काठमाडौं । सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दै छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको हाे ।
बैठकका विषयमा संक्षिप्त भनाइ राख्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारी भइरहेकाे बताएकी छन् ।
संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा सहभागी हुन जानेक्रममा उपाध्यक्ष पाैडेलले विपक्षी गठबन्धनले संसद् विघटन विरुद्ध कानुनी लडाइँ लड्ने तयारीका बारे छलफल गरी त्यसबारे ठाेस निर्णय लिन दलका नेताहरुको संयुक्त बैठक बाेलाइएकाे बताइन् ।
शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षर सहित वैकल्पिक प्रधानमन्त्रीको रूपमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई अघि सारेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै मध्यराति संसद विघटन गरी कात्तिक अन्तिम साता र मंसिर पहिलो साता चुनावको मिति घोषणा गरेकी छन् । यसअघि पनि गत पुष ५ गते पनि संसद विघटन गरिएको थियो । तर सर्वोच्चले फागुन ११ गतेको फैसलाबाट त्यसलाई उल्टाइदिएको थियो ।
युग संवाददाता । । ८ जेष्ठ २०७८, शनिबार १२:१२