‘जागिरबाट अवकाश पाएपछि गाउँमै कृषिमा रमाउने छु’

पछिल्लो समय कृषि पेशाप्रति लगाव घट्दै गएको छ । अधिकांश युवाहरु खेतबारी बाँझो राखेर विदेशमा छन् । स्वदेशमै हुनेहरुले पनि कृषि पेशा छोडिसकेका छन् । तर जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा काठमाडौंमा कार्यरत सुर्खेतका निराजन सापकोटा भने जागिरको अवधि पुरा भएपछि कृषि पेशा नै गर्ने योजनामा छन् । कृषिमा उनले धेरै सम्भावनाहरु पनि देखेका छन् । प्रस्तुत छ, उनै सापकोटाको जीवन भोगाइ र निजामति क्षेत्रको अनूभवबारे गरिएको कुराकानीको सम्पादित अंश :

निराजन सापकोटा
वरिष्ठ मौसमविद्, जल तथा मौसम विज्ञान विभाग, काठमाडौं

परिवारको आँखा छलेर खेल्न थान्थे

निराजन बुवा इन्द्रप्रसाद र आमा डिलादेवी सापकोटका कान्छो सन्तान हुन् । २०३६ साल बैशाख ३० गते सुर्खेतको पञ्चपुरी–९ विद्यापुरमा उनको जन्म भएको हो । उनको बाल्यकाल विद्यापुरमै वित्यो । मध्यमपरिवार जन्मिएका उनले अभावहरु भोग्नु परेन । अभिभावकको कडा निगरानीमा बाल्यकाल बेतित गरे । गाउँघरमा हुने चाडपर्व, मेला महोत्सवमा समेत सहभागी हुन पाएनन् ।

‘सानोमा अर्काको घर र मेला महोत्सवमा जानै पाउँथेनौँ’ उनी भन्छन्, ‘कहिलेकाँही लुकीलुकी साथीभाइसँग खेल्न जान्थँे ।’ उनी बुवाआमाको आँखा छलेर मात्रै साथीभाइसँग खेल्न जान्थे । साथीभाई र शिक्षकहरु उनका खेल्ने साथीहरु हुन्थे । गाउँमा भर्खर चेस खेल्ने चलन आएको थियो । ‘फुर्सदमा प्रायः शिक्षकसँग चेस खेल्थँे’ उनी भन्छन्, ‘साथीभाइसँग कमै मात्रामा रमाउन पाइन्थ्यो ।’ दौतरीसँग टालाटुलीका बल बनाएर खेलेको आज पनि जातै छ ।

उनको घरमै शिक्षक !

पढाइमा कहिले पनि फेल नभएका निराजन मध्यमस्तरका विद्यार्थी हुन् । जे पढ्थे बुझेर मात्रै पढ्ने । तर थोरै समय पढ्थे । ‘बुवाआमाले घरमै शिक्षक राख्नु भएको थियो’ उनी भन्छन्, ‘घरमा पढ्ने तालिका नै थियो, तर म थोरै पढ्थँे, बुझेर मात्रै पढ्थँे ।’ संकृत विषय उनलाई निकै कठिन लाग्थ्यो । ऊबेला कक्षा ७ सम्म संस्कृत विषय पढाइ हुन्थ्यो ।

‘संस्कृतका लय र पढ्न धेरै कठिन लाग्थ्यो’ उनी भन्छन्, ‘तर गणित र विज्ञान निकै सजिला लाग्थे ।’ संस्कृत नजानेका कारण उनले धेरै पटक शिक्षकको कुटाइ खानु परेको छ । घरमा शिक्षक बस्ने भएका कारण सानैदेखि शिक्षकको छत्रछहारीमा पढ्ने मौका पाए । कक्षा १ देखि १० सम्म जनता मावि विद्यापुरमा पढेका निराजनले काठमाडौँबाट उच्च शिक्षा पुरा गरेका छन् ।

२०५२ सालमा एसएलसी उत्तीर्ण गरेको उनले पाटन क्याम्पस ललितपुरबाट आईएसी, त्रिचन्द्र क्याम्पसबाट वीएसी र त्रिभुवन विश्वविद्याद्यबाट जलवायु विज्ञानमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन् । पढाइका अलवा उनी हाजिरीजवाफ प्रतियोगितामा विशेष रुचि राख्थे ।

अनि जलवायु विज्ञान पढे…

निराजन सानैदेखि नयाँ र अरुभन्दा फरक कामहरु गर्न रुचाउँथे । २०५३ सालमा उच्च शिक्षा अध्ययन गर्न उनी काठमाडौं पुगे । एसएलसीमा उनको विद्यालयबाट परीक्षामा ५६ जनामध्ये उनीसहित चार जना मात्रै पास भएका थिए । उबेला पढाइमा अब्बल विद्यार्थीहरुले विज्ञान विषय पढ्नुपर्छ भन्ने मान्यता थियो ।

उसो त गणित र विज्ञान विषय उनको रुचिका विषय थिए । जसकाकारण उनले विज्ञान (आइएसी) विषय पढे । आइएसी पुरा भएपछि वातावरण विज्ञानमा वीएसी पढ्ने योजना बनाए । तर त्रिचन्द्र क्याम्पस पुगेपछि उनलाई जलवायु विज्ञान विषयको प्रचार सामग्री पाए । क्याम्पमा भर्ना खुलेको बेला स्ववियूका विद्यार्थीहरुले आ–आफ्नो संकायका प्रचार–प्रशार गर्थे । त्यही प्रचार सामग्री उनको हातको प¥यो । नयाँ विषयको पाएपछि त्यही प्रचार सामग्री बोकेर कोठामा पुगे । अग्रजसँग सोधीखोजी र सरसल्लाह गरे ।

अन्ततः आएसीसम्म जलवायु विषय नै नसुनेका उनले त्यही विषयमा स्नातकोत्तरसम्म अध्ययन गरे । ‘आइएसी सकिदासम्म जलवायु विज्ञानको विषय अध्ययन हुन्छ भन्ने सुनेकै थिएन’ उनी भन्छन्, ‘त्रिचन्द्र क्याम्पस पुगेपछि मात्रै जलवायु विषय पढाइ हुन्छ भन्ने थाहा पाएँ ।’ अरुभन्दा नयाँ गर्नुपर्छ भन्ने मान्यताकै कारण जलवायु विज्ञान अध्ययन गरेको उनी बताउँछन् ।

‘जलवायु पढेर के हुन्छ भन्ने नै थाहा थिएन’ उनी भन्छन्, ‘नयाँ विषय पढ्नुपर्छ भन्ने लाग्यो, अनि पढिहालेँ ।’ उबेला देशभरबाट १५ जना विद्यार्थीले मात्रै जलवायु पढ्न पाउँथे । उनले जलबायु विषयमै स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन् ।

ख्यालख्यालमै जागिर

२०६२ तिर निराजनले औपचारिक पढाइ पुरा गरे । पढाइ सकिएपछि जागिर खानुपर्छ भन्ने लागेको थियो । तर जागिरका लागि तयारी थिएन । संयोगले त्यहीबेला लोकसेवा आयोगले सुर्खेतका लागि जलवायु प्राविधिक (सुब्बा) माग्यो । परीक्षा दिए । तर पास हुनेमा ढुक्क थिएनन् । ‘तयारी गरेकै थिइँन, यसो ट्राइ गरौँ भनेको फ्याट्टै नाम निस्क्यो’ उनी भन्छन्, ‘पास हुन्छु भन्ने लागेकै थिएन, ख्लालख्यालमै जागिर खाएँ ।’

मौसन पूर्वानुमान कार्यालय डढेल्धुरबाट निजामति जागिर सुरु गरे । तर चिसो मौसमका कारण करिव सात महिना मात्रै त्यहाँ विताए । स्वास्थ्यले साथ नदिएपछि काजमा सुर्खेत बसे । २०६६ सालमा अधिकृतमा उत्तिर्ण भए । जुन समय जीवनको सबैभन्दा खुशीको क्षण बन्यो ।

‘मेहनत गरेको थिएँ, तर धेरै प्रतिस्पर्धी थियौँ’ उनी भन्छन्, ‘ढुक्क नहुँदा नहुँदै पास भएपछि जीवनमै सबैभन्दा धेरै खुशी भएँ ।’ २०६६ असार १० गतेबाट उनी पोखरा क्षेत्रीय जल तथा मौसम कार्यालयमा खटिए । त्यहाँ बस्दा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । त्यसपछि सुर्खेत सुरुवा भए । २०७१ चैत ७ गते उपसचिव भए । त्योबेला खुल्ला, आन्तरिक र बढुवा गरी तीन वटै परीक्षामा सफल भए । तर बढुवा रोजे ।

झण्डै ७ बर्ष सुर्खेत रहेर सेवा गरे । समायोजनपछि हाल उनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा काठमाडौँमा कार्यरत छन् । दीर्घकालीन सहारा हुने भएकै कारण निजामति क्षेत्रमा आएको उनको भनाइ छ । ‘बुढेशकालको सहारा (पेन्सन) पाइन्छ भनेर निजामति क्षेत्रमा लागेको हुँ’ उनी भन्छन्, ‘दाइ र दिदी पनि निजामतिमै हुनुहुन्थ्यो, मैले पनि यही रोजे ।’ उसो त उनका बुवा अवकाशप्राप्त भारतीय सैनिक हुन् । बुवाले बुझ्ने पेन्सनबाटै आफूहरु प्रभावित भएको निराजनले बताउँछन् ।

अवकाशपछिको योजना

जागिरको अवधि सकिएपछि भने कृषि पेशामा रमाउने उनको योजना छ । ‘जागिर त समय कटाउने माध्यम मात्रै भयो’ उनी भन्छन्, ‘अवकासपछि कृषि पेशा अंगाल्ने योजना बनाएको छु ।’ अवकाशपछि गाउँमा व्यवसायिक कृषि पेशा गर्ने उनको योजना छ ।

समयले साथ दिए व्यापार व्यवसाय पनि गर्ने रहर छ । उनी सानो हुँदा विद्यापुरमै आमाले कृषि र बुवाले व्यापार व्यवसाय गर्थे । बुवाआमाबाट प्रभावित भएका उनले अवकाशपछि कृषि र व्यापार गर्ने योजना सुनाए । व्यापारभन्दा पनि व्यावसायिक कृषिमा उनले धेरै सम्भावना देखेका छन् ।

 

तपाईको प्रतिक्रिया