‘महामारीमा जनता बचाउन सबै उपाय अपनाउने छौं’

अहिले कोरोनाको दोस्रो लहर फैलिरहेको छ । यसबाट नागरिकहरु प्रभावित भइरहेका छन् । विकास निर्माणका कामहरुसँगै नागरिकले रोजगारी पनि गुमाइ रहेका छन् । एकातिर नागरिकलाई महामारीबाट जोगाउनुपर्ने छ भने अर्कोतर्फ उनीहरुलाई गाँसको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । यसपालीको कोरोना महामारी रोमथाम र नियन्त्रणमा पनि गत बर्षको जस्तै स्थानीय सरकारले सक्रिय भूमिका खेल्दै आइरहेका छन् । यसै सन्दर्भमा कोरोना नियन्त्रणमा सुर्खेतको चिङ्गाड गाउँपालिकाले के गरिरहेका छ ? सामाजिक सुधारसँगै विकासका कामहरु कसरी अगाडी बढेका छन् ? यसै सेरोफेरोमा रहेर हाम्रा सहकर्मी टेकराज केसीले सुर्खेतको चिङ्गाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्दसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको शारासं :

देवबहाहुर चन्द
अध्यक्ष, चिङ्गाड गाउँपालिका, सुर्खेत

हिजोआज के गर्दै हुनुहुन्छ ?

हामी त अहिले महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणको लागि गाउँगाउँमा खटिएको अवस्था छ । त्यसका साथै जनताका अन्य समस्या समाधानको लागि नियमित खटिएको अवस्था छ । यही क्रममा म आफै पनि कोभिड १९ संक्रमित हुन पुगेँ । यही काममा नै व्यस्त छु भन्नुपर्छ ।

कोरोना नियन्त्रणका लागि कस्ता प्रयास भएका छन् ?

कोरोना नियन्त्रणको लागि हामी अहिले गाउँगाउँमा पुगेका छौं । पहिलो कुरा त चिङ्गाड गाउँपालिकामा पनि कोरोनाका संक्रमितहरु धेरै छन् । गाउँमा कोरोनाको अवस्था के हो ? भनेर हामीले परीक्षणको दायरालाई बढाएका छांै । त्यही अवस्था अनुसार हामी अगाडी बढ्ने तयारी छ । त्यहीसँगै हामीले २४ सै घण्टा एम्बुलेन्स सेवा दिइरहेका छाैं । कोही संक्रमितहरु जटिल अवस्थामा पुग्नुभयो भने हामी तत्काल एम्बुलेन्समार्फत अस्पताल पुर्याउछौं ।

बेडको अभाव हुन नदिन २० शैयाको आइसोलेसन पनि तयारी अवस्थामा छ । अहिले निको हुने दर बढिरहेको छ । दुखका साथ भन्नुपर्छ, हाम्रो गाउँपालिकाका तीन जना संक्रमितको मृत्यु भएको छ । विभिन्न माध्यमबाट कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डहरु पालना गर्नुहोस् भनेर भनेका छौं ।

अघिल्लो बर्ष पनि यसैगरी कोरोना संक्रमण फैलिँदा हामीले धेरै प्रयास गरेर संक्रमण जोखिम कम गरेका थियौं । घरभित्रै बसेर स्वास्थ्य मापदण्ड पालना गर्न भनिरहेका छौं । कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई केही समस्या भएको खण्डमा तत्काल अस्पताल भर्नाका लागि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

कोरोनाविरुद्ध लड्न बजेटको अवस्था के छ ?

तपाइँले सही प्रश्न उठाउनुभयो । हामीसँग कोरोनाविरुद्ध लड्न बजेट अभाव नै छ । गाउँगाउँमा संक्रमण भएको छ । त्यसको नियन्त्रणमा सबैभन्दा धेरे जिम्मेवारी हामी तल्लो तहका सरकारहरुको नै हुन्छ । गत साल कोरोना अब केही नियन्त्रणतर्फ गएको हुँदा हामीले कोरोना कोषमा त्यती बजेट राखेनौं । अहिले अवस्था गम्भिर भयो, यस्तो अवस्थामा हामीलाई बजेटको व्यवस्था गरिनुपर्ने हो ।

प्रदेश सरकार र केन्द्र सरकारले यतातिर ध्यान दिएको जस्तो मलाइ लाग्दैन । बरु बजेट फ्रिज भएर जान्छ । स्थानीय सरकारलाई पठाइन्न । अवस्था भयावह बन्दै गएको छ । विपतको लागि छुट्याइएको केही रकम बाहेक हामीसँग अरु रकम छैन । यसले गर्दा स्थिति भयाभह भयो भने त हामीले कसरी नियन्त्रण गर्ने ? यस्तो बेलामा माथिल्लो तहका सरकारहरुले स्थानीय सरकारलाई अलि जिम्मेवार बनाउन आवश्यक छ । त्यसको लागि कोभिडको लागि छुट्टै बजेट हामीलाई पठाउनुपर्छ ।

राहतका कार्यक्रम पनि छन् की ?

तपाइँले भनेको जस्तै कोभिड १९ संक्रमणका कारण मृत्यु भएका परिवारहरुलाई २५ हजारका दरले रकम दिने हामीले कार्यपालिकाबाट निर्णय गरेका छौं । भने यही अवस्था रहने हो भने स्थिति नियन्त्रण बाहिर जानसक्छ । त्यस्तो बेलामा विकासका काम, रोजगारीभन्दा पनि जनताको जिउधनको सुरक्षामा केन्द्रीत हुनुपर्ने अवस्था आउनसक्छ ।

हामी त्यस्तो अवस्थामा राहतका कार्यक्रम अवश्य ल्याउँछौं । तर हाम्रो आन्तिरक स्रोत छैन । हामी भर पर्नुपर्ने माथिल्लो तहका सरकारहरुसँग नै हो । मैले अघि भनेजस्तै पर्याप्त बजेटको व्यवस्था गरिदिनुपर्छ ।अनि हामीलाई कोभिडबाट प्रभावित नागरिक र अन्य क्षेत्रहरुलाई सही ठाउँमा ल्याउन सहज हुन्छ । बजेट कार्यान्वय गर्नेगरी लागौँ । जनताको जीउधनका साथै गास, बास कपासको ग्यारेन्टी गरौँ ।

आगामी आर्थिक वर्षमा यहाँहरुको प्राथमिकता के हुन्छ ?

हाम्रो आगामी आर्थिक बर्षको बजेट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर ल्याउँछौ । पहिलो कुरा जनतालाई बचाउनु राज्यको कत्र्यव्य हो । अस्पताल निर्माणसँगै कोरोना परीक्षणको दायरा बढाउनेतर्फ हाम्रो बजेट केन्द्रीत हुनेछ । त्यसका साथै कोभिड १९ बाट प्रभावित क्षेत्रमा केन्द्रीत हुन्छ । भने विकासका काममा पपनि बजेट छुट्याइने छ । समग्रमा भन्नुपर्दा अन्य क्षेत्रभन्दा हाम्रो आगामी बर्षको बजेट स्वास्थ्यमा केन्द्रीत हुनेछ ।

विकासका कामहरु कसरी संचालन भइरहेका छन् त ?

हामीले जुन विकास निर्माणका काममा सम्झौता गरेका छौं नी, ति काममध्य ९० प्रतिशत काम सकिएर पनि भुक्तानी भइसक्यो । तीन वटा सडक निर्माणका कामहरु अहिले संचालनमा छन् । ति काम पनि जेठको १५ सम्म सकिने छन् । भने अन्य कामहरु त हाम्रा करिब सकिएको अवस्था छ ।

केही विकास निर्माणको कामहरु टेण्डर प्रक्रियामा छन् । हामी निर्वाचित भइसकेपछि हामीले सबै वडामा सडक सञ्जाल पुर्याएका छौं । विद्युत विस्तारको लागि ग्रामीण विद्युतिकरणसँगको सहकार्यमा काम भइरहेको छ । अबको एक बर्षभित्र सबै वडामा विद्युत पनि पुग्छ । भने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि धेरै परिवर्तन भइरहेको छ । तर भौगोलिक विकटताका कारण विकास निर्माणका काम गर्न धेरै खर्चिलो छ । हामीसँग पर्याप्त बजेट छैन ।

युवालाई रोजगारी दिने केही योजना पनि छन् की ?

हामी आफैले त प्रत्यक्ष रोजगारी दिने अवस्था छैन । हामीले विभिन्न सीपहरु सिकाएर स्वरोजगार बनाइरहेका छौं । यहाँका अधिकांश युवाहरु रोजगारीका लागि भारतमा जान्छन् । प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम र संघ सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्र मार्फत केही युवाहरुलाई जोडौं भनेर लाग्यो । तर सुचिकरण गर भनेर हामीलाई भनिन्छ ।

त्यतीबेलासम्म भारतमा रोजगारीमा गएका युवाहरु गाउँमा आइसकेका हुँदैनन् । अनि हामीले भनेका युवाहरुलाई रोजगारी हुँदैन । खाली आफ्ना कार्यकर्ता भर्ती गर्ने काम भएको छ । यो के रोजगारी भन्ने ? तथापी हामी पालिकाकको तर्फबाट भने कृषि पशुपालनको क्षेत्रमा ५० प्रतिशत अनुदानका कार्यक्रमहर ल्याएर स्वरोजगार बनाउने प्रयास गरिरहेका छौं ।

 

तपाईको प्रतिक्रिया