दुर्गममा अझैं संचालनमा आएनन् अक्सिजन प्लान्ट

संक्रमितलाई उपचार गर्न जिल्ला बाहिर नै पठाउनुपर्ने बाध्यता

सुर्खेत । गत बैशाख ३१ गते हुम्लाबाट एकजना कोरोना संक्रमितलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइयो । जिल्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि जुम्लामा रिफर गरियो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा प्रमुख प्रेमबहादुर सिंहकाअनुसार ति संक्रमितलाई हुम्लाबाट जुम्ला पठाउन साढे नौ लाख रुपैयाँ खर्चनु प¥यो । साढे नौ लाख मध्ये आधा गाउँपालिका र आधा रकम संक्रमितले व्यहोर्ने सहमति छ । संक्रमतिको अवस्था हाल सुधार भएको छ । उनलाई जुम्ला रिफर गर्नुको एकमात्र कारण जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन नहुनु हो । त्यहाँ प्लान्ट सञ्चालनका मेसिनहरु पुगि सकेका छन् ।

तर जडानको कुनै टुङ्गो छैन । पछिल्लो समय हुम्लामा पनि संक्रमतिको संख्या बृद्धि हुँदा तत्काल अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने बाध्यता छ । त्यस्तै रुकुमपश्चिमको अवस्था पनि उस्तै छ । वैशाखयता मात्रै ६ जना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि रिफर गरिएको छ ।

तिमध्ये आइतबार मात्रै जिल्लाबाट दुईजना कोरोना संक्रमितलाई रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकलपर्शन ईश्वर रावलले बताए । संक्रमण बढ्दै जाँदा जटिल प्रकृतिका संक्रमित बढ्न थालेका छन् । अक्सिजन अभावकै कारण जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । गाडीबाट संक्रमितलाई अन्य जिल्लामा रिफर गर्दा मृत्यु हुनसक्ने खत्तराका कारण हेलिकोप्टर नै चार्टर गर्नु परेको हो ।

जिल्लाबाट रिफर गरिएका संक्रमितलाई काठमाडौं, नेपालगञ्ज, पोखरा र बुटवल पु¥याउने गरिएको छ । संक्रमितले सातदेखि नौ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । संक्रमितले अक्सिजन अभावमा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता भइरहँदा जिल्ला अस्पतालमा भने मेसिन पुगेको एक महिना भइसक्दा पनि प्लान्ट सञ्चालनमा आएको छैन ।

कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँमा खरिद गरेको अक्सिजन उत्पादन मेसिन थन्काउनु परेको छ । अक्सिजन प्लान्ट जडानको काम नहुँदा अस्पतालको मेसिन थन्किएको छ । प्लान्ट सञ्चालन गर्न अझै हप्तादिन लाग्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय बताउँछ । ‘प्लान्ट जडानको काम भइरहेको छ’ कोरोना फोकलपर्शन रावलले भने, ‘हप्ता दिनपछि मात्रै सञ्चालनमा ल्याउने तयारी छ ।’ प्लान्ट सञ्चालन नआउँदा संक्रमितको उपचारका लागि दाङ, बुटवल र नेपालगञ्ज लगायतका शहरबाट अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता छ ।

अक्सिजन अभावकै कारण नहुँदा हाइफ्लो अक्सिजन दिनुपर्ने संक्रमितलाई जिल्ला बाहिर पठाउनु परेको हो । रुकुमपश्चिम र हुम्लामा मात्रै होइन, मुगु, डोल्पा र जाजरकोटको अवस्था पनि उस्तै छ । ति जिल्लाहरुमा महामारी सुरु भएको महिना दिनसम्म पनि प्लान्ट सञ्चालन भएका छैनन् । केही जिल्लाले अक्सिजन प्लान्ट उत्पादन गर्ने मेसिन जिल्ला अस्पतालमा थन्काएका छन् । कुनै जिल्लाहरुमा खरिदको प्रक्रिया सुरु भएको छ । कर्णालीका दश जिल्ला मध्ये सुर्खेत र जुम्लामा मात्रै अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । बाँकी जिल्लामा प्लान्ट नभएकै कारण त्यहाँका संक्रमितलाई अक्सिजनकै लागि रिफर गर्नुपर्ने बाध्यता छ ।

उसो त कर्णालीका प्रदेशको राजधानी सुर्खेतबाट पनि जटिल प्रकृतिका संक्रमितहरु हेलिकोप्टर चार्टर गरे काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा जाने गरेका छन् । यद्यपी पछिल्लो समय कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितको उद्दारका लागि हेलिकोप्टर चार्टर गर्ने निर्णय गरेको छ ।

तर कार्यान्वयनमा आएको छैन । यता कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले भने जनशक्ति अभावका कारण प्लान्ट जडानमा समस्या भएको बताएको छ । ‘अधिकांश जिल्लामा प्लान्ट सञ्चालन गर्ने मेसिन पुगिसकेका छन्, तर जडानका लागि जनशक्ति र पाइपलाइनको अभाव छ’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्शन नोदनाराण चौधरीले भने, ‘सबै जिल्लामा एकै पटक प्लान्ट जडान गर्नुपर्दा समस्या आएको हो ।’

डोल्पामा ठेक्का प्रक्रिया रद्द

डोल्पामा अक्सिजन प्लान्ट जडानको ठेक्का प्रक्रिया नै रद्द भएको छ । माग गरिएकोभन्दा फरक मेसिन पुगेपछि ठेक्का प्रक्रिया रद्द गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।

‘सल्यान र हाम्रो मेसिन एउटै परेछ’ कोरोना फोकलपर्सन टेकबहादुर गुरुङले भने ‘ठेक्का रद्द भयो, अब सिलिण्डर किनेर काम चलाउनुपर्ने भयो ।’ सल्यान अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर मेसिन झिकाएपछि त्यहाँ विवाद छ । सल्यान र डोल्पाको एउटै ठेकेदारले एउटै मेसिन ल्याएपछि ठेक्का रद्द गरिएको हो ।

प्लान्ट सञ्चालन गर्ने योजना असफल भएपछि अस्पतालले एकसय १८ वटा अक्सिजन सिलिन्डर खरिद गरेको छ । जसमध्ये सोमबार मात्रै नौं वटा अक्सिजन नेपालगञ्जबाट जिल्लामा झिकाइएको छ । नेपालगञ्जबाट अक्सिजन डोल्पा पु¥याउन झण्डै हप्तादिन लाग्ने गर्दछ । आउन जान चारदिन र पालो कुर्दासम्म हप्ता दिन लाग्ने गर्दछ ।

यही कारण हाइफ्लो अक्सिजन चाहिने संक्रमितहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था छ । डोल्पामा हाल सात जना संक्रमितहरु अस्पतालमा भर्ना भएका छन् । ति मध्ये तीन जनालाई नियमति अक्सिजन चडाउनुपर्ने अवस्था छ । अक्सिजन सिलिन्डर नहुँदा त्यहाँ अक्सिजन कक्सन्ट्रेटरबाट संक्रमितलाई अक्सिजन दिने गरिएको छ ।

अक्सिजन माग्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

सुर्खेतका केही युवाहरूले अक्सिजन सिलिण्डरको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन् । ‘दैनिक २५० सिलिन्डर अक्सिजनको व्यवस्था गर’ ‘जिम्मेवार बन सरकार’, ‘इनफ इच इनफ’ लेखिएका प्लेकार्ड बोकेर उनीहरु धर्नामा बसेका हुन् ।

कोरोना संक्रमितलाई आवश्यक अक्सिजनको आपूर्ति गर्न दवाव दिने उद्देश्यले धर्ना गरिएको युवा अनिल ढकालले जानकारी दिए । प्रदेश सरकार कोरोना संक्रमित नागरिकको स्वास्थ्य उपचारमा जिम्मेवार नभए आमरण अनशन बस्न बाध्य हुनेसमेत युवाहरुले चेतावनी दिएका छन् । संक्रमित बढेसँग कर्णालीमा अक्सिजनको अभाव छ । अक्सिजन अभावमा संक्रमितको ज्यान जान थालेपछि सरकारलाई दबाव दिन उनीहरुले धर्ना दिएका हुन् ।

तपाईको प्रतिक्रिया