काठमाडौँ । विश्वकप २०२२ छनौट अन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईको सामना गर्दैछ । कतार विश्वकपका लागि छनौट चरणमा नेपाल र चाइनिज ताइपेई दोस्रो पटक भिड्न लागेका हुन् ।
चाइनिज ताइपेईको घरेलु मैदानमा भएको पहिलो लेगमा नेपाल २-० ले विजयी भएको थियो । दोस्रो लेग कुवेतको राजधानी कुवेत सिटीस्थित एससी रंगशालामा हुँदैछ ।
विश्वकप छनौटको समूह ‘बी’ मा रहेका नेपाल र चाइनिज ताइपेईले समान पाँच खेल खेलेका छन् । एक जित निकालेको नेपालको तीन अंक छ । उता चाइनिज ताइपेई भने अंकविहिन छ । स्वभाविकरुपमा नेपाल र चाइनिज ताइपेई विश्वकपमा छनौट हुने दौडमा छैनन् । विशेषगरी नेपालका लागि अबको लक्ष्य भनेको एसियन कप २०२३ छनौटको अघिल्लो चरण खेल्ने नै हो ।
एसियन कप २०२३
एसियन कपमा कुल २४ टिमले भाग लिनेछन् । जारी एसियातर्फको विश्वकप छनौटको समूह विजेता भएका आठ टिम र उत्कृष्ट उप-विजेता चुनिएका चार टिम स्वत एसियन कपका लागि योग्य हुनेछन् ।
विश्वकप छनौट चरणमा उप-विजेता भएका अन्य चार टिम र समूह चरणमा तेस्रो भएका आठ टिमले भने एसियन कप छनौटको तेस्रो चरण खेल्नेछन् । त्यस्तै विश्वकप छनौट चरणमा आ-आफ्ना समूहमा चौथो भएका उत्कृष्ट चार टिमले पनि एसियन कप छनौटको तेस्रो चरण खेल्ने मौका पाउनेछन् । यस्तो बाटो भई एसियन कप छनौटको तेस्रो चरण खेल्न पाउने टिमको संख्या १६ हुनेछ ।
यी १६ टिमसँग अन्य आठ टिमले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । ती आठ टिम प्ले-अफबाट आउनेछन् । विश्वकप छनौट चरणमा आ-आफ्ना समूहमा चौथो हुने चार टिम र पाँचौँ हुने आठ टिमले प्ले-अफमा भाग लिनेछन् ।
एसियन कप छनौटको तेस्रो चरणमा सहभागी हुने कुल २४ टिमलाई आठ समूहमा विभाजित गरिनेछ । र, समूह विजेता र उप-विजेता गरी कुल १२ चीनमा हुने एसियन कपका लागि छानिने छन् । जसले एसियातर्फको विश्वकप छनौटको समूह विजेता भएका आठ टिम र उत्कृट उप-विजेता चुनिएका चार टिमसँग एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् ।
युग संवाददाता । । २० जेष्ठ २०७८, बिहीबार १८:२६