अस्पतालमा राजनीति रोक

देश यतिबेला कोरोना महामारीसँग जुधिरहेको छ । देशमा दैनिक दुई सयको हाराहारीमा कोरोनाबाट नागरिकले ज्यान गुमाइरहेका छन् । कतिपय संक्रमितले अस्पतालमा सहज रुपमा उपचार नपाउने अवस्था छ । अस्पतालसम्म पुग्न नपाएर, अस्पताल पुगेर पनि बेड नपाएर, अक्सिजन अभावमा दिनहुँ नागरिकको मृत्यु भइरहेको छ ।

निषेधाज्ञाका कारण नागरिकहरु घरबाहिर निस्कन सक्ने अवस्था छैन । दैनिक मजदुरी गरेर छाक टार्दै आइरहेका नागरिकको अवस्था थप दयनीय छ । तर पनि देशको राजनीति महामारी नियन्त्रणमा नभई महामारीमा पो राजनीति भइरहेको छ । महामारीमा राजनीति गरिएकै कारण नागरिकले बाँच्नका लागि संघर्ष गरिरहनु परेको छ ।

तर पनि राजनीतिक नेतृत्व महामारी नियन्त्रणमा गम्भिर बनेको देखिदैन । बरु यही महामारीलाई हतियार बनाएर आफ्नो सत्ता स्वार्थ पूरा गर्ने दाउमा राजनीतिक दलहरु लागेको देखिन्छ । अक्सिजन, बेड, एम्बुलेन्स, आईसीयु र भेन्टिलेटरको जोहो गर्नुपर्ने सरकार आफ्नै कुर्ची जोगाउनमा अलमलिएको छ । यो बेला भनेको अस्पतालहरुलाई अब्बल बनाउनु पर्ने थियो । विकासका अरु आयोजनाभन्दा अस्पतालहरुमा आवश्यक बेड तथा अक्सिजनको व्यवस्थापनमा राज्यको ध्यान केन्द्रीत हुनुपर्ने हो ।

तर त्यसो भइरहेको छैन । केन्द्र सरकार मात्र होइन, आज यो महामारीमा नागरिकको जीवन रक्षा गर्ने काममा प्रदेश सरकारले पनि खासै चासो नदिएको घटनाहरुबाट नै पुस्टि भइरहेको छ । कर्णालीमा दिन प्रतिदिन संक्रमण बढ्दो छ । औषतमा दैनिक आठ जनाले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेहरुको तथ्याकं हेर्दा अस्पतालमा नै धेरैको मृत्यु भएको देखिन्छ । यसको पछाडि धेरै कारण होलान् । तर अस्पताल पुगेपछि बिरामीले सहज रुपमा उपचार पाउनु पर्छ ।

अस्पतालबाट बिरामी निको भएर घर फिर्ता हुने अवस्था निर्माण गर्नु पर्दछ । तर पछिल्लो समय अस्पतालहरुमा राम्रो उपचार नपाएको गुनासोहरु बाहिर आइरहेका छन् । अस्पतालमा स्रोत साधानको उपलब्धता कम हुँदा अपेक्षा अनुसार सेवा दिन नसकिएको अस्पतालहरुले बताउने गरेका छन् । यस्तो अवस्थामा राजनीतिले प्रदेशको सबैभन्दा ठूलो र धेरै बिरामीलाई सेवा दिदै आइरहेको प्रदेश अस्पतालमा राजनीति घुसेको छ । आफ्ना स्वार्थ पूरा गर्न विभिन्न वहानामा अस्पतालमाथि प्रहार हुन थालेको छ ।

बिरामीको जीवनमाथि खेलबाड गर्न थालिएको छ । कहिले अस्पताल प्रशासनले नै संक्रमितको भर्ना लिन बन्द गर्ने सुचना निकाल्ने काम गरेको छ । कहिले प्रदेश सरकारले चलाउन नसकेको भन्दै यो अस्पताललाई नै प्रदेश सरकारबाट खोसेर केन्द्र सरकारले आफ्नो मातहतमा लैजाने तयारी गर्छ । यसले नागरिकमा त्रास मात्र पैदा गरेको छैन, यो महामारीमा कतै अस्पताललाई नै राजनीति गर्ने थलो पो बनाइन्छ की भन्ने आशंका पनि बढाएको छ ।

वास्तवमा अस्पतालको व्यवस्थापन कसले गर्ने भन्ने मुख्य विषय यो महामारीको बेलामा अगाडि आउनु हुँदैन थियो । यो बेलामा त सबै तह र पक्षबाट अस्पतालमा सेवा थप गर्दै उपचारलाई प्रभावकारी बनाउनेतर्फ सहयोग हुनुपर्छ । तसर्थ बाँकी विषयहरु पछि गरेर तत्कालका लागि नागरिकको जीवन रक्षाका लागि पनि अस्पतालमा राजनीति गर्न रोकौं ।

तपाईको प्रतिक्रिया