कोभिडले थलिएका दर्शकलाई मल्हम लगाउँदै युरोकप

विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबलपछिको अर्को फुटबलको कुम्भमेला युरोकप फुटबल शुक्रबार मध्यरातदेखि सुरु हुँदैछ । कोरोना भाइरसका कारण थलिएको विश्व फुटबल जगत युरोकप फुटबलबाट तङ्ग्रिने प्रयास गर्दैछ। हुनत अघिल्लो वर्ष नै हुने भनिए पनि कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको थियो ।

हरेक विश्वकपको २ वर्ष अघिपछि गरेर हुने युरोकप एक वर्षपछि सरे पनि यसको नाम भने युइएफए युरो २०२० नै रहने युरोपियन फुटबल महासंघ युइएफले जनाएको छ। विश्व फुटबलका महारथीहरुको भीडन्तमा विशेषगरी युरोपकै देशहरुको दबदबा छ ।

यिनै युरोपेली देशहरुको प्रतिस्पर्धा हुने युरोकपलाई कतिपय फुटबल विश्लेषकहरुले मिनी विश्वकपका रुपमा पनि चित्रण गर्छन्। इटालीको रोम, अजरबैजानको बाकु, रसियाको सेन्ट पिर्टसबर्ग, डेनमार्कको कोपनहेगन, हंगेरीको बुडापेष्ट, नेदरल्याण्ड्सको आर्म्सडम, जर्मनीको म्युनिख, स्पेनको सेभिल्ला, स्कटल्याण्डको ग्लासगो, रोमानियाको बुखारेष्ट, आयरल्याण्डको डब्लिन शहरमा विभिन्न खेलहरु हुँदैछन् ।

युरोपका ५३ देशबीचको छनोटबाट २४ देशले युरोकपको अन्तिम चरणमा स्थान बनाएका छन्। चारपटकको विश्व विजेता जर्मनी र एकपटक विश्वकपको उपाधि चुमेको स्पेन युरोकपमा चौथो पल्ट उपाधि जित्ने रणनीतिमा छन् भने दुईपटक विश्व विजेता बनेको फ्रान्स पनि युरोकपको उपाधि संख्या दुई पुर्‍याउने ध्याउन्नमा छ ।

तत्कालीन सोभियत संघभित्र रहेको रसियासँगै इटाली, चेक गणतन्त्र, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्कले यो संस्करणमा उपाधि संख्या डब्ल्याउने प्रयास गर्दैछन्। चेकगणतन्त्र यसअघि चेकोस्लोभाकियाभित्र पर्दथ्यो। यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। सन् २००४ को विजेता ग्रीस भने यसपटक युरोकपमा स्थान बनाउन असफल रह्यो ।

१६ संस्करणसम्मको युरोकपमा जर्मनी र स्पेनले ३–३ संस्करण जित्दा फ्रान्सले २ पटक उपाधि आफ्नो पक्षमा पारेको छ। फ्रान्स, इटाली, पोर्चुगल, नेदरल्याण्डस्, डेनमार्क , ग्रिस ,चेक गणतन्त्र र सोभियत संघले एक-एक पटक युरोकपको ट्रफी उचालेका छन्। सन् १९६० मा फ्रान्सको पेरिसबाट युरोकपको थालनी भएपछि सन् २०२१ सम्म आइपुग्दा युरोकपले ६० वटा वसन्त पार गरिसकेको छ ।

६० वर्षे इतिहासमा युरोकपमा पहिलोपटक युरोकप विभिन्न ११ देशमा आयोजना हुँदैछ। इटली र टर्कीबीचको उद्घाटन खेल इटलीको घरेलु मैदान रोममा शुक्रबार नेपाली समय अनुसार मध्यरात साढे १२ बजे पछि हुँदैछ। यो संस्करणको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया