ओरालो यात्रामा ओलीतन्त्र

श्याम श्रेष्ठ ।

’ओराली लागेको हरिणको ताल भो,
बाँचुञ्चेलसम्म पनि मरेकै हाल भो,
छल ग¥यो मायाले, छल ग¥यो मायाले… !’

मलाई एक्कासि प्रधानमन्त्री केपी ओलीको सम्झना भयो । उनको पनि त अचेल ओरालो लागेको हरिणकै चाल भएको छ । उनको राजनीतिक ग्राफको हरिण अब ओरालो ओर्लन सुरु भएको छ । त्यो बुर्कुसी मार्दै कतिसम्म तल ओर्लने हो, कुनै ठेगान छैन ।

गएको दुई–तीन महिनाका अन्तरालमा उनले नेतृत्व गरेको यो महादेशकै चौथो विशाल वामपन्थी पार्टी उनकै कारणले फुटेर तीन टुक्रा भयो । झण्डै दुईतिहाइ बहुमत रहेको उनकै प्रधानमन्त्रीत्व मातहतको सरकार उनकै कारणले विघटन भएर केवल कामचलाउ सरकारमा परिणत भएको छ, त्यो पनि गैरकानुनी रूपमा ।

धेरै सम्भव छ, आउँदो दुई–तीन हप्ताभित्रै उनको रहेबचेको संविधानको ठाडो मिच्याइँबाट गठित कामचलाउ सरकारलाई पनि न्यायालयले अवैधताको ठप्पा लगाइदिनेवाला छ । त्यो उनीजस्तो चलाख मान्छेलाई थाहा नहुने कुरै भएन । केन्द्रमा उनले गरेको गतिविधिका कारणले गण्डकी प्रदेशमा मजाले शासन गरिरहेको प्रदेश सरकार गएको हप्ता मात्र ढल्यो । उनले केही हप्ताअघि मात्र जारी गरेको नागरिकताको अध्यादेशलाई न्यायालयले गैरकानुनी ठहर गरिनै सक्यो ।

ओलीतन्त्रलाई ढाडमा बोकेर एउटा असल पार्टीको विकासको कल्पना गर्नु निरंकुश राजतन्त्रलाई ढाडमा बोकेर लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्नुजस्तै मूर्खतापूर्ण प्रयास मात्र हुन्छ । आफैँ भिरबाट लड्न खोजेको गोरुलाई ‘रामराम’ मात्रै पो भन्न सकिएला, ढाडै थाप्नु त त्यो गोरुसँगै आफू पनि भिरबाट खुर्मुरिने जुक्ति सिबाय केही हुँदैन ।

एकजना मुलुककै निकै ठूला मान्छेको दुई–तीन महिनाको अन्तरालमा योभन्दा तल ओरालो लाग्ने कुरा अरु के हुन सक्छ र ? त्यसैले अनुमान गर्न सकिन्छ, पक्कै पनि उनको पनि अचेल बाँचिरहे पनि मरेकै हाल भएको होला । तर, ढकालको गीतमा झैँ उनलाई छल गरेको चाहिँ मायाले होइन, उनलाई माया गर्ने साथीहरूले पनि होइन, उनलाई उनकै छलकपट चातुर्य अति चर्को बुद्धिले छल गरेको हो ।

पहिले उनले अरुलाई एकपछि अर्को छल गरे, अहिले त्यही अति छलले उनी स्वयम्माथि छल ग¥यो । पहिलेका उनका निकटस्थ सहकर्मीहरू खुल्लमखुल्ला भन्दै छन्, ’पार्टी एकीकरण गर्दा एकीकरण गर्ने अर्को पक्षसित छल नगरी आफूले गरेको सहमतिप्रति मात्र उनी इमानदार भएको भए पनि उनको विशाल नेकपा पार्टी कदापि फुट्ने थिएन । उनले पार्टीभित्रकै मतलाई पटक–पटक छल नगरी आफ्नो दलमा पद र जिम्मेवारी विभाजनमा सम्मानजनक स्थान मात्र दिएको भए उनको एमाले दल यसरी टुट्न खोज्ने नै थिएन ।

पहिले उनले आफ्ना मित्रहरूलाई एकपछि अर्को छलको सिकार बनाए, अहिले उनी आफैँ त्यही छलको सिकार हुँदै छन् । प्रधानमन्त्रीजस्तो देशको सर्वोच्च कार्यकारी पदमा रहेको माननीय ओलीसित यतिबेला पैसाको गरिबी त पक्कै छैन होला । तर, उनीसित विश्वासको पुँजीको यति अतुलनीय दरिद्रता रहेको देखिन्छ कि उनको बोलीप्रति अहिले आमराजनीतिक वृत्तमा कतै पत्यार र भरोसा नै गरिँदैन ।

उनीसित कुनै पनि कुराको सहमति गरिनु भनेको सहमतिको मसी सुक्न नपाउँदै त्यो तोडिनका लागि र सरासर धोका पाउनका लागि हो भन्ने आमबिम्ब बन्न गएको छ । उनले कुनै कुराको प्रतिज्ञा गर्नु त्यसको ठीक उल्टो कुरो गर्नका लागि हो भन्ने उनको आमपरिचय बन्न गएको छ । देशका एक जना सबैभन्दा ठूला कार्यकारी प्रमुखका निम्ति योभन्दा ठूलो ओरालो–यात्रा अरु के हुन सक्छ, जब कसैले पनि उसको बोली र प्रतिज्ञामाथि रत्तिभर पत्यार गर्दैन ? परन्तु, उनले छल केवल उनका सहकर्मीसित मात्र गरेको भन्ने भाष्य सही होइन ।

नियालेर हेरियो भने उनले यो तीन वर्षमा सारा देश र जनतालाई नै छल गरेको उदाहरण बग्रेल्ती भेटिन्छ । नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट दुई हजार वर्ष पुरानो सामन्तवादको गढ–राजतन्त्र समाप्त पारेर लोकतान्त्रिक गणतन्त्र स्थापित गरे । परन्तु, अहिले प्रम ओली स्वयम् श्रीपेच नलाएका त्यस्ता नयाँ महासामन्तका रूपमा देखा परेका छन्, जो संविधानविपरीत भए पनि आफूले जे बोल्यो र ग¥यो, त्यसैलाई संविधान र कानुनको मान्यता दिनुपर्छ भनेर न्यायालयमै खुलेआम माग गरिरहेछन् । यी त प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । ओली एक जना व्यक्ति होइनन् ।

ओली एउटा प्रवृत्तिको नाम हो । आमजनतासामु सत्ताबाहिर रहुञ्जेल एउटा प्रतिज्ञा गर्ने, सत्तामा गएपछि त्यो प्रतिज्ञा पूरै बिर्सने प्रवृत्ति, आमजनतामाथि र आफ्ना साथी र सहकर्मीमाथि समेत छलकपट गर्ने प्रवृत्ति, अधिकार ज्यादा भएको पदमा गएपछि आमनागरिक र आफ्ना सहकर्मी तथा कार्यकर्ताको अंकुश, पर्यवेक्षण र आलोचनाभन्दा बाहिर र माथि हुन खोज्ने प्रवृत्ति, आफैँलाई सर्वज्ञ ठान्ने र अरु कसैको विचार, समालोचना र सुझाव सुन्न नचाहने प्रवृत्ति, आफैँलाई संस्था, दल वा राज्यको पर्याय भनेर सोच्ने प्रवृत्ति । यी सबै प्रवृत्तिको एकीकृत नाम हो ओली प्रवृत्ति ।

हाम्रा कतिपय नेताहरू व्यक्ति ओलीको मात्र विरोध गरिरहेछन् । परन्तु, आफूभित्र टनाटन ओली प्रवृत्ति पालिरहेछन् । यस्तो विरोधको कुनै तुक छैन । विरोध व्यक्ति ओलीको होइन, ओली प्रवृत्ति वा ओलीतन्त्रको हुनु आवश्यक छ । ओलीको विरोध गर्दा आफूमा चाहिँ ओली प्रवृत्ति अथवा ओलीतन्त्र नभएको तथा भए पनि आफैँ त्यसविरुद्ध होसपूर्ण ढंगले संघर्षशील भइरहेको हुन जरुरी छ । अनि बल्ल ओली पवृत्ति वा ओलीतन्त्रविरुद्धको आवाज नैतिक, सुसांस्कृतिक र इमानदारीपूर्ण हुन सक्छ ।

व्यक्ति ओलीलाई परास्त गर्नु कुनै गाह्रो काम होइन । तर, वैचारिक र सांस्कृतिक रूपमा ओलीतन्त्र ढाल्नु निकै मुस्किल काम हो । त्यो तपाईं हामी र हरेकको रगतरगतमा घर गरेर बसेको हुन सम्भव छ । हाम्रा कतिपय युवा अगुवाहरू अध्यक्ष ओलीसित एकता गरेर एमालेको पार्टी एकता बचाउने कुरा गरिरहेछन् । यो कुरा उदेकलाग्दो छ । उनीहरूका तर्क सुन्दा यस्तो भान हुन्छ, मानौ– युवा अगुवाहरूको दृष्टिमा ओली भनेको अलगथलग र व्यक्तिगत रूपमा पार्टीको अध्यक्ष ओली मात्र हो र यो ओली प्रवृत्ति सालनाल झैँ गाँसिएको ओली होइन ।

यो नैतिक, सांस्कृतिक र सैद्धान्तिक रूपमा ठूलो भुल हो । यथार्थमा आजका अध्यक्ष ओली भनेका व्यक्ति ओली मात्र कदापि होइनन्, उनी त ओली प्रवृत्तिले भरिभराउ ओली हुन् । ओली प्रवृत्ति वा ओलीतन्त्र र ओली अभिन्न र अन्योन्याश्रित रूपले जोडिएका छन् । ओली र ओली प्रवृत्ति भनेको सत्ताबाहिर रहुञ्जेल परिवर्तनकारी र सत्तामा गएपछि प्रतिगमनकारी तथा आमजनता, आफ्नै साथी र सहकर्मीसित सरासर छलकपट वा बेइमानी गर्ने प्रवृत्ति हो भने त्योसित एकता फेरि कसरी र केका लागि ? ओलीतन्त्र अहिले आफ्नै कारणले सबैभन्दा तीव्र ओरालो यात्रामा छ ।

ओलीतन्त्रको खरानीमै एउटा असल कम्युनिस्ट पार्टी वा अन्य परिवर्तनकारी पार्टीको जन्म र विकास सम्भव छ । ओलीतन्त्रलाई ढाडमा बोकेर एउटा असल पार्टीको विकासको कल्पना गर्नु निरंकुश राजतन्त्रलाई ढाडमा बोकेर लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्नुजस्तै मूर्खतापूर्ण प्रयास मात्र हुन्छ । आफैँ भिरबाट लड्न खोजेको गोरुलाई धार्मिक मान्छे हो भने ज्यादासेज्यादा ‘रामराम’ मात्रै पो भन्न सकिएला । यो वा त्यो निहुँमा ढाडै थाप्न अघि सर्नु त्यो गोरुसँगै आफू पनि भिरबाट खुर्मुरिने जुक्ति सिबाय केही हुँदैन । यथा आफ्नै विचार !

(शिलापत्रबाट)

तपाईको प्रतिक्रिया