महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेको छ । शनिबार बिहान १० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ७४ हजार २३३ क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नदी तटीय क्षेत्रमा प्रहरीको युनिटलाई सर्तक अवस्थमा राखिएको छ ।

‘बाढीले प्रभावित गर्न सक्ने क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा लागेका छौं,’ उनले भने, ‘अहिलेसम्म अवस्था सामान्य रहेको छ।’ महाकाली नदीमाथि निर्माणाधीन नयाँ पुलतर्फ जाने ६ लेनको सडक मार्गको आवागमन प्रहरीले बन्द गरेको छ ।

महाकाली तटीय क्षेत्र भुजेल लगायतका बासिन्दालाई सचेत गरिएको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको दार्चुलामा पानीको बहाव ६ दशमलब ३७ मिटर रहेको छ ।

डडेल्धुराको परिगाउँमा पानीको बहाव ६ दशमलव ४७ रहेको छ। छ मिटरभन्दा बढीको बहावलाई जोखिमयुक्त मानिन्छ ।

तपाईको प्रतिक्रिया