खेलकुदमा कर्णाली सरकारको ५९ करोड बजेट

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न पूर्वाधारमा खर्च गरिने

सुर्खेत । कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सपना देखेको छ । खेलकुदको महाकुम्ब मानिने यो प्रतियोगिता गर्न सहज भने छैन । तर दुई बर्ष अघिदेखि नै कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । यद्यपी प्रदेश सरकारले यसका लागि आवश्यक पूर्वाधार निर्माणमा लगानी गर्न नसकेको गुनासो खेलाडीहरुले गर्दै आएका छन् ।

उक्त प्रतियोगिता आयोजना गर्न भन्दै प्रदेश सरकारले पनि आवश्यक तयारी थालेको छ । त्यसैका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट पनि विनियोजन गरेको छ । बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाए पनि कार्यान्वयन हुनेमा भने आशंका छ । सरकारको वेवास्ताका कारण नै चालु आर्थिक वर्षमा बजेट हुँदाहुँदै खेलकुदका पूर्वाधारहरु निर्माण हुन सकेनन् । चालु आर्थिक बर्षमा खेलकुद पूर्वाधार निर्माणका लागि छुट्याएको एक प्रतिशत पनि बजेट कार्यान्वयन भएको छैन ।

चालु आर्थिक बर्षमा प्रदेश सरकारले खेलकुदका लागि कुल १५ करोड ४० लाख बजेट छुट्याएको थियो । आर्थिक बर्ष सकिनै लाग्दा बजेट कार्यान्वयन नहुने निश्चित छ । ढिलागरी खेलकुद परिषद् गठन हुनु, समयमै अख्तियारी नपाउनु र कोरोना महामारी कारण बजेट कार्यान्वयन गर्न नसकिएको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक बर्षमा सुर्खेतमा प्रदेशस्तरीय रंगशाला, हुम्लामा हाईअल्चिच्यूड रंगशाला, जुम्लामा हाईअल्चिच्यूड तालिम केन्द्र, कालिकोटको रास्कोटमा रंगशाला, हुम्लाको सिमकोटस्थित रंगशालाको स्तरोन्नति गरेर प्रदेशको हाईअल्चिच्यूड रंगशालाका रुपमा विकास गर्ने लगायतका योजना अघि सारेको थियो । तर हालसम्म कुनै पनि आयोजनाहरु अगाडि बढेका छैनन् ।

चालु आर्थिक बर्षमा प्रादेशस्तरिय रंगशाला निर्माण हुन नसके पनि यो आयोजना आगामी आर्थिक बर्षमा पनि बजेटको प्राथमिकता छ । यो बर्ष रंगशालाको गुरुयोजना समेत बनाउन नसकेको खेलकुद परिषद्ले भने आगामी बर्षको सुरुमै काम अगाडि बढाउने दाबी गरेको छ । उसो त आगामी आर्थिक बर्षमा पनि खेलकुदका पूर्वाधारहरु निर्माण हुन नसके कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सम्भव छैन ।

किनकी कर्णालीमा खेल पूर्वाधार कमजोर छ । प्रदेशमा कुनै पनि खेलका लागि गतिलो रंगशाला नै छैन । प्रदेश र जिल्लास्तरका प्रतियोगिताहरु पनि धुलोमै हुने गरेका छन् । अर्कोतर्फ खेलाडीलाई खुलाचौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ । कर्णालीका खेलाडीहरुले भने बजेट पूर्वाधार निर्माणका लागि बजेट पर्याप्त नभएको बताउँछन् । तर पनि आगामी बजेटको कार्यान्वयनमा जोड दिनुपर्ने खेलाडीहरुको सुझाव छ ।

आगामी आर्थिक बर्षमा पनि प्रदेश सरकारले खेलकुद्का क्षेत्रमा ५९ करोड बजेट छुट्याएको छ । बजेटमार्फत प्रदेश राजधानी वीरेन्द्रनगरको प्रादेशिक रंगशाला, चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार एवम् कभर्डहल निर्माण घोषणा गरेको छ । खेल क्षेत्रको विकासका लागि स्थानीय तहसँग सहकार्य एमव् साझेदारी गरिने पूर्वाधार निर्माण गर्ने घोषणा गरिएको छ ।

युवाहरुलाई खेल गतिविधिमा आकर्षित गर्ने र सामूहिक भावनामा काम गर्न उत्प्रेरित गर्न क्षमता विकास तथा वृत्ति विकासका लागि निरन्तरता दिने उल्लेख छ । समग्र रुपमा दशौं राष्ट्रिय खेलकुद् प्रतियोगिताको लागि बजेट अभाव छैन । तर खेलाडीहरुले भने बजेट कार्यान्वयनमा अझै पनि आंशका व्यक्त गरेका छन ।

‘बजेट पर्याप्त भएन’


कर्णालीका खेलाडी तथा सरोकारवालाहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि प्रदेश सरकाले छुट्याएको ५९ करोड बजेट कम हुने बताएका छन् ।

‘झट्टै हेर्दा ५९ करोड बजेट देखिन्छ, तर राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यो पर्याप्त होइन’ कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्की भन्छन्, ‘सम्पूर्ण बजेट पूर्वाधार निर्माणमा खर्चे पनि यो काम चलाउन मात्र हुन्छ ।’ आवश्यक मापदण्ड र दीर्घकालीन योजना सहितका पूर्वाधार निर्माणका लागि अहिलेको बजेट पर्याप्त नभएको उनको टिप्पणी छ ।

‘राष्ट्रिय स्तरको प्रतियोगिताका लागि कर्णालीमा एउटा खेलका लागि पनि पूर्वाधार छैन’ उनी भन्छन्, ‘एउटा मात्रै बहुउपयोगी रंगाशाला बनाउन करोडौं बजेट चाहिन्छ, सयौं खेलकुद प्रतियोगिताका लागि अहिलेको बजेट कामचलाउ मात्रै हुन्छ ।’ बजेट हुँदाहुँदै पनि चालु आर्थिक बर्षमा कुनै पनि संरचना निर्माण हुन नसक्दा आगामी बजेट कार्यान्वयन हुनेमा धेरैको आशंका छ ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि अहिले बजेट पर्याप्त नभएको बताए । ‘अबको तीन बर्षभित्र सबै पूर्वाधार निर्माण भई सक्नुपर्छ’ उनी भन्छन्, ‘अहिलेको बजेटले प्रदेश रंगशाला त बनाउन सकिएला, तर अन्य पूर्वाधारहरु निर्माण गर्न सकिदैन ।’

खेलकुदका लागि कर्णालीमा संरचना अभाव भएको बताउँदै उनले पूर्वाधारमा लगानी बढाउन सके मात्रै दशौं प्रतियोगिता सम्पन्न गर्न सकिने बताए । आगामी बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न सकेमात्रै दशौं खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकिने उनको तर्क छ ।

प्रादेशिक रंगशालाको काम अगाडि बढाइने

कर्णाली प्रदेश खेलकुद परिषद्ले भने आगामी आर्थिक बर्षको लागि विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने दाबी गरेको छ । ‘चालु आर्थिक बर्षमा बजेट खर्च गर्ने कुनै आधार नै थिएनन्’ कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल भन्छन्, ‘आगामी आर्थिक वर्षमा शतप्रतिशत बजेट कार्यान्वयन गर्छाैं ।’

दशौं राष्ट्रिय खेलकुद् प्रतियोगिताका लागि पूर्वाधार निर्माणको सम्पूर्ण बजेट कार्यान्वयन गर्ने उनको दाबी छ । खेलकुद प्रतियोगिताका लागि सबैभन्दा महत्वपूर्ण मानिएको प्रादेशिक रंगशाला निर्माणको लागि साउनभित्रै टेन्डर प्रक्रिया थाल्ने उनले बताए । ‘रंगशालाको गुरुयोजना अन्तिम अवस्थामा छ, आउँदो साउनको पहिलो हप्ताभित्रै टेन्डर गरिसक्छौं’ उनले भने, ‘दुई बर्षभित्र प्रादेशिक रंगशाला निर्माण हुन्छ ।’

वीरेन्द्रनगरको कुइनेपानी अगाडिको नौ विगाह क्षेत्रफलमा प्रादेशिक रंगशाला निर्माण गरिनेछ । झण्डै १० हजार दर्शक अट्नेगरी रंगशाला निर्माण गरिनेछ । अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय स्तरका प्रतियोगिता गर्न मिल्नेगरी रंगशाला निर्माण गरिने परिषद्ले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार