एजेन्सी । सिङ्गिङ रियालिटी शो इन्डियन आइडल १२ को विषयमा विवाद बढ्दै गइरहेको छ । अमित कुमार, अभिजित सावन्त, सोनू निगमपछि अब गायिका सुनिधि चौहानले पनि शोको पोल खोलेकी छिन् । आफ्नो नयाँ अन्तरवार्तामा उनले इन्डियन आइडल छोड्नुको कारणबारे खुलासा गरेकी छिन् ।
सुनिधिले आफ्नो अन्तरवार्तामा भनेकी छिन्, ‘मैले इन्डियन आइडल यसकारण छोडेँ किनभने निर्माताले जे चाहन्छन्, त्यो म गर्न सक्दिनथेँ । ’ उनका अनुसार आफ्नो सोच र विचारलाई पन्छाएर निर्माताले उनलाई प्रतियोगीको झुटो तारिफ गर्न अह्राएका थिए ।
सुनिधि चौहानले इन्डियन आइडलको पाँचौं र छैटौं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्् । सुनिधिलाई शोलाई अनावश्यक रुपमा तानिएको हो भन्ने प्रश्न सोधिएको थियो, यसमा उनले जवाफ दिइन्, ‘यो सबै दर्शकको ध्यान केन्द्रीत गर्नका लागि हो । यसमा प्रतियोगीको कुनै गल्ती छैन । जब प्रतियोगीले तारिफ मात्रै सुन्छन् तब उनीहरु रनभुल्लमा पर्छन् र यस्तोमा वास्तविक प्रतिभा खराब हुने गर्छ ।’
रियालिटी शोजबारे कुरा गर्दै सुनिधि चौहान भन्छिन्, ‘सङ्गीतमा नाम कमाउने सपना देख्नेहरुका लागि यसले निकै ठूलो मञ्च प्रदान गरेको छ । तर यसमा कलाकारकलाई बेफाइदा हुन्छ किनभने मानिसहरु टिभीमा आफ्नो कथा देखाएर रातारात चर्चित हुने गर्छन् र उनीहरुको केही गरेर देखाउने चाहना समाप्त हुने गर्छ ।’
सुनिधिले यसबारे थप्छिन्, ‘हो, केही मानिसहरुले तर पनि मिहिनेत गर्छन् तर असाध्यै चर्चा पाएपछि उनीहरुको दिमागमा असर पक्कै पनि पर्छ । यो छोटो समयमा पाएको ठूलो उपलब्धि हो । यसमा प्रतियोगीको कुनै गल्ती छैन किनभने यो गेमको नाम टिआरपी हो । ’
युग संवाददाता । । १७ जेष्ठ २०७८, सोमबार १८:३०