ताजा खबर
  

पानी प्यास लागेपछि भएको त्यो पहिलो भेट…

जहाँ विश्वास, त्यहाँ माया । तर माया गर्ने सबैले विश्वास भने गर्न सक्दैनन् । यही विश्वासको कमिले धेरैका प्रेमहरु टुट्छन् । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो जोडीको प्रेम सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै आफ्नो मायालाई सफल बनाएका जोडी हुन् मानबहादुर विसी र मनरुपा विसी । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश

फुपुको घरमा जाँदा चिनजान

मनरुपा मानबहादुरको फुपुको छिमेकी हुन् । मानबहादुर फुपुको घरमा गइरहन्थे । उनको फुपुको घर सुर्खेतको घुस्रामा थियो । मानबहादुर २०५३ सालको कृष्णजन्माअष्टमीको दिन फुपुको घरमा गएका थिए ।

उनलाई साह्रै पानी प्यास लागेपछि उनले मनरुपाको घरमा गएर पानी मागे । मनरुपा र मनरुपाको साथीहरु घरमा बसिरहेका थिए । उनले एक अम्खोरा पानी दिइन् । मानबहादुर पानी खाउन्जेल त्यहाँ नै बसे । उनको नजर केहीबेरसम्म मनरुपामा परिरहेको थियो । मानबहादुरले भित्रैभित्रै मन पराए ।

मानबहादुरको घरमा पनि बिवाहको कुरा चलिरहेको थियो । त्यसपछि मानबहादुर मनरुपालाई हेर्नकै लागि पनि फुपुको घरमा जाने निहुँ बनाउन थाले । अधिकांश समय फुपुको घरमा जान थाल्नुको कारण थियो मनरुपालाई देख्ने । उनी मनरुपासँग विभिन्न बहानामा बोल्न थाले । उता मनरुपालाई उनका साथीहरुले जिस्क्याउथेँ, अब तिम्रो त बिवाह हुन्छ क्या भनेर ।

अनि मनरुपाले जवाफ दिइन्…

मानबहादुरले मनरुपालाई मन पराएको कुरा भन्न चाहन्थे । उनले घरपरिवारसँग भनौं की भनेर सोचे । तर त्यसरी भन्न हुन्न भन्ने सोचे । त्यसपछि उनले एउटा प्रेमपत्र लेखेर पठाए । मनरुपा साच्चिकै आफ्ना साथीहरुले भनेको जस्तै भयो भनेर दङ्ग परिन् ।

पत्रको जवाफ दिन उनले उचित ठानिनन् । यता मानबहादुरको मनमा चस्को पस्यो । मेरो पत्रको जवाफ किन आएन होला ? भनेर । उनले सोचे, म त्योदिन पानी पिउन नगएको भए सकभर यती धेरै मायाको प्यास लाग्ने थिएन होला । उनी अर्को निर्णयमा पुगे । फेरी मनरुपालाई प्रेमपत्र कोरे ।

मनरुपाले दुइदुई वटा पत्र किन लेखेको होला ? उनको मनमा प्रश्न उब्जियो । उनले आफ्ना मन मिल्ने साथीहरुसँग सबै कुरा बताइन् । उनको साथीहरुले त्यो पत्र पढे । तिमीलाई राम्रो हुन्छ भनेपछि मनरुपाले त्यो पत्रको जवाफ दिइन् । आफुले पनि माया गर्ने बताइन् । त्यसपछि मानबहादुरले यो कुरा आफ्नो घरपरिवारमा राखेपछि उनको बुवा हात माग्न मनरुपाको घरमा पुगे ।

भागि विहे

मानबहादुर र मनरुपाको बिवाहको लागि दुबै पक्षका घरपरिवारको सहमति बन्यो । परिवारले केही बर्ष कुरेर बिवाह गर्ने सहमति गरेका थिए । तर उनीहरु भने भागेर बिवाह गर्नपुगे । चिनजान भएको तीन बर्षपछि २०५७ सालमा उनीहरुले भागी विहे गरे ।

उनीहरु अहिले भन्छन, सबैको सहमती भए पनि आफुहरुलाई सँगै बस्ने रहर पलाएपछि भाग्यौँ । साँचो माया गर्नेलाई छुट्टै बस्न मन लाग्दो रहेन्छ । बिवाह गर्दा मानबहादुर २४ बर्षका थिए भने मनरुपा १९ बर्षकी थिइन् ।

बिवाहपछि संघर्ष

मानबहादुर र मनरुपाले बिवाहपछि धेरै संघर्ष गर्नुपर्यो । मानबहादुर त बिवाह अघि नै दुख पाएका । उनी १० बर्षको हुँदा नै उनको आमाको निधन भएको थियो ।
घरमा बुवा र भाइबहिनीसँग उनले मेहेनत र संघर्ष गर्दै आएका थिए ।


मनरुपाले भने धेरै संघर्ष नगरे पनि घरको सबै जिम्मेवारी बिवाहसँगै लिनुपर्ने अवस्था आयो । १९ बर्षकी उनी केही थाहा पाउँन्थिनन् । त्यतीबेलासम्म उनको पढाइ एसएलसी पाससम्म थियो । घरको सबै जिम्मेवारीका कारण उनले पढाइलाई रोक्नुपर्यो । यता, मानबहादुरले भने प्लस २ गरिसकेका थिए । घरको आर्थिक अवस्था पनि त्यती राम्रो थिएन ।

मानबहादुरले नीजि विद्यालयमा पढाउँदै जेनतेन आफ्नो पढाइ खर्च निकालेका थिए । एकातिर आफ्नो पढाइ पुरा गर्नुपर्ने अर्कोतर्फ बहिनीहरुलाई पढाउनुपर्ने उनको लागि धेरै चुनौती थियो । यी चुनौती पार गर्न मानबहादुरले संघर्ष गरिरहे । उनको संघर्षमा मनरुपाले पनि साथ दिइन् । उनी व्याचलर पढ्न काठमाडौं गए । त्यतीबेला उनीहरुको बच्चाबच्ची पनि जन्मिएका थिए ।

मनरुपालाई घरपरिवार चलाउनुपर्ने आर्थिक समस्या परिरहन्थ्यो । छोराछोरी साना उनीहरुलाई स्याहार गर्नुपर्ने अर्को समस्या थियो । उनले घरमा पशुचौपायसँगै कृषि गरेर घरखर्च टार्थिन् । मानबहादुर व्याचलर सकेर सुर्खेत आए । उनले फेरी एउटा नीजि विद्यालयमा पढाए । त्यतीले खाना खर्च टार्न ठिक्क हुन्थ्यो । उनले पढाउँदै शिक्षक सेवा आयोगको तयारी गरे । २०६१ सालमा उनी स्थायी शिक्षक भए ।

अनि उनले मनरुपाको पढाइलाई पनि निरन्तरता दिन लगाए । उनले पनि प्लस टु पास गरिन् । अहिले मनरुपाको पनि साना किसान सहकारीमा जागिर छ । लामो संघर्षपछि उनीहरु सफलता पुगे । राम्रो घर बनाए । उनीहरुका दुई भाइबहिनी छोराछोरी छन् ।

फुर्सदमा घुम्न रुचाउँछन्

यो जोडीलाई नयाँ ठाउँ घुम्न साह्रै मनपर्छ । फुर्सदको समयमा धार्मिकस्थल र पर्यटकीय स्थलहरुमा घुम्न धेरै रुची लाग्छ । उनीहरु घुम्न पनि जान्छन् । मानबहादुरलाई मन परेको ठाउँ देखाउन मनरुपालाई लैजान्छन् । भने भान्सामा पनि एकअर्काबिच सहयोग गर्छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा तुलसिंह बुढा र आमा अमृता बुढाको कोखबाट २०३३ साल जेठ २२ गते हालको गुराँस गाउँपालिका वडा नम्बर ६ मा जन्मिएका मानबहादुरको बाल्यकाल गाउँमै वित्यो । कक्षा ५ सम्म जयजनता मावि जोरेबाँझमा पढेका उनले ६ कक्षादेखि भने शिवमावि घुर्सामा पढेका हुन् ।

आमाको माया सानैबाट नपाएका उनी गम्भिर स्वभावका थिए । समस्याको समाधानमा लागि हाल्ने उनी मेहेनती थिए । घरको सबै काम गरेर उनी पढ्थे । उनी घरको एक्लोे छोरा हुन् । उनले एसएलसी जनमाविबाट गरे भने व्याचलर २०५७ सालमा काठमाडौंबाट गरेका हुन् । यस्तै, बुवा रणबहादुर ओली र आमा रत्ना ओलीको कोखबाट वि.स २०३८ साल जेठ २६ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ रतुमा जन्मिएकी मनरुपा घरको जेठो छोरी हुन् ।

उनको चार भाइबहिनी छन् । ५ कक्षासम्म उनले रतुमै पढिन् । उनको बाल्यकाल सामान्य रुपमा वित्यो । उनले बाल्यकालमा अभाव झेल्नु परेन । साथीहरुसँग खेल्दै उनको बाल्यकाल वितेको हो । उनी दयालु स्वभावकी छन् । ६ कक्षादेखि भने जनसेवा मावि घुस्रामा उनले पढेकी हुन् । बिवाह अगाडी नै एसएलसी पास गरेकी उनले प्लसटु भने बिवाह पछि गरेककी हुन् ।

सल्लाह र सहकार्य

संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । उनीहरु अन्य जोडीलाई पनि हरेक काम गर्दा सल्लाह र सहकार्यमा गर्न सुझाव दिन्छन् । यो जोडीले एकअर्काको बानीलाई असाध्यै मन पराउँछन् । भान्सामा जस्तो खाना पकाए पनि आनन्दले खाने मानबहादुरको बानी मनरुपालाई मनपर्छ । भने आफन्तहरुलाई सम्मान गर्ने मनरुपाको बानी मानबहादुरलाई मनपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार