निषेधाज्ञाले बारीमै सड्दै तरकारी

सल्यान । प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन् ।

बजारसम्म तरकारी पु¥याउन र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए । १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उनको भनाइ छ । उनले भने, ‘बजार सबै बन्द छन् को आएर हाम्रो तरकारी किनिदिने हो र? किन्ने मान्छे नै आउँदैनन् ।’

गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पु¥याएको उनको भनाइ छ । यो वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उनको भनाइ छ ।


१४ रोपनीमा लगाएको मुला, काक्रो, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएका भण्डारीले बताए । गत वर्ष लकडाउन भएपनि ८ लाख आम्दानी भएको भए पनि यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ ।

निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको अर्का किसान प्रदीप वलीले बताए । उनले भने ‘सिमी, बन्दा, धनियाँ, काक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् ।’ तरकारीको बिक्रीले नै घरखर्च टार्ने किसानहरु आम्दानी नभएपछि मर्कामा परेको वलीको भनाइ छ ।

उनले भने ‘तीन रोपनीमा लगाएको तरकारी अहिलेसम्म बिक्री भएको छैन । अबको एक हप्ताभित्र तयार भएको तरकारी बजार पठाउन नसकिए काटेर फाल्नुपर्ने हुन्छ ।’
जिल्लाबाट वार्षिक ३० देखि ३५ करोडको तरकारी जिल्ला बाहिर निकासी हुने गर्दछ ।

तपाईको प्रतिक्रिया