प्रदेश र जिल्ला अस्पतालका लागि ५/५ सय अक्सिजन सिलिन्डर उपलब्ध गराउन माग

सुर्खेत ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश सभा संसदीय दलले कोरोना महामारीले कर्णाली प्रदेशभरिको अवस्था जटिल बन्दै गैरहेको भन्दै अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु तत्काल उपलब्ध गराईदिन संघीय सरकार समक्ष माग गरेको छ ।

प्रदेश सरकार मातहतमा रहेको कर्णाली प्रदेश अस्पतालले अक्सिजनको अभावमा थप बिरामी भर्ना नलिने सूचना प्रकाशित गर्नु दुःखद कुरा भएको भन्दैँ तत्काल स्वास्थ्य सामाग्रहरु उपलब्ध गराउँन आइतबार माग गरेको हो ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेल र सोही दलका प्रमुख सचेतक गुलावजंग शाहले तथा कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने धुर्वकुमार शाही, पार्वती विशुन्के, राजबहादुर बुढाक्षेत्री र मोहोन बानियाले कोरोनाका कारण कर्णाली प्रदेशका जनताले अनाहकमा ज्यान गुमाउनु परिरहेको भन्दै स्वास्थ तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी समक्ष आज विभिन्न ४ वटा मागहरु राखेका छन् ।

संसदीय दलले कर्णाली प्रदेश अस्पतालमा दैनिक कम्तीमा ५ सय सिलिन्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न वजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन माग गरेको छ । यस्तै, कर्णालीका जिल्ला अस्पतालहरुमासमेत न्युनतम सेवाहरु उपलब्ध गराउन अक्सिजन प्लान्ट स्थापना, आवश्यक वजेट र जनशक्तिको माग गरिएको छ ।

प्रदेश अस्पताल सुर्खेत र प्रदेश भित्रका सवै जिल्ला अस्पतालहरुलाई तत्काल ५ सयका दरले अक्सिजन सिलिन्डर उपलव्ध गराउन माग गरेको छ । दलले केन्द्रीय सरकारलाई आवश्यक आईसियू र भेन्टिलेटर सहितका वेड र औषधीको व्यवस्थापन गरिदिन पनि आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया