अन्तर्वार्ता

जसले इन्जिनियर बन्ने सपना पूरा गरेरै छोडे

लक्ष्यमा पुग्न भाग्य होइन, कर्म नै गर्नुपर्छ भन्ने गतिलो उदाहरण हुन् ईश्वरीप्रसाद तिवारी । बाल्यकालमै इन्जिनियर बन्ने सपना देखेका उनी हाल भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सिनियर डिभिजनल इन्जिनियर पदमा कार्यरत छन् । तर लक्ष्यसम्म पुग्न गरेको अटुट संघर्ष र मेहनत भने झट्ट सुन्दा विश्वास गर्न सकिने जस्तो छैन । शुल्क तिर्न नसक्दा पढाइ नै छोड्नु प¥यो । पेट भर्नको लागि अन्न सापटी माग्दा छिमेकीले हली बस्न आग्रह गरे । तर पनि उनले इन्जिनियर बन्न्े सपना त्याग्न सकेनन् । अरुलाई ट्यूसन पढाउँदै पढाइ खर्च जुटाए । इन्जिनियर पढ्नकै लागि स्थायी जागिर छोडे । अन्ततः निरन्तरको संघर्ष, त्याग र मेहनतले बाल्यकालको सपना पुरा गरे । प्रस्तुत छ, उनै तिवारीको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 

ईश्वरीप्रसाद तिवारी
सिनियर डिभिजनल इन्जिनियर, भेरी–बबई डाइभर्सन आयोजना

संघर्षपूर्ण बाल्यकाल

पैयू गाउँपालिका पर्वतमा बुवा धर्मगत र आमा चन्द्रकला तिवारीबाट २०२८ साल असार १ गते ईश्वरीको जन्म भयो । दुई बर्षपछि जन्मभूमि छोडेर तराइँ झरे । बसाइ सरेर बडैयाताला गाउँपालिका–१ बर्दिया झरे । बर्दियामै वालापन विताए । त्यहीबेला अभावहरु सिजर्ना भयो । आमाले एक्लै दुःख गरेर हुर्काउनुपर्ने भयो ।

आम्दानीको स्रोत नहुँदा दैनिकी चलाउन सहज भएन । कुनैबेला अरुलाई सहयोग गर्ने परिवारलाई समयले सहयोग माग्नुपर्ने अवस्थामा पु¥यो । एक साल खडेरी नै प¥यो । अन्न उत्पादन भएन । त्यही बेला आमाले छिमेकीसँग सापटी अन्न मागिन् । तर छिमेकीले दुःखको पीडा बुझेनन् । ‘अन्न सापटी लिने भए छोरालाई हली पठाइदिनु ।’ यस्तै जवाफ फर्काए ।

आमाको मन अमिलो भयो । भोकभोकै मर्नुपरे पनि नावालक छोरालाई कसरी हली पठाउन सक्थिन् । बरु साहस बटुलिन् । पीडाहरु लुकाएर संघर्ष गरिन् । यही परिवेशले ईश्वरीले बाल्यकालमै संघर्ष सिके । अभावहरु भोगे । दुःखसँगै पौंठेजोरी खेले । तर बाल्यकालमै इन्जिनियर बन्ने जीवनको लक्ष्य निर्धारण गरे । जसलाई पुरा गर्न अनेक संघर्षहरु गरे । ‘परिस्थिति आफ्नो बसमा कहिलै हुँदैन, तर परिस्थिति जे सिर्जना गर्छ त्यसलाई सही तरिकाले समाधान खोजेपछि सफलता हातपर्छ’ ईश्वरी भन्छन् ‘मेरो जीवनको भोगाइले यही सिकाउँछ ।’

शुल्क तिर्न नसक्दा…

आर्थिक अवस्था राम्रो थिएन । आम्दानीको स्रोत नहुँदा घरखर्च चलाउन मुश्किल पर्ने अवस्था थियो । तर ईश्वरी पढ्नमा निकै रुचि राख्थे । तर रुचिले मात्रै कहाँ पुग्दो रहेछ र ? कक्षा ६ मा पढ्दा स्कुलको शुक्ल तिर्न सक्ने अवस्था भएन । त्यसपछि केही समय पढाइ नै रोकियो ।

तर पढ्ने रहर मरेन । पढ्नका लागि आमासँग अनेक विलौना गरे । धेरै जिद्दी गरेपछि एकदिन आमाले हेडसरलाई भेटिन् र दुःखहरु सुनाईन् । अनि हेडसरले शुल्क मिनाहा गरिदिए । त्यसपछि पढ्ने बाटो खुल्यो । गाउँका बालबच्चाहरुलाई ट्यूसन पढाउँदै एसएलसी सम्मको खर्च चलाए ।

छात्रवृत्तिमा पढ्न अवसर

उच्च शिक्षा पढन् काठमाडौँ लागे । त्यहाँ पनि खर्च जुटाउन अनेक संघर्ष गरे । कहिले विद्यार्थीहरुलाई ट्यूसन पढाए त कहिले साइड रोजगारी गरे । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शान्तिपुरबाट कखरा सिकेका उनले कक्षा ५ देखि एसएलसीसम्मको पढाइ अमरज्योति माध्यमिक विद्यालय सितापुरबाट पुरा गरे । सुरुमा पुलचोक इन्जिनेरिङ क्याम्पस ललितपुरबाट ओभरसियर पढे ।

केही समय जागिरमा जोडिए । दुई वर्षपछि पुनः पुलचोक क्याम्पसबाट नै एमएसी अध्ययन गरेर र इन्जिनियर बन्ने सपना पुरा गरे । भारतको इन्डियन इन्ष्टिच्यूट अफ टेक्कोलोजीबाट (एमटेक) मास्टर इन टेक्नोलोजीसम्मको अध्ययन पुरा गरेका छन् । जहाँ छात्रबृत्तिमा संसारभरका विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । नेपाल सरकारको छात्रबृत्तिमा २०६८ देखि २०७० सम्म एमटेक अध्ययन गरेका हुन । पढाइमा उनी सानैदेखि अब्बल विद्यार्थी हुन् । कक्षा १ देखि एसएलसीसम्म सधै प्रथम भए ।

नक्सा हेरेर काठमाडौं पुगे

२०४५ सालको कुरा हो । ईश्वरी भर्खर एलएलसी पाए गरेका थिए । परिवारले अंग्रेजी वा विज्ञान विषय उच्च शिक्षा अध्ययन गर्न सुझाव दिएका थिए । तर उनलाई इन्जिनियर पढ्ने ठूलो रहर थियो । परिवारसँग जिद्दी गरेर काठमाडौँ छिरे । अरुले भनेकै आधारमा काठमाडौँमा आफन्त बस्ने घरको नक्सा कोरे ।

कहिले काठमाडौ नदेखेका उनी त्यही नक्साको भरमा टुप्पुल्कै आफन्तको घरमा पुगे । ‘अप्ठेरोसँग भागेर होइन, दुःखसँग जुध्न सके सफलता मिल्दो रहेछ’ उनी भन्छन्, ‘नक्सा हेरेर काठमाडौंका आफन्तसम्म पुगेको मान्छे हुँ ।’ अभावमा हुर्किएका उनले काठमाडौँ पुगेपछि मात्रै जुत्ता प्रयोग गर्न पाएको सुनाउँछन् ।

स्थायी जागिर नै त्यागे

ओभरसियरको पढाइ सकिएपछि ईश्वरी गाउँ फर्किए । इन्जिनियर पढ्ने खर्च जुटाउने उद्देश्यले नेपालगञ्ज नगरपालिकामा जागिर गर्न थाले । २०४९ सालमा स्थायी जागिर सुरु गरे । तर २०५२ सालमा आएर स्थायी जागिर नै छोडिदिए । ‘पढ्नका लागि स्थायी जागिर नै छोडिदिएँ’ उनी भन्छन्‘ जसरी पनि इन्जिनियर पढ्छु भन्ने लक्ष्य थियो ।’ दुई बर्ष जागिर गरेपछि काठमाडौं फर्किए । पुलचौक इन्जिनियरिङ कलेजमा पढाइ सुरु गरे । पढाइ सकिएपछि करिव ३ वर्ष आइएनजीओमा काम गरे ।

त्यसपछि पूर्वाञ्चल इन्जिनियरिङ कलेज लामाचौर पोखरामा लेक्चर भए । शैक्षिक क्षेत्रलाई अब्बल बनाउने अहोरात्र खटिए । केही गरौँ भन्ने युवा जोशजाँगरकै कारण छोटो समयमै सबैको प्रभावमा परे । तर पनि कसैको जश पाउन सकेनन् । ‘केही गर्न नसकेर त मास्टर हुनु परेको छ’ सहकर्मीहरुले यस्तै दुखेसो पोख्थे । ‘केही गर्न नसकेर मास्टर भएको !’ यही शब्दले र शिक्षण पेशाप्रतिको समाजको गलत बुझाईकै कारण शिक्षण पेशा नै छोडिदिए ।

बाल्यकालमा देखेको सपना पूरा हँदा…
बर्दियामा भर्खर पुर्नवास योजना लागु भएको थियो । जतिबेला उनी कक्षा ६ पढ्थे । त्यहीबेला भर्खर गुलरिया–बर्दिया हुलाकी सडक सुरु भएको थियो । त्यहाँ इन्जिनियरले डाइरेक्सन दिएको, प्लानिङ गरेको देखे । ‘म पनि यस्तै बन्छु’ त्यही दिनदेखि उनले इन्जिनियर बन्ने सपना देख्न थाले । सपना पुरा भएको लामो समयपछि अर्थात २०६३ सालदेखि निजामति क्षेत्रमा प्रवेश गरे ।

तत्कालीन सिँचाइ डिभिजन ५ नम्बर कार्यालयय जुम्लाबाट निजामतिको सेवा सुरुवात गरे । जागिरको क्रममा दाङ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय काठमाडौँ, विराटनगरको प्रदेश कोशी तथा बक्रा नदी व्यवस्थापन आयोजनामा, बबई सिँचाइ आयोजनामा कुशल कार्यसम्पादन गरिसकेका छन् । गत असोजदेखि उनी भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनामा सिनियर डिभिजनल इन्जिनियर पदमा कार्यरत छन् ।

 

तपाईको प्रतिक्रिया