कोरोनाबाट हुम्लामा पहिलो पटक ५५ वर्षिय पुरुषकाे मृत्यु

सिमकोट । कोरोना संक्रमणबाट हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ । गएको एकसातादेखि लक्षण सहितको संक्रमण पुष्टि भएका सर्केगार्ड–२ का ५५ वर्षका टोप्ले कामीको ज्यान गएको छ ।

गएको साता लक्षणसहितको संक्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले जानकारी दिए ।

‘संक्रमित कामीको अक्सीजनको लेवल ४० भन्दा तल थियो’ पालले भने ‘गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण उनको ज्यान गएको हो ।’

सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेको कामीलाई जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको रिप स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्कीले जानकारी दिए ।

लमो समयदेखि दम रोग लागेको कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको काकीले जानकारी दिए ।

‘हेलिकोप्टरको लागि धेरै प्रयास भयो कार्कीले भने, ‘तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कमम्पनीले आउन नमान्ने र कामीको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल ल्याउन लागिएको थियो ।’

गएको वैशाख १८ गते गरिएका एन्टिजेन परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हुम्लामा बुधाबारसम्म १६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार कोरोनालाईजितेर ९२ जना घर फर्किएका छन् भने ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया