घुँयत्राे : यो बर्षातदेखि रिसाएर ओलीबा बेस्सरी पड्किनु भो

यो बर्ष ओलीबाले चुरेका ढुङ्गामाटो सबै बेचेर मधेसी दल र मोदीलाई खुशी पार्न खोज्या थे । त्यही भएर होला यस पटकको बर्षातमा मेलम्चीदेखिकै गिटी र बालुवा तराईहुँदै विना पैसा भारत पुगे । अनि यो बर्षातदेखि रिसाएर ओलीबा बेस्सरी पड्किनु भो ।

देशाँ त्यति ठूलो बाढी आयो म्याग्दि बग्यो । मेलम्ची बग्यो । मनाङ बग्यो । तर हाम्रा ओलीबाको आँखाबाट न त दुई थोपा आँशु बगे न त सान्त्वनाका शब्द । अदालतले एकपछि अर्काे गर्दै ओलीबाका निर्णयलाई गलत भन्दै पठाउँदै गरेछि रिसले चुर हुनुभा ओलीबालाई यस्ता बाढी र पहिरो के मतलव !

जो जससित सरोकार राख्दछ भन्याझैँ जो जससित सरोकारै राख्दैन त त्यो कुराँ ओलीबाले गरेनन् भन्न पनि त बेकारै हो । सरकारले राहत दिएन भनेर सरकारकै खेदो मात्रै खनेछि ओलीबाले नी आफ्ना अखिलनामका मुसडण्डेहरुलाई मेलम्ची पठाएर अखिलको झण्डा गाडेर आफन्तलाई राहत बाँड्न लगाए ।

तर ह्वाँका लठैतहरुलाई लखेटालखेट पारेछि ओलीबा नि कति सहेर बस्ने के ? त्यही भएर जति गरेनी आँफुले जस पाइन्न भने किन राहतको खेलाँ लाग्ने भनेर चुप्पै बस्या ओलीबालाई फेरि जिस्क्याएछि ओलिबाले लौ त कसरी गर्दारैछौ हेरौँला भनेर चुप्पै बस्देछि ऐले देशाँ ठूलै खैलाबैला मच्च्या छ ।

यो पानी भनाउँदो पनि ओलीबालाई अरु सबैले घेराबन्दी गर्या बेलाँ किन घेरा बन्दी गर्न पुग्या हो कुन्नि । असारै नलाग्दै जेठबाटै ओइर्या बर्षात नि हिजोआज भन्दाभन्दै गोडा आठेकदिन हुन लाईसक्यो थाम्मिने नामै लिन्न । पहाडाँ बाढी र पहिरो र तराई जलमग्न भएर हेरिसक्नु छैन । प्रकृतिले यसरी लात हान्या बेलाँ अदालतले नि दिनहुँ ओलीबालाई फुर्लुङ्गफुर्लुङ्ग पल्टिने गरि निर्णय गरेछि प्रधानमन्त्री भन्दैमा सहने शक्ति काँ हुन्छ के ?

यो कुरा किन बुझ्दैनन के जनता ! त्यसैले ओलीबाका प्रिय देशबासीहरु अहिले ओलिबालाई पार्टीबाट नी लखेट्याछन्, प्रकृतिले नि लखेट्याछ । यस्तो बेलाँ तपाइँहरुले साथ दिन छोडनु हुन्न । अबको करिब सातादिनाँ त पार्टी नि एक होला अनि ओली बा नी तङ्ग्रिनु होला । पार्टी एक भएछि त फेरि ओलीबाले तपाइँहरुका दिन फिराई हाल्नुहुन्छ नि । त्यसैले गोडा सातेक दिन चुप्प लाएर बस्नोस् ।

-वेदर्षि

तपाईको प्रतिक्रिया