अन्तर्वार्ता

कामसँगै दाम र खाद्यान्न दिने नीति ल्याउँने छौं

स्थानीय सरकारले पनि आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि आफ्नो नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेका छन् । त्यतिमात्र होइन, बजेट निर्माणको अन्तिम कसरतमा पनि स्थानीय तह व्यस्त छन् । विगतमा भन्दा यसपाली बजेट र नीति तथा कार्यक्रमको स्वरुप र प्राथमिकता फरक हुनेछ । कारण यसपाली कोरोना महामारीसँग पनि जुध्नुपर्ने छ । यस्तो बेलामा कोरोना नियन्त्रणमा कस्ता प्रयास भइरेहका छन्  ? आगामी नीति तथा कार्यक्रम र बजेटबाट कुन क्षेत्रले प्राथामिकता पाउला  ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले सुर्खेतको चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

निर्मला राना
उपाध्यक्ष, चौकुने गाउँपालिका सुर्खेत

हिजोआज के गर्दै हुनुहुन्छ ?

हामी अहिले कोरोना नियन्त्रण र यवस्थापनमै धेरै समय दिएका छौं । विकासका कामहरु पनि धमाधम चलिरहेका छन् । त्यसको अनुगमनसँगै अब आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट बनाउने चटारो चलिरहेको छ । त्यसकै तयारीमा छौं ।

कोरोना के काम भइरहेका छन् त ?

कोरोनाको दोस्रो लहर एक्कासि फैलियो । सबैभन्दा पहिले त हामी जनचेतनामुलक कार्यक्रमहरु विभिन्न माध्यमबाट संचालन गर्न केन्द्रीत भयौं । लक्षणसहितका बिरामीहरु बढ्न थालेपछि वडा नम्बर ६ को जीवनज्योती माविमा आइसोलेसन कक्ष तयार गर्यौं ।

अहिले ३५ बेडका आइसोलेसन कक्ष संचालनमा छ । धेरै व्यक्तिहरुको उपचार पनि भयो । त्यसलाई बढाएर ५० बेड क्षमताको बनाउने हाम्रो तयारी छ । तथापी अहिले कोरोना संक्रमण दर केही कम भएको अवस्था छ । तर संक्रमण जोखिम त कायमै छ ।

त्यसैले हामी त्यतातर्फ सचेत छांै । अर्को कुरा परीक्षणको दायरालाई पनि बढाएका छौं । यदी गम्भिर प्रकृति बिरामी भएको खण्डमा अन्य अस्पतालहरुमा रिफर गर्नको लागि एम्बुलेन्स, पालिकाका गाडीहरु पनि प्रयोग गरेका छाैं ।

आगामी बजेटमा कुन क्षेत्रले प्राथमिकता पाउँछ ?

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र नै हुनेछ । त्यससँगै कोरोनाकै कारण विभिन्न क्षेत्रहरुमा प्रभाव परिरहेको छ । ती क्षेत्रहरुलाई चलायमान बनाउनको लागि हाम्रो बजेट केन्द्रीत हुन्छ ।

मैले अघि भनिहालेँ हामी अहिले बजेटकै छलफलमा छौं । फेरी विकासका काम त रोक्नु पनि भएन । त्यसैले विकासका क्षेत्रलाई पनि अगाडी बढाउने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउँछौ । सँगै विभिन्न क्षेत्रको आर्थिक अवस्था सुधार्ने हाम्रो प्रयास रहनेछ ।

राहतका कार्यक्रम पनि समेट्नुहुन्छ की ?

हो । तपाईँले सही कुरा गर्नुभयो । राहत मिल्ने खालका कार्यक्रम ल्याउछांै । फेरी के भ्रम नरहोस्, हामी चामल ल्याएर बाँड्ने छैनौं । विकासका टुक्रे योजनाहरुमा हामी नागरिकहरुलाई सहभागी बनाउने तयारी गर्छौं । जसले एकातिर विकासका काम पनि अगाडी बढ्छन् भने अर्कोतर्फ मजदुरी गर्ने व्यक्तिहरुलाई खाद्यान्नको अभाव पनि हुँदैन ।

मैले भन्न खोजेको कामसँगै खाद्यान्नको नीति बजेटमा समेटिन्छ । गतसाल यसरी नै बन्दाबन्दी हुँदा हामीले राहतको नाममा चामल र दाल वितरण गर्यौं । यसले गर्दा हुने खानेहरुले पनि त्यस्ता राहत लिन आए । गरिबहरुले नपाएको गुनासो सुनियो । त्यसैले हामीले राहतका मिल्ने कार्यक्रम संचालन गर्छौं । कोरोना माहामारीका कारण कृषि, व्यापार व्यवसाय, शिक्षा लगायतका क्षेत्रमा प्रभाव परिहरहेको छ । त्यसलाई लयमा ल्याउन त बजेट विनियोजन हुन्छ ।

युवालाई रोजगारी दिन कस्ता योजना ल्याउनुहुन्छ ?

विकासका काममा युवाहरु परिचालन हुन्छन् । त्यहीअनुसारको बजेट निर्माण हुन्छ । कामसँगै दाम र खाद्यान्न दिने कार्यक्रम लागु भएपछि एकातिर रोजगारी, अर्कोतिर विकास सँगसँगै अगाडी बढ्छ । त्यतीमात्र नभएर युवाहरुलाई कृषि र पशुपालनका क्षेत्रमा व्यवसायिक र आत्मनिर्भर बनाउनेगरी कार्यक्रम निर्माण गरिरहेका छाैं ।

हाम्रो पालिकामा कृषि र पशुपालनको पनि सम्भावना छ । भने अन्य सीपमुलक कार्यक्रम संचालन गरी युवाहरुलाई स्वरोजगार बनाउनेगरी बजेट निर्माण गर्छौं । अर्कोतिर प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम पनि संचालन हुने भएकाले केही युवाहरुलाई त्यतातर्फ काममा लगाउँछौं ।

तपाइँ निर्वाचित भएपछि पालिकामा के परिवर्तन भयो त ?

पहिलो कुरा त हामी निर्वाचित भएर आइसकेपछि सबै वडामा सडक सञ्जाल पुगेको छ । केही टोलहरुमा सडक संजाल पुग्न बाँकी छ । शिक्षा क्षेत्रमा मावीहरुमा पक्की भवन र कम्पाउन्ड बनेको छ । गत बर्षदेखिको कोरोनाका कारण स्वासथ्य क्षेत्रमा परिवर्तन भइरहेको छ । संरचना निर्माणदेखि अन्य सेवाको गुणस्तर बढेको छ ।

विद्युतीकरणमा पनि हाम्रो पहल भइरहेको छ । वडा नम्बर ८ मा वैकल्पिक उर्जा अन्तरगत सोलार बत्ती निर्माण भइरहेको छ भने अन्य वडाहरुमा पनि यसको विस्तार गर्नेगरी योजना निर्माण आउँदो आर्थिक बर्षमा हुन्छ । पछाडी पारिएको वर्ग समुदायलाई विभिन्न सीपमुलक तालिमहरु सिकाएर स्वरोजगार बनाउने काम गरेका छौं । हामी निर्वाचित भएर आएपछि जनताले आधारभुत विकासको अनुभुति गरेका छन् ।

न्यायिक समिति कत्तिको सक्रिय छ नी ?

विगतमा पालिकाबाट पनि न्याय सम्पादन हुन्छ भन्ने जनतालाई जानकारी कम थियो । विस्तारै पालिकाबाट पनि न्याय पाइन्छ भन्ने आम नागरिकहरुलाई जानकारी भयो । हाम्रो पालिकामा अहिले भुमी समस्या समाधान आयोगले काम गरिरहेको अवस्थामा धेरैजसो जग्गा विवादका समस्याहरु आउने गरेका छन् ।

शत्यस्तै, घरेलुहिंसा, महिलाहिंसा लगायतका हिंसाजन्य घटनाका मुद्दाहरु पनि न्यायिक समितिमा बढेका छन् । हिंसाका घटना बढेको जस्तो देखिएपनि विगतमा उजुरी गर्न काहाँ जाने भन्ने थाहा नभएर होकी जस्तो लाग्छ । अहिले पनि हामीले स्वास्थ्यका मापदण्ड पालना गरेर मेलमिलाप गराउने काम गरिरहेका छौं । समग्रमा भन्नु्पर्दा विगतको भन्दा न्यायिक समितिमा मुद्दाको चाङ नै लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया