काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले धनगढी विरुद्ध १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा काठमाडौंका मेसुके ओलुमेउले गरेको गोल नै निर्णायक बन्यो।
पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलले आफ्नो पहिलो च्याम्पियन पाएको छ। पहिलो च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख जितेको छ। दोस्रो हुने धनगढीले नगद १५ लाखमा चित्त बुझाएको छ। प्रतियोगिताका विधागत तर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले नगद एक-एक लाख पाउने छन्।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा सात टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए। २१ दिन र २४ खेलपछि फाइनल पुगेका धनगढी र काठमाडौं उपाधिका लागि भिडेका थिए। फाइनल अघि नै यी दुई टोलीले दुई पटक खेलिसकेका छन्।
दुवै खेलमा धनगढी विजयी भएको थियो। लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो। यस्तै पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएर फाइनलमा स्थान बनायो। काठमाडौंले भने फेरि अवसर पायो र दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई ३–० ले पराजित गर्दै पुनः धनगढीसँग उपाधि भेट पक्का गरेको हो।
युग संवाददाता । । २ जेष्ठ २०७८, आईतवार १२:३४