संक्रमितलाई परामर्श दिन उपमेयर ढकाल दैलोदैलोमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका स्वास्थ्यकर्मी र नगर उप–प्रमुख माेहनमाया ढकाल वडा/वडामा भएका कोरोना संक्रमितका घरमा पुगेका छन ।

कर्णाली प्रदेशभर सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै वीरेन्द्रनगरमा छन् । त्यसमा पनि धेरै होम आइसुलेसनमा बसेकालाई स्वास्थ्य परामर्श दिन वडा/वडामा उपप्रमुखसहितको टोली पुगेको हो ।

‘वीरेन्द्रनगरका कोरोना संक्रमित अहिले होम आइसुलेसनमा धेरै हुनुहुन्छ,’ उपमेयर ढकालले भनिन्, ‘वीरेन्द्रनगरका सबै वडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र जनप्रतिनिधि घरघर पुगेर औषधि वितरण गर्दै उहाँहरुको स्वास्थ्यबारे जानकारी लिँदै परार्मश दिने गरेका छौं ।’ ‘जसले गर्दा संक्रमितहरुको मनोबल उच्च भएको छ अस्पतालमा पनि संक्रमितको संख्या केही कम भएको छ ।‍’

नगरपालिकाको ध्यान अस्पताल व्यवस्थापनसँगसँगै होम आइसुलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्था बुझेर दैनिक परामर्श दिने गरेको नगरपालिकाले जनाएको छ ।

कोरोनाविरुद्धको लडाइँमा सबैको सहकार्य आवश्यक भएको भन्दै सुरक्षाको विधि अपनाउँदै निषेधाज्ञाको पालना गर्न पनि अनुरोध गरिएको छ । यसका साथै स्वास्थ्यमा समस्या देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीसँग सम्पर्क गरी स्वास्थ्यसम्बन्धी जानकारी लिन नगरपालिकाको सबैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया