वीरेन्द्रनगरले शिक्षा, स्वास्थ्यमा केन्द्रीत गरेर नयाँ बजेट ल्याउँदै

सुर्खेत । कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ सालका लागि ल्याउने बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रीत गर्ने भएको छ ।

नगर उपप्रमुख मोहनमाया ढकालले कोभिड महामारी यो वर्ष पनि कायम रहेको बताउँदै कोभिड महामारीबाट नगरवासीलाई जोगाउन शिक्षा, स्वास्थ्य र स्वरोजगारमुखि बजेट ल्याउने बताईन् ।

‘कोरोना महामारीले हाम्रो नगरपालिकाको शिक्षा क्षेत्रलाई धरासायी बनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले वैकल्पिक शिक्षा प्रयोग गर्न सकेका छैनन् । यसले बालबालिकाको शैक्षिक क्रियाकलापमा ठूलो क्षति पुर्‍याएको छ ।

यो क्षतिलाई परिपूर्ण गर्नका लागि सबै विद्यालयमा प्रविधिमैत्री शिक्षक, आवश्यक स्रोत साधन र नेट इन्टरनेटको व्यवस्थापन गर्न बजेटको व्यवस्था गर्नेछौं ।’ उनी भन्छिन्, ‘त्यसपछि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुनेछ । स्वास्थ्य संरचना निर्माण गर्ने, ती संरचनालाई बढिभन्दा बढि प्रयोग गर्ने क्षेत्रमा लगानी गर्ने भएका छौं ।’

त्यसका अलावा स्वरोजगारलाई प्राथमिकता दिइएको उनको भनाई छ । ‘कोभिडले हजारौं नागरिकलाई बेरोजगार बनाएको छ । महिला, युवाहरु अहिले घरमै बस्न बाध्य भइरहेका छन् । अझ भन्ने हो भने नीजि क्षेत्रमा रोजगारी गर्दै आइरहेका युवाहरु बेरोजगार भएका छन् ।

सामाजिक सुरक्षा पनि कमजोर बन्दै गइरहेको अवस्था छ ।’ उनी भन्छिन्, ‘त्यस संकटबाट जोगाउन साना-साना स्वरोजगारका कार्यक्रम ल्याउने तयारी गरेका छौं । यी तिन ओटा प्रमुख प्राथमिकतालाई विकास निर्माणसँग जोडेर हामी अघि बढछौं ।’

अहिले बजेट निर्माणकालागि नगरपालिकाका शाखा, वडा कार्यालयमा तयारी भइरहेको उनको भनाई छ । नगरपालिकाले यो पटक ठूला भौतिक संरचना निर्माणका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउँदै आफ्नो बजेट सबै यी तिनै क्षेत्रमा लगानी गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने तयारी गरेको उनको भनाई छ ।

नेपाल प्रेसबाट

तपाईको प्रतिक्रिया