आफ्ना दुख लुकाउँदै समाजसेवामा मुस्कुराउँदै

मानिसका सपनाहरु सबै पूरा हुँदैनन् । ति सपनाहरु पुरा गर्ने ठाउँमा कयौं अवरोधहरु पनि आउँछन् । अवरोध छिचोल्दै गर्दा थाहा हुन्छ, जीवन भनेको के हो भनेर । तर सपना पूरा नहुँदा निराश होइन, संघर्ष गरे सफल पनि भइन्छ । सपनाहरु पनि पूरा गर्न सकिन्छ । यस्तै एउटा उदाहरण बन्न सफल व्यक्ति हुुन् झगीसरा सुनार हाल उनी सुर्खेतको लेकवेशी नगरपालिकाको कार्यपालिका सदस्यको रुपमा कार्यरत छन् । कुनैबेला सरकारी जागिर खाने सपना थियो उनको । तर हाल उनी राजनीतिमा क्रियाशील छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै झगिसरासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

                                    झगीसरा सुनार सदस्य, लेकवेशी नगरकार्यपालिका, सुर्खेत 

अन्याय नसहने स्वभाव

बुवा दलबहादुर कामी र आमा हस्ती सुनारको कोखबाट २०४० साल फागुन २९ गते सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ५ मा झगीसरा सुनारको जन्मभयो । उनले कक्षा ८ सम्म सुर्खेतकै लेकवेशीमा रहेको नेराप्रावि नेटामा पढिन् ।

उनी घरको साँइली छोरी हुन् । उनको परिवार ठुलो थियो । उनका आठ भाईबहिनी थिए । बाल्यकाल उनको सुखदुख दुबैले नै वित्यो । उनको बुवाले कृषि कर्म गर्थे । विद्यालय जाने, साँझ र बिहान घरको काम गर्ने, साथीभाईहरुसँग खेलेरै उनको बाल्यकाल वित्यो ।

उनी अन्याय नसहने स्वभावकी थिइन् । त्यही भएर पनि होला गाउँका मानिसहरुले उनको स्वभावलाई मन पराउँदैन्थे । तर आफुभन्दा सानालाई माया र ठुलालाई आदर गर्ने उनको अर्को स्वभाव थियो ।

पढाइमा अवरोध

उनले घरको काम गर्दै पढ्दै गरेकी थिइन् । पढ्दापढ्दै उनको बिवाह भयो । विबाहपछि उनको पढाइमा ब्रेक लाग्यो । उनले पढेर ठुलो मान्छे बन्ने लक्ष्य लिएकी थिइन् । उनको लक्ष्य भनेको सरकारी जागिर खाने थियो । तर त्यतिबेला छोरीहरुलाई पढाउने चलन पनि थिएन । झगीसरा त बुहारी भएर गइसकेको अवस्थामा त झनै पढ्ने वातावरण मिलेन । उनको बिवाह १६ बर्षको उमेरमा भएको थियो । विहेपछि पढाइ रोकियो ।

घर व्यवहारमा व्यस्त हुँदा…

झगीसराले बिवाह सानो उमेरमा गरिन् । उनले बिवाहपछि पनि पढाइलाई निरन्तरता दिने प्रस्ताव राखिन् । तर त्यतीबेला छोरीहरुको पढाइलाई महत्व दिइन्थेन । अहिलेको जस्तो सहज रुपले छोरीहरुले पढ्न पाउने अवस्था थिएन । उनले सरकारी जागिर खाने लक्ष्यका साथ पढाइलाई निरन्तरता दिने योजना बनाएकी थिइन् ।

तर उनको लक्ष्य पुरा हुन सकेन । उनका छोरीहरु जन्मे । छोरीहरु जन्मिएपछि उनलाई झनै जिम्मेवार बन्नुपर्ने अवस्था आयो । उनले अब त पढाइलाई निरन्तरता दिने कुनै सम्भावना थिएन । छोरीहरुको पालनपोषण गर्नुपर्ने, घरव्यवहार सम्हाल्नुपर्ने र अरु थुपै्र समस्याहरु थिए ।

उनका श्रीमान् र उनी कृषि र पशुपालन गर्दै घर खर्च टार्ने तथा छोरीहरुलाई पढाउने गरिरहेका थिए । तर बिचमै झगिसराका श्रीमान्को निधन भयो । श्रीमान्को निधन भएपछि उनलाई घरपरिवारको सबै जिम्मेवारी आयो । उनी घरका सबै समस्या समाधानका लागि नियमित दुख गरिरहनुपर्ने परिस्थिति आयो ।

जीवनमा संघषैसंघर्ष

उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । बिवाहपछि उनले गप संघर्ष गर्नुपर्यो । उनका पाँच छोरीहरु छन् । श्रीमान्को निधन भएपछि संघर्षको उकालो लाग्यो । परिवारको सबै जिम्मेवारी थपियो । कृषि कर्म उनको दैनिकी नै छ । जीवनलाई अझै संघर्षमय बनाउँदै लगिन् ।

उनले घरमा पशुपालन र कृषि व्यवसायलाई बढाउँदै लगिन् । उनले पढेर स्थायी जागिर खाने लक्ष्य पुरा नभएपछि उनी समाज सेवामा लाग्ने काममासमेत तल्लिन थिइन् । उनलाई गाउँका अग्रजहरुले राम्रो समाजसेवी बन्न सक्ने उत्प्रेरणा दिइरहन्थे । उनी विभिन्न फोरमहरु र तालिममहरुमा पनि सहभागी हुने मौका पाइन् ।

उनले महिलाहरु धेरै विभेदमा परेको सिक्ने अवसर पाएपछि उनलाई यो समस्याबाट महिलाहरुलाई छुटकारा दिलाउने महत्वकाँक्षा आयो । उनी घर व्यवहारसँगै सामाजिक काममासमेत लागिन् । २०७४ सालको स्थानीय निर्वाचनको बेला उनलाई निर्वाचनमा होमिन सुझाइयो ।

उनी त्यतिबेलासम्म राजनीतिक क्षेत्रको बारेमा जानकार भइसकेकी थिइन् । उनी उम्मेदवार बनिन् । अहिले उनी लेकवेशी नगरपालिकाको कार्यपालिका सदस्य छन् । उनले कृषि र पशुपालन व्यवसायलाई पनि निरन्तरता दिइरहेकी छन् । छोरीहरुलाई पढाउने काम पनि गरेकी छन् ।

परिवारको साथ

उनलाई घरपरिवारबाट साथ थियो । श्रीमान्, छोरीहरु र अन्य आफन्तहरुले साथ दिए । माइती परिवारबाट पनि साथ पाईन् । तर उनले पढाइलाई निरन्तरता दिन साथ नपाएको सम्झिन्छिन् । उनलाई सामाजिक क्षेत्रमा काम गर्न घरपरिवारले अहिले पनि साथ दिइरहेको छ ।

भावी योजना
उनको भावी योजना भनेको राजनीतिबाटै समाजसेवा गर्दै महिला र दलित समुदायको आर्थिक अवस्था उकास्ने, उनीहरुलाई सवल र सक्षम बनाउने योजना छ । त्यसका साथै छोरीहरुलाई राम्रो शिक्षा दिएर ठुलो मान्छे बनाउने योजना छ । र उनको अनुभवले पनि उत्पादनमा जोडिनुपर्ने भन्छ ।

त्यसैले पनि सबै क्षेत्रका मानिसहरुलाई कृषिमा लाग्नेगरी प्रोत्साहित गर्ने योजना छ । समाज रुपान्तरण गर्ने मुख्य नीति नै राजनीति भएकाले राजनीतिमा लागेको उनी बताउँछिन् । राजनीति गरिब र विपन्नको पक्षमा हुनुपर्ने उनको धारणा छ ।

तपाईको प्रतिक्रिया