नमीन ढकाल
इलाम । अखिल नेपाल फुटबल संघले ३ वटा विभागीय टोलीको १३ वर्षमुनिको एकाडेमीको लागि खेलाडी छनोटमा समन्वयकारी भूमिका निर्वाह गरेको थियो।
जसका लागि एन्फाले आफ्नो सदस्य रहेको देशभरका जिल्लालाई खेलाडी पठाउन आह्वान गर्यो। सोहीअनुरुप जिल्ला र प्रदेशबाट छनोट भएर आएका १६६ जना मध्ये विभागीय टिमका लागि ४२ जना खेलाडी छनोट गर्न एन्फाले उपाध्यक्ष एवम टेक्निकल विभाग प्रमुख कृष्ण थापालाई संयोजकको रुपमा चयन गरेको थियो।
थापाको संयोजकत्वमा पहिलो चरणमा छनोट भएका ७१ जना खेलाडीको नाम एन्फाले सार्वजनिक गर्यो। तर जब एकाडेमीका लागि ४२ जना छनोट गर्नुपर्ने समय आयो छनोटमा थापा सहभागी थिएनन्।
युथ डेभ्लप्मेन्ट संयोजक एवम एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, इलाइट अफ युथ डिपार्टमेन्टका प्रमुख नविन महर्जनलगायत अन्यले ५१ जना खेलाडी छनोट गरे। जसमा ९ जनालाई बैकल्पिक सूचीमा राखिएको थियो।
आफूलाई जानकारी नगराई खेलाडी छनोट गरेको भन्दै थापाले असन्तुष्टि जनाए। सामाजिक सञ्जाल थापाले लेखे- ‘यु–१३ को अन्तिम छनोट शंकाको घेरा संयोजकलाई नै थाहा छैन।’
थापाको असन्तुष्टिबीच एन्फाले एकाडेमीका खेलाडी गोलाप्रथाबाट छुट्यायो। जसमध्ये २१ खेलाडीले एन्फाबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्। त्यस्तै २१ खेलाडीले भने आफ्नो खर्चमा तीन विभाग त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका स्कुलमा आबद्ध हुनुपर्नेछ।
तर एन्फाले सार्वजनिक गरेको अन्तिम नामावालीमा सुरुवाती छनोटमा नाम नै नदेखिएका २ जना खेलाडी थिए। एन्फाको ४२ जनाको सूचीमा नेपाल पुलिस क्लबका स्कुलका लागि छनोट भएका दोलखाका निश्चल थामी र लक्ष्मण थामीको नाम थापाले छनोट गरेको ७१ को सूचीमा छैन।
‘७१ मा नभएको २ जना खेलाडीको नाम निस्कियो। मेरो छनोट सूचीमा नै नपरेको खेलाडी नेपाल पुलिसको स्कुलमा छात्रवृत्तिमा नाम कसरी निस्कियो?’ थापाले प्रश्न गरे, ‘अहिले हामीले पत्ता लगायौं भनेर उनीहरुले निश्चल तामाङ हो मिसस्पेलिङ भएको हो भन्छन् यसरी पाइन्छ र? ३ दिनपछि भन्न पाइन्छ निश्चल थामी भन्नेलाई राख्ने उनीहरुले स्कोलरसिपमा? मैल सुनेको त्यो ठूलो मान्छेको छोरो रे दोलखाको रहेछ, काठमाडाैंमा बस्छ रे, अर्को लक्ष्मण थामी भन्ने पनि ठूलै पावरवालाको रहेछ।’
यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफुलाई जानकारी नभएको र नवीन महर्जनसँग सम्पर्क गर्न आग्रह गरे। इलाइट अफ युथ डिपार्टमेन्टका प्रमुख महर्जन टाइपिङ मिस्टेकका कारण सुरुवाती ७१ को नामावलीमा नै नाम फरक परेको बताउँछन्।
‘निश्चल थामीको नामचाहिँ निश्चल तामाङ भएछ अनि लक्ष्मण थामीको नाम लक्ष्मण थापा भएछ। सुरुमा हेन्डराइटिङबाट कम्प्युटर टाइप गर्दा मिस्टेक भएको हो। त्यसलाई हामीले लगत्तै सच्चाइसकेका थियौं। अहिले जुन ४२ नाम निकालेका छौं त्यहाँ सबैको नाम सही नै छ,’ महर्जनले भने, ‘हामीले सुरुवाती छनोटमा परेका ७१ जनामध्ये ११ जनाको एमआरआई गरेका छौं। बाँकी खेलाडीहरु गृह जिल्ला फर्किसकेको कारण उमेर प्रमाणित गर्न एक्स–रिर्पोट मगाएर सोही आधार छनोट गरेका हौ।’
दुवै जना खेलाडी दोलखाका भए पनि काठमाडाैंबाट छनोटमा सहभागी भएका महर्जन बताउँछन्।
जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले खेलाडी छनोटबारे आफूलाई जानकारी नभएको बताए। ‘हाम्रोबाट १०/१२ जना छनोटमा पठाएका छौं, तर कोको परेका हुन् भनेर अहिले ठ्याक्कै भन्न सक्ने अवस्था छैन। यस बारेमा महासचिव कौरव पाण्डेलाई जानकारी छ।’
तर पाण्डेलाई सम्पर्क गर्दा दोलखाबाट कोही पनि खेलाडी छनोटमा नपरेका बताउँछन्। ‘जिल्लाबाट सिफारिस गरेर पठाएका कोही पनि छनोटमा परेका छैनन्। सुन्नमा आएसम्म दोलखाका जन्मदर्ता भएका २ जना खेलाडी छनोट भएका छन् रे तर यकिन भएन,’ उनले भने।
काठमाडाैं फुटबल संघका अध्यक्ष विराटजंग शाहीले पहिलो चरणमा खेलाडी छनोटको नामावलीमा त्रुटि भएको बताए। ‘निश्चल थामीको नाम निश्चल मगर लेखिएको रहेछ र लक्ष्मण थामीको नाम लक्ष्मण थापा लेखिएको रहेछ। त्यसकारण नै रहेछ ७१ मा नाम नभेटिएको हो।
थाहाखबर बाट
युग संवाददाता । । २४ जेष्ठ २०७८, सोमबार १७:४०