काठमाडौँ । बंगालको खाडीमा रहेको ‘यास’ नामक चक्रवातको प्रभावका कारण नेपालका अधिकांश स्थानमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाको दाबी छ । अपराह्नतिर देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । चक्रवातको प्रभावका कारण प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।
त्यसैगरी राति भने देशका अधिकांश स्थानमा आंशिक बदली रहने तथा केही भागमा वर्षाको सम्भावना छ भने प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ ।
युग संवाददाता । । १२ जेष्ठ २०७८, बुधबार १२:०१