कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त

सुर्खेत । कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई जना मन्त्री नियुक्त गरेका हुन् । गत बुधवार मात्र मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार काँग्रेसको असन्तुष्टीका कारण उनीहरुको शपथ रोकिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सुर्खेतका सिताकुमारी नेपाली र रुकुमपश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार सिताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् । उनीहरु दुबै जना माओवादी केन्द्रका सांसद हुन् ।

उनीहरु यसअघि बुधवार मन्त्री नियुक्त भए पनि शपथ लिन पाएका थिएनन् । काँग्रेसले दुई वटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो । यसअघि मन्त्री नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन् ।

माओवादी स्रोतका अनुसार काँगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेका हुन् । यसअघि विस्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको थियो । तर उनी यसपटक पार्टीको निर्देशनमा ब्याक भएको माओवादीको दाबी छ ।

अब बाँकी रहेका दुई मन्त्रालय काँग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा उर्जा विकास र सामाजिक विकास मन्त्रालय काँग्रेसले पाउने छ ।

तपाईको प्रतिक्रिया