काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई पुनः बदर गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले बदर गर्ने बताएका हुन् ।
अदालतबाट विगतको झैँ संसद विघटन सदर नहुने उनले बताए। संसद विघटन असंवैधानिक कदम भन्दै प्रचण्डले त्यसविरुद्ध आफूहरू अदालत जाने बताए ।
‘संसद विघटनको यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ । यो कदमविरुद्ध सर्वोच्च जान्छौँ। हिजो १४९ जनाले दाबी प्रस्तुत गरेका थियौं उहाँहरू सबैको हस्ताक्षरसहित सर्वोच्च जान्छौँ’ प्रचण्डले भने ।
अदालतले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट निवेदन लिएर गइसकेपछि पुनः संविधानको रक्षामा उनले विश्वास व्यक्त्त गरे । अदालतले फेरि एकपटक संविधानका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको भन्दै उनले यसअघि नै त्यो प्रमाणित भइसकेको बताए ।
युग संवाददाता । । ८ जेष्ठ २०७८, शनिबार १४:५५