै र माटोको कम छ भने यसको पनि सबैभन्दा माथिको भागमा ससाना गोल आकारका ढुंगा पनि पाइन्छ । यस मध्य भागमा नुन र मरिचको मिश्रणजस्तो देखिने बनावट बढी पाइन्छ । यो भूभागको क्षय तल्लो भागको भन्दा कम हुने गरेको छ । यो भूभाग १० करोड वर्षदेखि ५० लाख वर्षसम्म छरिएर बग्ने नदीले थुपारेको हो जुनपछि हिमालयमा उत्पन चिराको कारणले पहाडको रूपमा विकास भयो ।

सबैभन्दा माथिको भागमा ससानादेखि एकदमै ठूला ढुंगालाई माटो वा कंकणले जोडेर बनाएको चट्टानले (जसलाई कंलोमेरेट भनिन्छ) बनेको छ । खोलाको बहावले बोकेर लान नसक्ने ठूलाठूला ढुंगा पहाडको मुखैमा थिग्रिएर बसेको त हामीले देखेकै छौँ । यो भाग पनि त्यसैगरी पहाडको एकदमै नजिक ५० लाख देखि २० लाख वर्षभित्र बनेको हो । यो चट्टान सबैभन्दा छिटो मकिने र क्षय बढी हुने खालको हो । चुरेमा पाइने सबै खाले ढुंगा गेग्रेन प्रकारको छ र यसलाई निर्माण कार्यमा उपयोग गर्नुपर्छ भन्ने हाल चर्चाको विषय बनेको छ ।

चुरे पर्वत शृंखलाले नेपालको १२.८ प्रतिशत भूभाग ओगटेको र यसमा १४ प्रतिशत जनसंख्या रहेको एक अध्ययनले देखाएको छ । यस चुरेमा विभिन्न खाले वनस्पति रहेकोमा २ हजारभन्दा बढी फूल फुल्ने प्रकारका पनि छन् । यस भूभागले तराईको भूमिगत जलस्रोतमा धेरै योगदान गर्छ र यस चुरेमा ४ हजारभन्दा बढी स्थानीय सामुदायिक वन रहेका छन् । यो कमजोर बनोटको भूभागलाई यसबाट र यस भूभाग हुँदै बग्ने खोलानालाले बगाएर लाने क्रम भने जारी छ । एक अध्ययनले यस क्षेत्रमा ४ सय वर्गफिटभन्दा ठूला १० हजारभन्दा धेरै पहिरोको पहिचान पनि गरेको छ ।

यो भूभागले तराईको भूमिगत पानीको तहलाई जोगाउँछ र वन पैदावारले वातावरणलाई बचाइराख्छ । यससँगै बढीमात्रामा भूक्षय भई तराईको उर्वर जमिनमा माटो र बालुबा बाढीको रूपमा थुपारेर उब्जनी कम गराउँछ ।
नेपाल सरकारले जुलाई १४, २०१४ मा लागू गरेको पर्यावरण संरक्षण ऐन, (१९९७) ले ढुंगा, गिटी, बालुवाको उत्खननमा कमी ल्याएको छ त ? अझ भन्नुपर्दा स्थानीय सरकारले नै निकासी पैठारीको अनुमति दिने र निगरानी गर्ने गरेकोमा झनै अव्यवस्थित भएको समाचार आइरहेका छन् । यस भूभागको बनेटबाट चुरे छिटै मकिने र बगेर जाने खालको चट्टान हो र हाम्रो हिमालयमा उत्खनन गर्न मिल्ने प्रशस्त ठाउँ भएकोले यसको वैज्ञानिक तरिकाले उत्खनन् गर्न सकिने भन्ने देखिन्छ तर यसमा सरकारी संयन्त्रको निगरानी भने बढी नै प्रभावकारी हुनुपर्छ ।

(बाह्रखरीबाट)

 

तपाईको प्रतिक्रिया