सुर्खेत । सुर्खेतको गुर्भाकोटमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनामा अनुसन्धान जारी छ । उक्त घटनामा पीडित बनेका युवतीहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ भने अदालतले पनि यो घटनालाई गम्भिर रुपमा लिएको छ । अर्कोतर्फ घटनापछि पक्राउ परेका युवाहरुले समेत घटनाको अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
यसकारण पनि अब पीडितले न्याय र दोषीले सजाय पाउने सम्भावना बढेको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट र यौन दुव्र्यवहार गरिएको भिडियोलाई प्रमाण मान्दै दोषीलाई प्रहरीले कारबाहीको प्रक्रिया अगाडी बढाएको छ । यौन दुव्र्यवहारमा परेकी दुई राउटे युवतीहरुले शुक्रबार स्वास्थ्य परीक्षण गरिएको हो । यौन दुव्र्यवहार भएको आठ दिनपछि पीडितको स्वास्थ्य परीक्षण गरिएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण भएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिइन् । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन । पीडितलाई थाहा नदिएर नै स्वास्थ्य परीक्षण गरिएको हो । असुरक्षाको कारण देखाउँदै यौन दुव्र्यवहारको घटनाबारे राउटे समुदायलाई जानकारी दिइएको छैन । पीडितलाई थप पीडा हुने भन्दै घटना राउटे समुदायमा गोप्य राखिएको हो । घटनापछि विभिन्न मानवअधिकारवादी संघसंस्थाले विरोध जनाउँदै हदै सम्मको कारबाहीको माग गरेका छन् ।
जेठ २१ गते राती गुर्भाकोट नगरपालिकाका दुईजना युवाहरुले राउटे युवतीमाथि यौन दुव्र्यवहार गरेका थिए । पीडितलाई प्रलोभनमा पार्दै मदिरा पिलाएर युवाहरुले यौन दुव्र्यवार गरेका थिए । घटनाको भोलीपल्ट मात्र यौन दुव्र्यवहार गरेको भिडियोहरु सामाजिक सञ्चाजबाट बाहिरिएका थिए । भिडियोहरु सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले २३ गते दोषीलाई पक्राउ गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित एक होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परिसकेका छन् । युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनाविरुद्ध महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशिल आवाज संस्थाले किटानी जाहेरी दिइसकेको छ ।
भिडियो हटाउन अदालतको आदेश
राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको भिडियोहरु हटाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारका भिडियोहरु युट्युव, सामाजिक संजाल तथा सञ्चार माध्यमबाट हटाउन आदेश दिएको हो । आरोपीविरुद्ध परेको करणी सम्बन्धी कसुर मुद्दामा शुक्रबार जिल्ला अदालतका न्यायाधिश डा. राजेन्द्रकुमार आचार्यले यस्तो आदेश दिएका हुन् ।
यौन दुव्र्यवहारका भिडियोहरु हटाउनको लागि जिल्ला प्रशासन कार्यालयलमार्फत गृह मन्त्रालयलाई सार्वजनिक सूचना जारी गर्न आदेश दिइएको छ । ‘युट्युब लगायतका सामाजिक संजालमा राखिएका सामग्रीहरु हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ । यसर्थ संघीय गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपीसहित कारबाहीको लागि लेखि पठाउनु’ आदेशमा भनिएको छ ।
युट्वयु तथा सामाजिक संजालबाट भिडियो नहटानेलाई भने व्यक्तिलाई प्रहरीले साइबर कानून अन्तरगत कारबाही गर्नेछ । सामग्रीहरु हटाउनेलाई कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरेको छ । त्यस्तै युट्युबटा भिडियो नहटाउने साइटहरुलाई बन्द गर्नसमेत अदालतले आदेश दिएको छ ।
करणीजन्य अपराधका सामग्रीहरु गोप्य हुनुपर्नेमा पीडितको पहिचान खुलाएर भिडियोहरु सार्वजनिक भएपछि अदालतले यस्तो निर्देशन दिएको हो । जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउनसमेत अदालतले ध्यानाकर्षण गराइएको छ । जेठ २१ गते राती गुर्भाकोट दुईजना युवाहरुले राउटे युवतीमाथि गरेको यौन दुव्र्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युवबमा छाइरहेका छन् । युट्युब, सामाजिक सञ्चाल तथा केही सञ्चार माध्यमले समेत पीडितसँग सम्बन्धित सामग्रीहरु प्रशारण गर्दै आएका छन् ।
थुनामा राख्न म्याद थपियो
आरोपीतलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्द १० दिने म्याद थप गरिएको छ । अदालतबाट शुक्रबार १० दिनको म्याद थप भएको हो । म्याद थप भएसँगै आरोपीहरुलाई प्रहरीले असार ५ गतेसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ । आरोपीहरुले यौन दुव्र्यवहार गरेको स्वीकार गरिसकेका छन् ।
तर पीडितको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा थप छानबिन हुनेछ । त्यस्तै घटनाको भिडियो सार्वजनिक थप व्यक्तिहरुमाथि पनि अनुसन्धान गरिएने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यस्तै सुर्खेत जिल्ला अदालतले पीडित युवतिको सुरक्षालाई ध्यान दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ । पीडित युवतिहरु असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ ।
राउटेले मागे खाद्यान्न
राउटे अगुवाहरुले कर्णाली प्रदेश सरकारसँग खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको माग गरेका छन् । शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर राउटेले दैनिक उपभोग्य बस्तु (खाद्यान्न) लत्ताकपडा र त्रिपाल लगायतका सामग्रीहरु माग गरेका हुन् । ‘जंगलमा शिकार पाइन छोड्यो, मेरा जनताहरु भोकभोकै छन्’ राउटे मुखिया सूर्यनारायणले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्न दिनुप¥यो ।’
उनीहरुले त्रिपाल, लगत्ता कपडा लगायतका बस्तुहरु माग गरेका छन् । बर्षातको समय सुरु हुन लागेका कारण त्रिपाल लगायतका बन्दोबस्तका सामग्रीहरु माग गरेका हुन् । राउटे अगुवासँगको भेटघाटपछि मुख्यमन्त्रीले खाद्यान्न, लत्ताकपडा, त्रिपाल लगायतका सामानहरु बन्दोबस्त गरिदिने आश्वासन दिए । त्यस्तै सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले हप्ता दिनभित्र राउटे समुदायका मागहरु सम्बोधन गर्ने बताए । फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन् । राउटे समुदायमा ३६ घरपरिवारका एकसय ४५ जना नागरिकहरु छन् ।
युग संवाददाता । । २९ जेष्ठ २०७८, शनिबार १७:३२