संक्रमितलाई सहज उपचार देऊ

सरकारी अस्पतालहरु राज्यका अंग हुन् । अर्थात राज्यको लगानीमा संचालन भइरहेकाले पनि सरकारी अस्पतालमा नागरिकले सहज रुपमा उपचार पाउनु पर्दछ । त्यसमा पनि स्वास्थ्य अत्यावश्यक सेवा हो । यसकारण पनि नागरिकले स्वास्थ्य उपचार पाउनु पर्छ । राज्यले नै स्वास्थ्य र उपचारलाई मौलिक हकका रुपमा स्वीकार गरेको अवस्था छ ।

यस्तो अवस्थामा कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुनु हुँदैन । राज्य नागरिकको अभिभावक पनि हो । यसकारण हरेक नागरिकलाई उपचार गर्ने जिम्मेजारी सरकारको हो । अहिले त झन् देशमा तीन तहका सरकार छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले नागरिकको उपचारमा ध्यान दिनु पर्ने हुन्छ ।

अहिले त फेरि देशमा कोरोना महामारी छ । यो महामारीबाट नागरिकलाई बचाउनका लागि राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन । तर देशमा पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितहरुले अस्पतालमा उपचार नपाउने समस्या बढेको छ । स्रोत साधनमा कमजोर कर्णालीमा पनि संक्रमितले सहज रुपमा उपचार नपाएको गुनासो गरिरहेका छन् । अक्सिजन, बेड र स्वास्थ्यकर्मीको अभावमा संक्रमितलाई सहज रुपमा उपचार नदिइएको गुनासो सार्वजनिक भइरहेको छ ।

शुक्रवार मात्र प्रदेशको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पतालले अक्सिजन अभावमा संक्रमितको भर्ना लिन नसकिने सूचना निकाल्यो । यो महामारीमा अस्पतालहरुमा स्रोत साधन र जनशक्तिको अभाव अवश्य छ । तर त्यही वहानामा राज्यको एउटा अंग अर्थात सरकारी अस्पतालहरु विरामीको उपचार गर्नबाट पन्छिन कदापी मिल्दैन । सरकारी अस्पतालले नै विरामीको उपचार नगर्दा राज्यको अभिभावकीय जिम्मेवारी पूरा हुन्छ त ?

त्यसकारण कुनै पनि वहानामा सबै अस्पतालहरु अझ सरकारी अस्पतालहरु त झन् विरामीको उपचारमा गम्भिर बन्नै पर्दछ । यद्यपी चौतर्फी दबावपछि प्रदेश अस्पतालले संक्रमितको भर्ना लिन थालेको छ । जुन सकारात्मक नै छ । अस्पतालहरुमा भएका अभावहरुको व्यवस्थापन गरिनु पर्दछ । प्रदेश, स्थानीय र केन्द्र सरकारले पनि यो महामारीको बेलामा अस्पतालहरुमा स्रोत साधन, उपकरण, अक्सिजन र स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्थापन गर्नै पर्दछ । बजेट अभावमा कसैको ज्यान जानु हुँदैन । आज नागरिकको ज्यान बचाउने बेला हो ।

अहिले महामारीमा नागरिकको ज्यान बचाए, भोली विकास गर्दा पनि हुन्छ । त्यसकारण कोरोना महामारीसँग जुध्न राज्यका सबै अगंहरु क्रियाशील हुनु पर्दछ । त्यसमा पनि अस्पताल र स्वास्थ्यका निकायहरु थप गम्भिर बन्नु पर्दछ । अस्पतालहरुले नागरिकलाई सहज रुपमा उपचार दिनु पर्दछ । नयाँ जीवन दिने अस्पतालहरुले यो महामारीमा उपचारका छेकबार गर्नु राम्रो होइन । तसर्थ यो महामारीसँग जुध्न सबैको साझा प्रयास आवश्यक छ । त्यसमा पनि संक्रमितहरुलाई सजह रुपमा उपचार दिलाउनेतर्फ राज्यको निकायहरु गम्भिर बनौं । यसले मात्र महामारी नियन्त्रण हुनसक्छ ।

तपाईको प्रतिक्रिया