अन्तर्वार्ता

दाईको उत्प्रेरणापछि ब्यापारमा जमेका भरत

मानिसका सपनाहरु सबै पूरा हुँदैनन् । ति सपनाहरु पुरा गर्ने ठाउँमा कयौं अवरोधहरु पनि आउँछन् । अवरोध छिचोल्दै गर्दा थाहा हुन्छ, जीवन भनेको के हो भन्ने । तर सपना पूरा नहुँदा निराश होइन, संघर्ष गरे सफल पनि भइन्छ । सपनाहरु पनि पूरा गर्न सकिन्छ । यस्तै एउटा उदाहरण बन्न सफल व्यक्ति हुुन् भरत रावल । हाल उनी सुर्खेत वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै रावलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

भरत रावल
संचालक, अन्नपूर्ण इलेक्ट्रोनिक्स पसल, वीरेन्द्रनगर

बाल्यकालमा लजालु

बुवा मानबहादुर रावल र आमा पन्चु रावलको कोखबाट २०४३ साल बैशाख १६ गते दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर ६ मा भरत रावल जन्मिए । उनले कक्षा ८ सम्म गाउँकै भैरव माध्यमिक विद्यालयमा पढे ।

कक्षा ९ र १० भने उनले जयदेव मावि जम्बुकाँधमा पढेका हुन् । त्यही विद्यालयबाट २०६० सालमा एसएलसी पास गरेका भरत घरको कान्छो छोरा हुन् । उनको परिवार ठुलो थियो । उनका ६ भाईबहिनी थिए । बाल्यकाल उनको सामान्य नै वित्यो । उनको बुवाले कृषि कर्म गर्थे । विद्यालय जाने, साँझ र बिहान घरको काम गर्ने, साथीभाईहरुसँग खेलेरै उनको बाल्यकाल वित्यो ।

उनी चन्चले र लजालु स्वभावका थिए । तर उनी सबैलाई सहयोग गर्ने स्वभावका थिए, भने गित संगितमा साह्रै रुची राख्थे । विद्यालयमा साथीभाईहरुसँग गाउँने नाच्नेसमेत गर्थे । शिक्षकहरुले भविस्यमा कलाकार बन्नुपर्छ भन्ने गर्थे । उनको लक्ष्य पनि त्यही थियो ।

दाईले विहे गर्दा पढ्न पाए

सामान्य परिवारमा जन्मिएका भरतका दाईले सुर्खेत कालागाउँबाट बिवाह गरे । भरतको पढाइलाई निरन्तरता दिने की नदिने ? भन्ने निर्णय भएको थिएन । एकदिन घरमा भाउजुको आमा पुगिन् ।

उनले सुर्खेतमै पढ्नुपर्ने भन्दै आफ्नै घरमा बसाल्ने भनेपछि सुर्खेत आएर पढाइलाई निरन्तरता दिने मौका भरतले पाए । उनले जन मावि सुर्खेतमा प्लस २ पढे । २०६२ सालमा प्लस टु पास पनि गरे । यदी उनको दाईले सुर्खेतबाट बिवाह नगरेको भए उनी सुर्खेतमा आएर पढ्ने मौका पाउने थिएनन् ।

उनी लगत्तै कोरिया जाने भन्दै इपिएस भाषा पढ्न काठमाण्डौ गए । उनले इपिएसमा नाम निकाल्न नसकेपछि उनले व्यवसाय गर्ने सोच बनाए । अहिले उनको सुर्खेत वीरेन्द्रनगरमा अन्नपूर्ण इलेक्ट्रोनिक्स पसल छ । उनको राम्रो आम्दानी छ । उनी सफल व्यवसायीको पहिचान बनाउन सफल भएका छन् ।

कलाकार बन्ने लक्ष्य थियो

सानोमा कलाकार बन्ने लक्ष्य लिएका भरतले जब उनी आफ्नो लक्ष्य भेटाउन पर्यत्न गर्दै थिए, तब घरपरिवारको इच्छाअनुसार उनी कोरिया जानुपर्ने भनी काठमाडौं गए । तर इपिएसमा असफल भएपछि उनी सुर्खेत फर्किए । उनको दाईले व्यापार गर्थे ।

उनले पनि अब सबै पेशाभन्दा व्यापार नै गर्ने सोच बनाए । त्यही अुनसारको मेहेनत गरे । उनले सामान्य लगानीबाट शुरु गरेको व्यापार अहिले करोड बराबरको पुगेको छ । उनी सम्झन्छन्, यदी इपिएसमा नाम निक्लिएको भए अल्पकालिन फाइदा त हुन्थ्यो होला । तर दिर्घकालिन हुने थिएन । उनको अनुभव छ । उनले कहिलेकाँही आफ्नो लक्ष्य पुरा नहुँदा पनि मानिस सफल हुने बताउँछन् ।

जीवनमा संघर्ष

सामान्य घरपरिवारमा जन्मिएका उनले जीवनमा धेरै संघर्ष र मेहेनत गर्नुपर्यो । सानोमा पनि घरको काम गर्दै पढ्दै गरेका भरतले जब जिम्मेवारी बढ्दै गयो कहिले कलाकार बन्छु भनेर संघर्ष गरे भने कहिले कोरिया जान्छु भनेर संघर्ष गरे ।

घरपरिवारको आर्थिक अवस्था सोचेजस्तो नहुँदा उनी मात्र हैन परिवारकै आर्थिक अवस्था जोहो गर्नुपर्ने अवस्था थियो । गाडीमा सामान पुर्याउनेदेखि रातदिन मेहेनत गरेका उनले जीवनमा संघर्षमय नबनाए सफल हुन नसकिने बताउँछन् । आफ्नै लगानीमा व्यापार शुरु गरेपछि जीवन के हो ?

भन्ने बुझेका भरत अहिले पनि मेहेनत र परिश्रममा नै विश्वास गर्छन् । जीवनमा सफल हुने व्यक्तीले जस्तोसुकै संघर्ष गर्नुपर्ने उनको सुझाव छ । उनका दाईको उत्पे्रणाका कारण व्यवसायी बनेका उनी अहिले सन्तुष्ट छन् । शुरुमा त उनले कसैको साथ नलिएर काम थालनी गरे । तर उनका परिवारले राम्रो काम गरेको खण्डमा कुनै अवरोध नहुने बताउँथे । उनलाई घरपरिवारबाट साथ थियो । श्रीमती अन्य आफन्तहरुले साथ दिए । त्यही साथ र हौसलाका कारण आफु यहाँसम्म आउन सकेको बताउँछन् ।

भावी योजना

उनको भावी योजना भनेको आफ्नै व्यवसायलाई निरन्तरता दिनु हो । सानैदेखि समाज सेवा गर्न मन पराउने भरतलाई व्यवसायसँगै समाज सेवा गर्ने इच्छा छ । उनले गरिब र सामान्य परिवारका केटाकेटीको शिक्षा दिक्षाको लागि सहयोग गर्ने र समाज रुपान्तरणका लागि काम गर्ने भावी योजना बनाएका छन् । आम युवाहरुलाई व्यवसायीक र आत्मनिर्भर बनाउने अभिायान संचालन गर्ने उनको योजना छ ।

 

तपाईको प्रतिक्रिया