जो सामाजिक सेवामै जीवनको महत्व देख्छन्

सबै मानिसहरु सामाजिक कार्यमा रुची राख्दैनन् । अधिकांश व्यक्तिलाई आफ्नै परिवार र नातागोताकै चिन्ता हुन्छ । उनीहरु पारिवारिक स्वार्थमै अल्झिएका हुन्छन् । तर समाजमा यस्ता पनि व्यक्ति छन्, जो आफ्नो परिवार र छिमेकीभन्दा सामाजिक सेवामा रमाउँछन् । समाजको हितमा नै काम गर्न व्यस्त रहन्छन् । समाजको परिवर्तन र खुशी नै आफ्नो सफलता ठान्छन् उनीहरु । यस्तै एउटा उदाहरण बन्न सफल व्यक्ति हुुन् पूर्णप्रसाद पौडेल आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै पौडेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

                                                                          पूर्णप्रसाद पौडेल
                                                     अध्यक्ष, हातेमालो जागरण सहकारी संस्था

सानोछँदा गोठाला जान्थे

बुवाको मणिराम पौडेल र आमा बेलमती पौडेलको कोखबाट विस २०१८ साल असार ८ गते सुर्खेतको साविक साटाखानी गाविसमा पूर्णप्रसाद पौडेको जन्मिएका हुन् । उनले कक्षा २ सम्म आदर्श मावि मेहेलीमा पढे । पौडेलको परिवार २०२६ सालमा कटकुवा गौजेनी हुँदै नेवारेमा बसाइ आएपछि सानो कक्षा अमरज्योती मावि नेवारेमा पढेका उनले एसएलसी पास पनि अमरज्योतीबाटै गरेका हुन् ।

पौडेल घरको माइलो छोरा हुन् । उनका चार भाईबहिनी थिए । बाल्यकाल उनको सामान्य नै वित्यो । उनको बुवाले कृषि कर्म गर्थे । विद्यालय जाने अनि साँझ र बिहान घरको काम गर्थे । त्यतीबेला पढाइलाई कम महत्व दिइन्थ्यो ।

सामान्य कृषक परिवारमा जन्मेका पौडेलले घरको काम गर्दै पढेका हुन् । उनले घाँस, दाउरा काट्नेदेखि गोठालासमेत जानुपथ्र्यो । उनी गम्भिर र निडर स्वभावका थिए । सबैलाई सहयोग गर्ने स्वभावका उनले अन्यायकोविरुद्धमा बोल्छन् । कसैमाथी भएको अन्याय उनलाई सह्य हुँदैन ।

समाज रुपान्तरण गर्ने लक्ष्य

पहिले स्वतन्त्र रुपमा बोल्न र आफ्ना बिचार राख्न पाइन्थेन । उनको सानैदेखिको स्वभाव भनेको सबै व्यक्तिहरुको समान हुनुपर्छ भन्ने थियो । र अन्यायमा परेकालाई न्याय न्याय पाउनुपर्छ भनेर गाउँमा पनि वकालत गर्ने पौडेललाई त्यतीबेलाको व्यवस्थाले लगाएको अंकुश मन परेको थिएन । समाजका धेरै मानिसहरु अन्यायमा परेको उनलाई अनुभुती हुन्थ्यो ।

एकदिन यी सबै मानिसहरुलाई न्याय दिलाउनुपर्छ भनेर उनी सोच्थे । सबैले पढ्न, लेख्न र स्वतन्त्रसँग आफ्नो पहुँच राख्न पाउनुपर्छ भन्ने उनको मनमा हुटहुटी चलिरहन्थ्यो । तर त्यसलाई परिवर्तन गर्न सहज भने थिएन । उनले समाज रुपान्तरणको लक्ष्य लिएर आफ्नो पढाइमा धेरै मेहेनत गर्थे । घरको काममा पनि मेहेनत लगाउँथे । गाउँमा केही समस्या भए अगाडी लागेर सहयोग गर्न पुग्थे ।

त्यतीबेला पढेका मानिसहरु धेरे हुन्थेनन् । बाठाटाँठाले गरिबहरुमाथी थिचोमिचो गरेको देख्दा उनलाई रिस उठ्थ्यो । उनको बुवा र आमाले घरमा कृषि र पशुपालन गरेरै उनलाई पढाउनुपर्छ भन्ने सोच बनाएका थिए । घरपरिवारको साथ पाएका उनले एसएलसी पास गरे । त्यतीबेलाको एसएलसी पास गर्नु भनेको धेरै मेहेनत गर्नुपथ्र्यो । उनले आफ्नो सानैदेखिको लक्ष्य भेट्टाउन धेरै मेहेनत गरे ।

निजामती सेवामा छँदा…

समाज रुपान्तरणको लक्ष्य बोकेका पौडेल २०३८ सालमा निजामती सेवामा प्रवेश गरेर जागिर शुरु गरे । त्यहाँ पनि विभेद र थिछोमिचो भएको उनले अनुभुती गर्थे । उनलाई समाजको त्यो आचरण चित्त बुझेको थिएन । जागिरकै शिलशिलामा पनि उनले कर्मचारीहरुको नेतृत्व गरेर हकहितको लागि बोल्नुपर्छ भन्थे । २० बर्ष निजामती सेवामा रहेका उनले पारदर्शी र सक्षम काम गरे ।

अनि सामाजिक सेवामा प्रवेश

जागिरबाट रिटायर्ड भए । त्यसपछि उनले समाज रुपान्तरणको अभियानमै लागे । समाजमा चेतनास्तर एकदम कम थियो । सबैभन्दा पहिले त्यो नागरिकहरुमा चेतनास्तर उठाउनुपर्छ भनेर समाज जागरण (स्याक) नेपाल संस्था संचालनमा उनी पनि सहभागी भए । त्यो संस्थाले समाजमा जागरण ल्याउँदै नागरिकहरुलाई चेतशिल बनाउने उद्देश्य थियो ।

२०५७ सालमा दुई पटक कार्यवाहक अध्यक्ष र एकपटक अध्यक्ष भएर उनले समाज रुपान्तरणका लागि अभियानहरु चलाए । त्यो अभियानलाई दलित, महिलाहरुमा केही जागरुकतासमेत ल्यायो । उनी अन्य क्षेत्रबाटसमेत समाज रुपान्तरणकै अभियानमा लागे ।

विद्यालय सुधारको योजना

त्यसपछि उनी हस्तविर सामुदायि विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि भए । १८ बर्षसम्म अध्यक्ष बनेका उनले विद्यालय सुधार योजनाका केही कार्यक्रम ल्याए । विभिन्न आन्दोलनका क्रममा विद्यालय बन्द हुने परिपाटी थियो । उनकै पहलमा नेपालमै पहिलोपटक विद्यालय शान्ति क्षेत्र हुनुपर्छ भनेर उनी अध्यक्ष भएको विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरियो ।

त्यसपछि सुर्खेत जिल्ला हुँदै नेपाललाई नै विद्यालय शान्ति क्षेत्रको रुपमा घोषणा गरियो । उनले यो अभियान शुरु गरेकोमा अहिले गर्व गर्छन् । उनी अहिले पनि समाज सेवामा निरन्तर लागिरहेका छन् । हाल उनी हातेमालो जागरण सहकारी संस्था र जागरण एफएमको अध्यक्षमा कार्यरत छन् भने उनी राजनितिक रुपमा समेत सक्रिय भएर समाज सेवा र रुपान्तरणमा लागिरहेका छन् ।

जीवनमा संघर्ष

गाउँमा जन्मिएका उनले जीवनमा धेरै संघर्ष र मेहेनत गर्नुपर्यो । सानोमा पनि घरको काम गर्दै पढ्ेका हुन् । सानोमा दुखको केही अनुभुती नभए पनि उनी जान्ने भएदेखि धेरै संघर्ष गरे । पौडेलले साझबिहान घरको कृषि कर्म गर्दै पढ्थे । एकातिर आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने थियो भने अर्कोतिर घरपरिवारको जिम्मेवारी पनि ।

उनले यी सबै कुरालाई म्यानेज गर्दै आफ्नो लक्ष्य प्राप्तीका लागि अगाडी बढिरहे । जीवनमा संघर्षमय नबनाए सफल हुन नसकिने बताउँछन् । बिवाहपछि उनको जिम्मेवारी झनै बढ्दै गयो । उनका छोराछोरी पनि जन्मिए । सबै आवश्यकता परिपुर्ती गर्न समस्या थियो । लामो संघर्षपछि उनी जागिरे सेवामा प्रवेशसँगै केही सहजता भयो । अहिले उनी सन्तुष्ट छन् । पौडेल भन्छन, मैले दुख र मेहेनतलाई निरन्तरता नदिएको भए सकभर यहाँसम्म आउन सक्ने थिएन । जीवनलाई संघर्षमय बनाउन सके सफल अवश्य भइने उनको अनुभवले भन्छ ।

अबको योजना

उनको भावी योजना भनेको सामाजिक क्षेत्रबाटै समाजसेवा गर्ने हो । अहिले पनि विभेद र असमनता कायमै छ । यसको अन्त्यको लागि उनले अझै पैरवी गर्ने बताउछन् । संविधानअनुसार उल्लेखित मौलिक हकहरुको कार्यान्वयन गराउन सबै तहका सरकारहरुलाई रचनात्मक दबाव दिने योजना छ । उनी समाज सेवाबाट रुपान्तिरित समाजलाई अझै उन्नत र समृद्ध बनाउने अभियानमा निरन्तर लागिरहने उनको योजना छ ।

तपाईको प्रतिक्रिया