सुर्खेतमा निषेधाज्ञा खुकुलो, पसल खाेल्ने समय ताेकियाे

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाएर १० दिन लम्ब्याउने निर्णय गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार असार १० गतेसम्म निषोधाज्ञा थप गर्ने तर केही खुकुलाे पारिएकाे हाे ।

जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिकाे बैठकले हरेक दिन विहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय समेत गरेकाे छ । पछिल्लाे पटक थप गरिएकाे निधेषाधाज्ञा आजराती १२ बजेदेखि सकिदै छ ।

जिल्ला प्रशासनका अनुसार निषेधाज्ञा खुकुलो बनाएर अब हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा÷मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु खोल्न पाईने भएको छ । जसका लागि निश्चित समय पनि तोकिने भएको छ ।

तर हाटबजार जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण गर्न भने पाइने छैन । यस्तै बैंक तथा वित्तिय संस्था र राजश्वसँग सम्बन्धित संस्थाले भौतिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्दे निश्चित समयावधि तोकि सेवा सुचारु गर्ने तयारी छ ।

यसअघि बैंक तथा वित्तीय संस्था एक दिन विराएर मात्र खुल्दै आएका थिए । जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख १४ गतेदेखि सुर्खेतमा निषेज्ञाधा जारी भएको थियो ।

तपाईको प्रतिक्रिया