घरमा बसेका संक्रमितलाई टेलिफोनबाटै स्वास्थ्य परामर्श

सुर्खेत । शुक्रबार विहान १० बजेको थियो । वीरेन्द्रनगर–८ का २१ बर्षे कोरोना संक्रमित कोठामा एक्लै टोलाएर बसिरहेका थिए । त्यहीबेला उनको मोवाइमा घण्टी बज्यो । फोन उठाउनसाथ उताबाट आवाज आयो, नमस्कार । म काठमाडौँबाट फलानो व्यक्ति बोल्दैछु ।

के छ तपाइँको हालखबर ? संक्रमण भएपछिको अवस्था कस्तो छ ? कुनै अप्ठेरो त छैन नि ? कुनु–कुन लक्षण देखिएका छन् ? खाना मन लाग्छ कि लाग्दैन ? जिब्रोको स्वाद हराएको छ ? आजसम्म कुनै औषधी प्रयोग गर्नु भएको छ, कि छैन ? अप्ठेरो भएपछि हामीलाई फोन गर्नुहोला है । स्वासप्रश्सासमा समस्या देखिए तुरुन्त अस्पताल जानुहोला अथवा डाक्टरको सल्लाह लिनुहोला ।

घरपरिवारलाई संक्रमण सर्नसक्छ । ध्यान दिनुहोला । १४ दिनसम्म घरबाहिर ननिस्कनु होला । यि र यस्तै प्रश्नहरु सोधे र सम्झाउन थाले । महामारीको समय छ । चिन्ता नमान्नुहोला । तपाइलाई ठिक भैहाल्छ । ति संक्रमितलाई विषयमा यतिधेरै सोधीखोजी गर्ने र सम्झाउने व्यक्ति हुन् काठमाडौँ विश्वविद्यालयका परामर्शदाता । ति संक्रमितलाई मात्रै होइन, हिजोआज कर्णाली प्रदेशमा होमआइसोलेसनमा बसेका संक्रमितलाई यस्तै फोन आउँछ ।

सन्चो र विसोन्चो सोध्छन् । चिन्ता नमान्न आग्रह गर्छन् । डाक्टरको प्रत्यक्ष निगरानीमा बस्न सल्लाह दिन्छन् । झोलिको खान सुझाव दिन्छन् । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने खानाहरुको विषयमा बताउँछन् । एक्लै बस्दा दिक्क लाग्न सक्छ । मनपर्ने किताव पढ्नुहोला, गीति कथाहरु सुन्नुहोला । रमाइला फ्लिमहरु हेर्नुहोला । साथीभाइसँग कुराकानी गर्नुहोला । १४ दिन त यसै वितिहाल्छ ।

तपाइँलाई केही हुँदैनन् भन्दै सम्झाउँछन् । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गरेको कोरोना नियन्त्रण परियोजनामा कार्यरत ति स्वास्थ्यकर्मीहरुले होमआइसोलेसनमा बसेका सबैलाई यसरी नै परामर्श दिन्छन् । कर्णाली प्रदेश सरकारको समन्वयमा उनीहरुले एक हप्तादेखि परामर्श दिँदै आएका छन् । होमआइसोलेसनमा बसेका संक्रमितलाई परामर्श दिनका लागि ३२ जना परामर्शदाता खटिएका छन् ।

जनस्वास्थ्य र वार्डनर्सिङ विषय अध्ययन गरेका उनीहरुले संक्रमितको स्वास्थ्य अवस्था, हुनसक्ने सम्भावित खत्तरा र अपनाउनुपर्ने उपायहरु सिकाउँछन् । परिवारका अन्य सदस्यलाई संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानीहरु, शरीरलाई शक्ति प्रदान गर्ने खानाहरु र दिमागलाई तनावमुक्त हुन नदिने उपायहरु सिकाउँछन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार परामर्शका लागि थप १५ जना पनि खटिन थालेका छन् । होमआइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले काठमाडौं विश्वविद्यालयको सहयोगमा परामर्शदाताहरु खटाएको हो ।  कर्णालीका हरेक जिल्ला स्वास्थ्य कार्यालयहरुले कर्णालीका होमआइसोलेसनमा बसेका व्यक्तिहरुको सम्पर्क नम्बरहरु उपलब्ध गराउँछन् । सम्पर्क नम्बर पाएपछि परामर्शदाताहरुले टेलिफोनबाट संक्रमितलाई परामर्श दिने गर्दछन् ।

वीरेन्द्रनगरका हरेक वडामा परामर्शदाता र फोकलपर्सन

वीरेन्द्रनगर गरपालिकाले पनि हरेक वडामा कोरोना फोकलपर्सन र परामर्शदाता खटाएको छ । संक्रमितको रेखदेख र आवश्यक सल्लाह, सुझाव दिने उद्देश्यले फोलकपर्शन र परामर्श दाताहरु खटाएको हो । परामर्शदाताहरुले टेलिफोनबाट संक्रमितको अवस्था बुझ्नेछन् भने फोकलपर्शनलाई संक्रमितलाई अप्ठेरो परेको खण्डमा उद्दार तथा आवश्यक सरसल्लाह दिने गर्दछन् ।

वीरेन्द्रनगरका परामर्शदाताहरुले प्रायः हरेकदिन संक्रमितको अवस्था बुझ्ने गरेका छन् । संक्रमितलाई अप्ठेरो परेको खण्डमा निःशुल्क उद्दार गरेर अस्पतालसम्म पु¥याउने गरेको नगर उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । कोरोना संक्रमितको उपचारका लागि वीरेन्द्रनगरले आफ्नै अस्पतालसमेत सञ्चालन गरेको छ । हाल नगर अस्पतालमा ६ जना संक्रमित उपचाररत छन् ।

कर्णालीमा ६ हजार संक्रमित घरमै

कर्णालीमा ६ हजार संक्रमित घरमैसुर्खेतको वीरेन्द्रनगरमा दुई हजार दुईसय ६८ जना संक्रमित घरमै छन् । सार्वजनिक आइसोलेनस नभएका कारण उनीहरु घरमै बसेका हुन् । सल्यानको शारदा नगरपालिकामा पनि एकसय ६५ जना संक्रमित घरमै बसेका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा पनि एकसय ५८ जना सक्रमित घरमै छन् । त्यहाँ पनि सार्वजनिक आइसोलेसन छैन । सबैलाई अस्पताल भर्ना गर्न सम्भव नभएपछि उनीहरु होम आइसोलेसनमा बस्न बाध्य छन् । सुर्खेत, सल्यान र कालिकोटका संक्रमित मात्रै होइन, हाल कर्णालीका ६ हजार दुईसय तीन जना संक्रिय संक्रमितहरु घरमै बसेका छन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार संक्रमित मध्ये सुर्खेतका मात्रै तीन हजार ३५ जना घरमै बसेका छन् । कालिकोटका तीनसय १७ जना, जाजरकोटका चारसय २७ जना, सल्यानका ६ सय ९९ जना, रुकुमपश्चिममा पाँचसय सातजना, जुम्लामा चारसय १५ जना, डोल्पामा ८६ जना, मुगुमा एकसय आठ जना र हुम्लामा ७२ जना संक्रिमित होम आइसोलेसनमै बसेका छन् ।

संक्रमति घरमै बस्नु जोखिमपूर्ण मानिन्छ । तर जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पतालले भर्ना लिइन्छ । सार्वजनिक आइसोलेसनको अभावका कर्णालीका ६ हजारभन्दा बढी संक्रमित घरमै बस्न बाध्य भएका हुन् ।

तपाईको प्रतिक्रिया