ताजा खबर
  

‘मेलापात गर्दागर्दै स्थायी जागिरको सपना देखेँ’

कुनै समय दुर्गम बस्तीहरु माओवादीमय थिए । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र विद्रोहमा कोही रहरले त कोही करले लाग्थे । सुर्खेतको पश्चिम क्षेत्र पनि माओवादीको प्रभावित क्षेत्र थियो । हाल चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकेन्द्रबहादुर बुढा प्रभावित क्षेत्रमै हुर्किए । त्यसबेला टेकेन्द्र माओवादीमा गइहाल्छन्की भन्ने बुवाआमालाई ठूलो त्रास थियो । किनकी ऊबेला स्कूल गएका कतिपय कोही रहरले त कोही कहरले माओवादी युद्धमा होमिन्थे । त्यही त्रासले कक्षा ८ मा पढ्दै गर्दा टेकेन्द्रलाई बुवाले भारतको हैदराबादमा लिएर छोडिए । प्रस्तुत, उनै टेकेन्द्रको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

टेकेन्द्रबहादुर बुढा
प्रमुख प्रशासकीय अधिकृत, चौकुने गाउँपालिका, सुर्खेत

मेलापात गर्दै हुर्किए

पश्चिम सुर्खेतको छाप्रे विकट क्षेत्र मानिन्छ । त्यही क्षेत्रमा जन्मिए अनि हुर्किए टेकेन्द्रबहादुर बुढा पनि । पञ्चपुरी–७ मा बुवा नन्न र आमा धनसरा बुढाबाट २०४४ बैशाख ८ गते उनको जन्म भयो । सामान्य कृषक परिवारमा हुर्किएका टेकेन्द्रले मेलापात गर्दै बाल्यकाल विताए ।

स्कुल बाहेक गाइको गोठाला जानु, घाँस र दाउरा गर्नु र छापो काट्नु उनको दैनिकी जस्तै थियो । ‘स्कुल विदा भएको दिन मेलापत गरेर वित्थ्यो’ बाल्यकाल सम्झदै उनी भन्छन्, ‘म त किसानको छोरो, कृषिमा रमाउँदै हुर्किएँ ।’

जेठो छोरा भएका कारण आमाबुवालाई सघाउनु उनको जिम्मेवारी नै थियो । तर मेलापात गर्न कहिले पनि अप्ठेरो मान्थेनन् । ‘गाउँमा घाँस दाउरा गर्दा पनि रहर लाग्थ्यो’ उनी भन्छन्, ‘साथीभाईसँग गोठाला जाँदाका दिन साँचिक्कै रमाइला थिए ।’

पढ्दापढ्दै भारत पुगे

२०५१ सालदेखि टेकेन्द्रले कखरा चिन्न सुरु गरे । तत्कालीन नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बुढाखालीबाट कक्षा ८ सम्म अध्ययन गरे । कक्षा ९ देखि स्नातकको पढाइ भने जनता माध्यमिक विद्यालय विद्यापुरबाट पुरा गरे । सुर्खेत क्याम्पस (शिक्षा) बाट स्नातकोत्तर गरेका उनी मध्ययम स्तरका विद्यार्थी हुन् ।

पढाइमा कहिल्यै असफल भएनन् । स्कुल पढ्दाका क्षणहरु भने निकै यादगार छन् । किनकी उनी माओवादी प्रभावित क्षेत्रमा हुर्किए । सुर्खेतको विकट क्षेत्र मानिने उनको गाउँ माओवादी सशस्त्र विद्रोहको केन्द्र नै मानिन्थ्यो । पढ्नका लागि स्कुल गएका केही साथीहरु स्कुलबाटै माओवादीमा लाग्थे । संघ, संगठन निर्माणमा सहभाी हुन्थे ।

कोही रहरले त कोही बाध्यताले माओवादी बन्थे । त्यही पिर थियो टेकेन्द्रका बाआमालाई पनि । बुवाआमा हरेक दिन स्कुलबाट छोरा आउने बाटो कुरेर बस्थे । किनकी जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा टेकेन्द्र लक्का जवान थिए । छोराको बढ्दो उमेर बाआमाको लागि चिन्ताको विषय थियो । ‘मलाइ पनि माओवादी युद्धमा गइहाल्छकी भनेर बुवाआमालाई ठूलो चिन्ता थियोे’ उनी सम्झन्छन्, ‘त्यही भएर बुवाले ४÷५ महिना भारत लिएर छोड्नु भयो ।’

भारतको हैदरवादमा उनी मामासँगै बसे । कक्षा ८ को परीक्षा दिएर उनी भारत पुगेका थिए । तर ४÷५ महिनापछि गाउँ फर्किए र पढाइलाई निरन्तरता दिए । भारतबाट फर्किदा नेपालगञ्जबाटै उनले किताव बोकेर घर फर्किए । कक्षा ९ मा पढ्दै गर्दा बुवाआमालाई झनै चिन्ता बढ्यो ।


‘कक्षा ९ पढ्दा तन्नेरी थिएँ, यही कारण बुवाआमाले मलाइ माओवादी हुन्छ कि भन्ने चिन्ता मान्नुहुन्थ्यो’ उनी भन्छन्, ‘त्यो बेला त हप्तामा शुक्रबार मात्रै घर जान्थेँ ।’ किनकी कक्षा ९ मा पढ्दा घरदेखि टाढा थियो । घरबाट विद्यापुरको पढाइ भ्याउने सक्ने अवस्था थिएन । शान्ति प्रक्रियापछि भने आमाबुवा ढुक्का भए । पढाइ बाहेक भलिबल खेलमा उनी विशेष रुचि राख्थे । मोजाको बल बनाएर खेलेका दिनहरु अहिले पनि ताजै छन् ।

अनि सेना हुने रहर म¥यो

माओवादीको प्रभावित क्षेत्रमा हुर्किएका टेकेन्द्रलाई भने सानैदेखि नेपाली सेना हुने इच्छा थियो । नेपाली सेना भएर राष्ट्रको सेवा गर्ने रहर थियो । उमेर बढ्दै गर्दा सेना हुने इच्छा तीब्र भयो । तर समय र परिस्थितिले उनले सेना हुने योजना त्यागे । उबेला सेनाले सर्वसाधारणलाई गर्ने व्यवहार उनलाई चित्त बुझेन

। माओवादी प्रभावित क्षेत्र भएका कारण सेनाको सास्ती भोगेपछि सेना हुने रहर त्यागी दिए । ‘सानैदेखि सेना भएर राष्ट्रको सेवा गर्ने रहर थियो’ उनी भन्छन्, ‘तर माओवादी समयमा सेनाले गर्ने व्यवहार देखेर सेना हुने इच्छा म¥यो ।’

त्यसपछि शिक्षक बने

सेना हुने रहर त्यागेपछि टेकेन्द्रले शिक्षक हुने लक्ष्य राखे । स्नातक तहसम्म अध्ययन गर्ने र गाउँमै फर्किएर शिक्षक हुने योजना बुने । २०६५ सालदेखि ०६७ आफु पढेकै स्कुलमा (नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बुढाखाली) शिक्षण गरे ।

तर पढाइलाई निरन्तरता दिन २०६८ सालमा वीरेन्द्रनगर झरे । भ्याली मेरिडियन ऐकेडेमीमा शिक्षण गर्दै स्नातकोत्तर पुरा गरे । २०७२ भदौदेखि शिक्षण गर्नकै लागि कालिकोट पुगे । पचालझरना गाउँपालिकामा पर्ने स्वरस्वती उच्च माध्यमिक विद्यालय शिक्षा २०७६ सालसम्म अध्ययन गराए ।
उच्च माध्यमिक विद्यालयको अनुदान कोटामा कार्यरत हुँदा प्राधानाध्यापकको जिम्मेवारी समेत सम्हाले ।

लोकसेवा उर्तिण

उनी स्थायी जागिरको खोजी थिए । शिक्षक सेवा, लोकसेवा आयोगको अध्ययनलाई पनि निरन्तरता दिँदै गए । अप्ठेरा र दुखदेखि कहिल्यै डराएनन् । संयोगले २०७६ मा उनले लोकसेवा आयोग पास गरे । केही समय चौकुने गाउँपालिकामा शिक्षा अधिकृत भएर जिम्मेवारी निभाए ।

गएको मंसिरदेखि भने उनी चौकुने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । शिक्षक भएर कालिकोट पुग्दा र लोकसेवा आयोगमा उत्तीर्ण हुँदा सबैभन्दा खुशी भए । तर दुर्भाग्य, छोरालाई स्थायी जागिर खाएको हेर्न चाहना पुरा नहुँदै उनका बुवाको निधन भयो । यसले आफूलाई अहिले पीडा भइरहने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार