ताजा खबर
  

राउटेको सुरक्षा

राउटे समुदाय स्थायी बसोबास गर्दैनन् । उनीहरु जंगलमा नै फिरन्ते जीवन विताउँछन् । व्यक्ति सम्पती नजोड्ने र खेतीपाती पनि नगर्ने यो समुदाय पछिल्लो समय भने केही आधुनिक बन्ने चरणमा छ ।

अर्थात कुनैबेला जंगलमा काठका सामान बनाउने र जंगली जनावरको शिकार गरेर गुजरा चलाउने यो समुदाय हिजोआज अन्य समुदायसँग घुलमिल हुन थालेको छ । यद्यपी राउेटले हालसम्म सरकारबाट नागरिकता लिएका छैनन् । नागरिकता नलिए पनि सरकारले सामाजिक सुरक्षा भत्ता वापत मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।

नेपालमा लोपोन्मुख जातीको रुपमा रहेका राउटेको आफ्नै मौलिक पहिचान र संस्कृती छ । तर जंगलमा काठ पाइन छाडेको, शिकार गर्न नपाएको, रोग लाग्दा उपचार नगर्ने र जीविकोपार्जनमा पनि समस्या हुँदा राउटेहरु समस्यामा छन् । कर्णालीका सुर्खेत र दैलेख जिल्लामा बस्ती सरेर बस्दै आएको राउटेको संख्या पनि घट्दो क्रममा छ । यसकारण पनि राउटेको संरक्षणमा चुनौती थपिएको छ ।

राउेट समुदायबारे राज्यको मात्र होइन, गैरसरकारी क्षेत्रबाट पनि चासो बढेको छ । उनीहरुको जीविकोपार्जनमा समस्या हुने भएपछि विभिन्न निकायले राहतको नाममा सहयोग पनि गरिरहेका छन् । राहतको नाममा सहयोग गर्नेक्रम बढ्दो छ । यही कारण पनि राउटेहरु अल्छी बनेको देखाएको छ । अर्थात कामै नगरी खान पाइने अवस्था आएपछि राउटेहरुले काम गर्न छाडेका छन् ।

बरु उनीहरु कुलतमा पनि फस्दै आएका छन् । राउटेमा पछिल्ला दिनमा अधिकांशले मदिरा सेवन गर्न थालेका छन् । यसले उनीहरुको स्वास्थ्यमा पनि गम्भिर असर परिरहेको छ । बाहिर समुदायसँगको घुलमिल र बाहिरबाट जानेहरुबाट भित्रिएको देखासिकीका कारण राउटेहरु विस्तारै कुसंस्कारमा फसेका छन् । यही कारण यो समुदायमा विकृती पनि भित्रिएको छ ।


आधुनकिताको नाममा राउटेहरु कतै राउटे नै नरहने हुन् की भन्ने पनि आशंका बढेको छ । यसकारण राउटे समुदायको मौलिकता र पहिचान पनि हराउने अवस्थामा पुगेको छ । पछिल्लो समय राउटे बस्तीमा मानिसहरु बाहिरबाट जानेक्रम बढेको छ । यसले मुख्यगरी युवापुस्ता कुलतमा फसेको पाइएको छ । विषेशगरी राउटे युवतीहरु जोखिममा छन् । उनीहरुमाथि विभिन्न प्रलोभनमा यौन हिंसा र दुव्र्यवहार हुन थालेको छ । यसले राउटे बस्तीमा असुरक्षा बढेको छ ।

अझ भनौं जंगलमा निर्वाध घुम्ने राउटेहरु सहर नजिक आएपछि बढी असुरक्षित भएका छन् । उनीहरुको सुरक्षाको चिन्ता र चासो पनि बढेको छ । यसकारण राउटे पनि यही देशका नागरिक हुन् । उनीहरुको सुरक्षामा सरकार गम्भिर बन्नु पर्दछ । यसका लागि राउटे बस्तीमा प्रहरीको उपस्थिति हुनु आवश्यक छ । उनीहरुलाई कुलतबाट मुक्त गर्न र अशल संस्कारको विजारोपण गर्न राज्य र नीजि क्षेत्रले हातेमालो गर्नु आवश्यक छ । यसो भएमा मात्र राउटे समुदायको पहिचान र संस्कृतीलाई जोगाउँदै उनीहरुको अस्तित्व रक्षा गर्न सम्भव हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार