पत्नीलाई मन्त्री बनाएर बादललाई ओलीको सान्त्वना !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । केही समयअघि सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका थापाकी पत्नी नैनकलालाई मन्त्री बनाएर ओलीले सान्त्वना दिन लागेको टिप्पणी कतिपयले गरेका छन् ।

नेकपा विभाजनपछि माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाले सांसद पद गुमाएका थिए। जेठ ६ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनी डा. खिमलाल देवकोटासँग पराजित भए ।

सोही दिन सर्वोच्च अदालतले सांसद पद गइसकेपछि मन्त्रिपरिषद्‍मा नियुक्त गरिनु असंवैधानिक ठहर गर्दै नियुक्ति बदर गरिदिएको थियो । अदालतको फैसलापछि बादल सांसद र मन्त्री दुवै पदविहिन बन्न पुगेका थिए ।

तर, ओलीले नेकपा विभाजन र पहिलो पटक प्रतिनिधिसभा विघटनपछिको कठिन समयमा साथ दिएको बादलको गुन पत्नी नैनकलालाई मन्त्री नियुक्त गरेर तिरेका छन् । बादल पत्नी नैनकला यसअघि महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् ।

 

तपाईको प्रतिक्रिया