सल्यानमा गहुँको उत्पादन २३ प्रतिशतले घट्यो

सल्यान । सल्यानमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ। जिल्लाको प्रमुख खाद्यान्न बाली गहुँ उत्पादनमा यो वर्ष भारी गिरावट आएको हो।

यस वर्ष जिल्लामा १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा गहुँ लगाएकोमा २७ हजार ३ सय ५० मेटिकटन मात्र उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

गत वर्ष १४ हजार दुई सय ३० हेक्टर क्षेत्रफलमा २५ हजार ६ सय १० मेटिकटन गहुँ उत्पादन भएको थियो। यो गत वर्षको तुलनामा २३ दशमलव २ प्रतिशतले कम उत्पादन भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।

लामो समयसम्मको खडेरीका कारण यो वर्ष गहुँ उत्पादनमा कमी आएको बस्नेतको भनाई छ। सिंचाई र खेतमा मात्र यो वर्ष गहुँ उत्पादन भएको उनको भनाई छ। लामो समयको खडेरीका कारण पाखो बारीमा निकै कम मात्रामा उत्पादन भएको उनले जानकारी दिए ।

जिल्लामा ४५ हजार ५ सय ६७ हेक्टर खेती योग्य जमिनमा ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ। सिंचाई सुविधा नहुँदा यहाँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन्। ७ हजार ५९ खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको सल्यानमा ७ हजार ४ सय ८८ हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिंचाई सुविधा रहेको छ ।

तपाईको प्रतिक्रिया