शुभकामना कार्डमा पठाइएको त्यो प्रेम प्रस्ताव

युवा अवस्थामा पुग्दा मान्छेले माया खोज्छ । त्यो माया अरुजस्तो होइन, एक प्रेमी वा प्रेमिकाको रुपमा । माया झाँगिदै जाँदा जीवन साथीसम्म पुग्छ । अर्थात एकले अर्काको सहारा खोज्छन् । अनि जीवन सँगसँगै जीवन कसम नै खान्छन् । आफन्त र परिवारलाई साक्षी राखेर वैवाहिक सम्बन्धमा जोडिन पुग्छन् । मायाले जीवनमा नयाँ नाताहरु जोडिन्छन् । यस्तै आफ्नो प्रेमलाई सफल बनाएका जोडी हुन् वेदप्रकाश ढकाल र तुल्सी वाग्ले ढकाल । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंशः

डेरामा बस्दा चिनजान

वेदप्रकाश मेहेलीबाट शिक्षा आर्जन गर्न वीरेन्द्रनगर झरे । उनी डेरामा बस्थे । उनी दाईको ससुराली नजिक डेरा लिएर बसेका थिए । उनी बस्ने घर सँगैको अर्को घर तुल्सीको थियो । नजिकै भएकाले वेदप्रकाशले तुल्सीलाई दिनहुँ देख्थे । अनि तुल्सीले पनि वेदप्रकाशलाई देख्थिन् ।

तर दुबैको चिनजान त्यही देखादेखमा मात्र सिमित थियो । तर उनीहरु दुबै एक अर्कामा बोल्न चाहन्थे । तर दुबैको मनको कुरा खोल्ने कुनै माध्यम भने थिएन । वल्लो र पल्लो घरमा बस्ने हुँदा आउनेजाने काम भइरहन्थ्यो । विस्तारै बोलचाल पनि हुन थाल्यो ।

नयाँ बर्षको दिन थियो । वेदप्रकाशले शुभकामना आदनप्रदान गर्नको लागि केही कार्डहरु छपाएका थिए । अनि उनले तुल्सीलाई पनि नयाँ वर्षको शुभकामना लेखिएको कार्ड दिए । त्यही कार्डको पछाडी प्रेम प्रस्ताव राखिएको तुल्सीले भेट्टाइन् । उनी तीन दिनसम्म त लजाएर वेदप्रकाशसँग भेटिनन् ।

अनि जोडियो दुई मन

तुल्सीले पनि वेदप्रकाशलाई मनमनै पराउँथिन् । तर पनि उनले वेदप्रकाशसँग गरेको प्रेम प्रस्तावको विषयमा तुल्सीले तीन दिनपछि मात्र सोधिन्, यस्तो के लेख्नुभएको ? वेदप्रकाशले सहजै उत्तर दिए, साँचो कुरा यही नै हो । अनि उनीहरु एकअर्कालाई माया गर्न थाले ।

गहिरो माया बस्न थालेपछि तुल्सीको घर परिवारमा पनि थाहा भयो । तुल्सीको बुवाले वेदप्रकाशलाई बोलाएर सोधपुछ गरे । वेदप्रकाशले आफुहरु एक अर्कालाई माया गर्ने कुरा बताए । तर तुल्सीको बुवा रिसाए । उनीहरु सबैको अगाडी नै एउटै छाता ओढेर भागे । उनीहरु बिवाह बन्धनमा विसं २०६० साल साउन २३ गते बाँधिए । बिवाह गर्दा वेदप्रकाश २२ बर्षका थिए भने तुलल्सी २१ बर्षकी थिइन् ।

बिवाहपछिको संघर्ष
उनीहरुले विबाहपछि धेरै संघर्ष गर्नुपर्यो । दुबैको पढाइ बाँकी नै थियो । वेदप्रकाश विएड तेस्रो बर्षमा अध्यनरत थिए । तुल्सीले आइएड दोस्रो बर्ष सकेकी थिइन् । दुबैको कुनै जागिर थिएन । वेदप्रकाशको घरको आर्थिक अवस्था पनि सामान्य खालको थियो । आर्थिक सहयोग गर्ने कोही थिएन ।

आफ्नै खुशीले प्रेमबिबाह गरेकोले दुबैतिरका परिवार खुशी थिएनन् । एकातिर पढाइलाई निरन्तरता दिनुपर्ने, अर्कोतर्फ जिम्मेवारी लिनुपर्ने अवस्थामा उनीहरु थिए । धेरै मेहेनत र संघर्ष गर्दै उनीहरुले आफ्नो पढाइलाई भने निरन्तरता दिइरहे ।

२०५५ सालमा आदर्श मावि मेहेलीबाट एसएलसी पास गरेका वेदप्रकाशले २०५७ मा आईएड, २०६० मा शिक्षा क्याम्पस सुर्खेतबाट अंग्रेजी विषयमा विएड गरेका हुन् । यस्तै २०६४ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए गरेका हुन् । सानोमा सुखले नै विताएकी तुल्सीले पनि बिवाहपछि संघर्ष गर्नु नैपर्यो ।

उनले २०५८ सालमा अमरज्योती मावि नेवारेबाट एसएलसी पास गरेकी हुन् भने २०६७ सालमा शिक्षा क्याम्पसबाट नेपाली विषयमा विएड गरिकी हुन् । पारिवारिक र बच्चाको कारणले बिचमा पढाइ रोकिएको २०७६ मा मध्यपश्चिम विश्वविद्यालयबाट नेपाली विषयमा एमए गरेकी हुन् ।

वेदप्रकाशले लामो मेहेनतपछि २०६१ सालदेखि निजी विद्यालयमा पढाउन सुरु गरे । उनले काम गर्दै पढ्दै गरे । उनले पढाउन शुरु गरेपछि केही सहज भयो । उनले २०६६ सालदेखि सरकारी विद्यालय र २०६९ सालदेखी विश्वविद्यालयमा अध्यापन गराउन थालेपछि अहिले उनीहरु सन्तुष्ट छन् । उनीहरु संघर्षबाट नै जीवनलाई सफल बनाउन सकिने बताउँछन् ।

कस्तो थियो बाल्यकाल ?
बुवा भुवानीप्रसाद ढकाल र आमा उमा ढकालको कोखबाट २०३८ साल बैशाख २४ गते साविकको गर्पन गाविस वडा नंबर ३ मेहेली ( हाल वीरेन्द्रनगर १६) मा जन्मिएका वेदप्रकाशको बाल्यकाल रमाइलोमै वित्यो । उनी घरको कान्छो छोरा हुन् ।

गाउँमा हुर्केका उनी विद्यालय समय भन्दा अन्य समयमा घाँस दाउरा गर्ने र गित संगितमा उनको रुचि थियो । भने अलि चन्चले स्वभावका थिए उनि गित संगितमा रुचि राख्थे । यस्तै तुल्सी बुवा चुडामणि वाग्ले र आमा बालकुमारी वाग्लेको कोखबाट वि.स २०३९ साल असार १२ गते वीरेन्द्रनगर ८ कालुङ्ग्चोक (हाल वडा नं ७ ) मा जन्मिएकी हुन् । उनी घरको कान्छी छोरी हुन् ।

चार भाइबहिनी मध्ये एकमात्र छोरी हुन् उनी । उनको बाल्यकाल सुखले नै वित्यो । सबैसँग मिलनसार स्वभावकी उनी घरको सफाइ र खाना बनाउने कुरामा सानैदेखि अब्बल थिइन् । गीत सुन्न र गाउन मन पराउँथिन् । उनी अहिले पनि गित संगित धेरै सुन्छिन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।

धेरैजसो समयमा खाना बनाउनसमेत सहकार्यमै गर्छन् । कहिलेकाँही फुर्सद हुँदा दुबैजना विभिन्न ठाउँहरुमा घुम्न जाने र रमाइलो पनि गर्दछन् । उनीहरु एकअर्काको बानीलाई धेरै मन पराउँछन् । तुल्सीले घरको समस्या र आफ्नो व्यक्तिगत चाहनाको बारेमा धेरै बोल्दिनन् ।

वेदप्रकाशको धेरै ख्याल गर्छिन् । उनको यो बानी वेदप्रकाशलाई असाध्यै मन पर्छ । पढाइ लेखाइमा प्रोत्साहन गर्ने र फकाउन जान्ने वेदप्रकाशको बानी तुल्सीलाई मनपर्छ । यसरी एकआपसमा छलफल र सल्लाहमा काम गर्दा सम्बन्ध टिक्ने उनीहरुको बुझाइ छ । एक अर्कामा सहयोगी बन्ने दुबैको स्वभाव छ । यसले मायालाई बढाउन मद्दत गर्ने उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया