रेणुका गुरुङको भाग्य : उपमेयरमा हारिन्, राज्यमन्त्री बनिन्

एमालेले स्थानीय तहमा हरायो, एमालेले नै सिंहदरबार छिरायो

काठमाडौं । राजनीतिकर्मीको भाग्य होस् त राज्यमन्त्री रेणुका गुरुङको जस्तो ! २०७४ सालमा टोखा नगरपालिकामा उपमेयरको चुनाव जितेकी भए गुरुङ अहिले स्थानीय तहका घरायसी मुद्दा–मामिलाहरु हेर्दै बसिरहेकी हुने थिइन् । तर, चुनावमा ९९ मत मात्र ल्याएर उनी ‘सौभाग्यवस’ पराजित भइन् ।

उपमेयरमा हारेपछि उनी समानुपातिक सांसद भइन् । र, संसद विघटन भइसकेपछि शुक्रबार रातिदेखि सिंहदरबारमा मन्त्रीको कुर्सीमा बस्न पुगिन् । गुरुङलाई स्थानीय तहमा एमालेले नै हराएको थियो, तर सिंहदरबार पनि एमालेले प्रवेश गरायो । आफैंले हराएको व्यक्ति मन्त्री बनेपछि टोखाका एमाले कार्यकर्ताहरु भने छक्क परेका छन् ।

उपमेयरको चुनाव हारेकी गुरुङ जसपाका तर्फबाट शुक्रबारदेखि महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् । समाजवादी पार्टीबाट चुनाव लडेकी उनले उपमेयरमा जम्मा ९९ मत मात्रै पाएकी थिइन् । चुनावमा एमालेका तर्फबाट निर्वाचित उपमेयर ज्ञानमाया डंगोलले ८ हजार ९८ मत पाएकी थिइन् ।

भोट थोरै आएपछि मतगणनास्थलमा झगडा गरेकी थिइन् गुरुङले

स्थानीय तहको चुनाव सम्पन्न भएपछि राज्यमन्त्री गुरुङले आफ्नो मत कम आएको भन्दै निर्वाचन अधिकृतसँग बिवाद गरेकी थिइन् । अन्य प्रतिस्पर्धीको एक हजार मत आउँदा उनले जम्मा ३ मत मात्र पाएपछि मेरो भोट किन कम आएको भनेर विवाद गरेको स्थानीयले बताए ।

उनले मेरो नाम किन आएन, समाचार पनि आएन भन्दै विवाद गरेकी थिइन् । टोखा नगरपालिकाको कार्यालयमा भइरहेको मतदान स्थानमा होहल्ला गरेपछि उनलाई सम्झाइएको थियो ।

​२०७४ सालको स्थानीय तहको चुनावमा विजयी भएकी एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत, निकटतम प्रतिस्पर्धी कांग्रेसकी रजनी थापाले ८ हजार ३६ मत, दीपक बानियाँले २ हजार ४७४ मत, राप्रपाका सुरज पाण्डेले ८६०, नेमकिपाकी रेबिना डंगोलले ६७४ मत पाएका थिए । संघीय समाजवादीकी गुरुङले ९९ र स्वतन्त्र उम्मेदवार रुपा कुमारी अधिकारीले २५ मत ल्याएका थिए ।

अहिलेसम्म कुनै पनि निर्वाचन नजितेकी र राजनीतिमा लागेको छोटो समयमै उनले मन्त्रालयमा पाइला टेकेकी हुन् । संघीय समाजवादी फोरमको टोखा नगर कमिटी अध्यक्ष रहेकी उनी उपमेयरमा पराजित भएपछि पनि उनले पार्टीको तर्फबाट समानुपातिक तर्फको सिटबाट सांसद बन्ने सौभाग्य पाइन् ।

सुरुमा बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेकी गुरुङ उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग मिलेर बनेको समाजवादी पार्टीमा लागेकी थिइन् । सो पार्टी र जसपाबीच एकीकरण भएपछि उनी उपेन्द्र यादव समूह छोडेर महन्थ ठाकुर पक्षमा लागिन् । आफ्नो समूहमा लागेपछि ठाकुर र महतोले उनलाई राज्यमन्त्री उपहार दिएका हुन् ।

राताेपाटीबाट

तपाईको प्रतिक्रिया