परिवारकै सल्लाहमा सिताले नारायणसँग विहे गरिन्

मायामा विश्वास हुन्छ । विश्वासमा माया पनि हुन्छ । तर जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ, उनीहरुको माया पनि दिगो हुन्छ । सबैले माया गर्छन्, तर सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो जोडीको प्रेम सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै मध्येको एक जोडी नारायणप्रसाद ज्ञवाली र सिता ज्ञवाली । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश

 

पारिवारिक चिनजान

नारायणप्रसाद ज्ञवाली र सीता ज्ञवालीको पारिवारिक चिनजान हो । उनीहरु बिचको यो चिनजान सीताको दिदीको कारण भएको थियो । सिताको दिदी सरस्वती ज्ञवालीको बिवाह त्यही परिवारमा भएकोको थियो । परिवारभित्र पनि अझै नारायणसँग नै बिवाह भएको थियो ।

नाताले आफ्नै भिनाजु । पारिवारिक सम्बन्ध र चिनजान कती गहिरो थियो होला सहजै अनुमान लगाउन सकिन्छ । सिताको दिदी सरस्वती बिरामी थिइन् । नारायणको र सरस्वतीको पहिलो सन्तान छोरी थियो । सरस्वतीले आफु केही गर्दा निधन भए आफ्नो बहिनी सितालाई बिबाह गर्नुपर्ने नारायणलाई भन्थिन् । नारायण र उनको परिवारले त्यो कुरालाई स्वीकार गरेका थिए ।

आफ्नै भिनाजुसँग बिहे

समय क्रमसँगै सिताको दिदी सरस्वती ज्ञवाली स्वर्गीय भइन् । अनि उनीहरु दुबै परिवारकै सल्लाहमा सिताको बिवाह नारायणसँग गरिदिने निधो गरियो । निधन हुनुभन्दा पहिले नै सरस्वतीको इच्छा पनि आफ्नै बहिनीसँग नारायणको बिवाह होस् भन्ने थियो ।

त्यो किन भने उनको पहिलो सन्तान छोरीले दुख नपाओस् भन्ने नै थियो । दिदीको रेखदेखको लागि सिता नारायणको घरमा गईरन्थिन् । उनलाई पनि उनको दिदीले आफु स्वर्गीय भए यो घरपरिवार तिमीले चलाउनुपर्छ भन्ने गर्थिन् । अनि दुबै घरपरिवारको सल्लाहमा नै दिदीलाई बिवाह गरेको ९ बर्षपछि बहिनी सिता पनि आफ्नै भिनाजुसँग २०३९ सालमा बिवाह बन्धनमा बाँधिन पुगिन् ।

त्यसभन्दा अगाडी उनकी दिदीको बिवाह नारायणसँग २०३० सालमा भएको थियो । बिवाह गर्दा नारायणको उमेर २४ बर्ष थियो भने सिताको उमेर १६ बर्ष मात्र ।

फुर्सदमा घुमघाम

सीता र नारायणको बिवाहपछि उनीहरुका चार छोरा र तीन छोरी पनि जन्मिए । उनीहरु एकअर्काबिचमा असाध्यै माया गर्छन् । अहिले त सितालाई भान्सामा काम गर्नु पर्दैन । तर पहिले नारायणले आफ्नो फुर्सदको बेलामा सितालाई आराम गर भन्दै आफै खाना पकाउँथे ।

त्यतिबेला सिताले जीवनका सबै दुख भुल्थिन् । हरेक काममा सितालाई सघाउने नारायणले अरु दिनमा फुर्सद नपाए पनि शनिबारको दिनमा घुमाउन लग्थे । यो जोडी अहिले पनि एकअर्कालाई नयाँ सरप्राइज दिन मन पराउँछन् ।

बिवाहपछि संघर्ष

नारायण र सिताको बिवाह मागी बिवाह हो । उनीहरुले बिवाहपछि भने धेरै संघर्ष गर्नुपर्यो । यसैपनि दिदीको निधनपछि सितालाई उक्त घरपरिवारमा खुशी ल्याउनुपर्ने थियो । भने अर्कोतर्फ ठुलो परिवार हरेक जिम्मेवारी सम्हाल्नुपर्ने बुहारी भएर सानै उमेरमा बिवाह गरेको हुँदा सितालाई सबै कुरा जानकारी पनि थिएन ।

तर घरपरिवारले सबै सिकाउँथे । नारायणको बुवा ज्योतिषीको काम गर्थे । उनी सामाजिक क्षेत्रमा पनि कार्यरत थिए । ठुलो परिवारको शिक्षा, दिक्षा र खाना, नाना टार्न समस्या थियो । अर्कोतर्फ घर नजिकै मावी विद्यालय हुँदा अन्य आफन्तहरु पनि पढ्न नारायणकै घरमा बस्थे । यी सबै समस्या समाधान गर्न बुवाले एक्लै गर्न सक्ने अवस्था थिएन ।

घरको एक्लो छोरा आर्थिक, सामाजिक काममा नारायण र सिताले धेरै संघर्ष र कठिनाई भोग्नुपर्यो । नारायणले घरको जिम्मेवारीसँगै पढाइलाई पनि निरन्तरता दिए । त्यही संघर्ष र पढाइप्रतिको लगावका कारण उनी सरकारी जागिरे हुन पुगे । जागिरपछि उनको घरपरिवारमा केही सहजता आयो । नारायणले ४३ बर्ष शिक्षकको जागिर गरे ।

नारायण र सिताले आफ्ना छोराछोरीको पठनपाठन राम्रो बनाउन सके । उनीहरु अहिले आफ्नो आफ्नो पेशा र जागिरमा छन् । संघर्षपछि सफलता मिल्छ नै भनेको जस्तै अहिले उनि रिटायर्ड शिक्षक हुन् । उनले अर्थशास्त्रमा एमए गरेका छन् भने सिताचाहीँ हाल दैलेखको डुङ्गेश्वर गाउँपालिकाको उपाध्यक्ष छन् । उनले भने १० कक्षासम्म मात्र पढेकी हुन् । उनीहरु भन्छन्, यती संघर्ष नगरेको भए सायद सफलता प्राप्त गर्न सकिन्थेन होला ।

कस्तो थियो बाल्यकाल ?

बुवा काशिराम ज्ञवाली र आमा महेश्वरीदेवी ज्ञवालीको कोखबाट २०१५ साल साउन ४ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ डाँडा पराजुलमा जन्मिएका नारायण घरको एक्लोे छोरा हुन् । उनका पाँच दिदीबहिनी हुन् । उनको बाल्यकाल सामान्य रुपमा वित्यो । सानोमा उनी गम्भिर स्वभावका थिए ।

पढाइमा भने उनको लगाव राम्रो थियो । उनले ५ कक्षासम्म नेराप्राविमा पढे । ६ र ७ कक्षा सिता मावि अवलपराजुलमा पढेका नारायणले १० सम्म भने त्रिभुवन मावि दैलेखमा पढेका हुन् । उनले २०५३ सालमा त्यही माविबाट एसएलसी पास गरे । उनले उच्च शिक्षा भने त्रिभुवन विश्वविद्यालयबाट गरेका हुन् । सानोमा उनले घरको सबै काम गरेर पढ्थे ।

यस्तै, बुवा लिलाराम उपाध्याय र आमा जयकुमारी उपाध्यायको कोखबाट विस २०२४ फागुन १८ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ५गोगनपानीमा जन्मिएकी सिताको बाल्यकाल गाउँमै वित्यो ।

उनी घरको कान्छी छोरी हुन् । उनले ४ कक्षासम्म सरस्वती प्राविमा र ५ कक्षादेखि भने उनले सिता मावि अवलपराजुलमा पढिन् । उनले १० कक्षासम्म मात्र पढेकी हुन् । उनले सानैमा आमा गुमाउनु परेको थियो । उनले सानैदेखि धेरै दुख पाएकी थिइन् । तर उनले समाजको लागि केही गर्नुपर्छ भन्ने सोच राख्थिन् ।

सल्लाह र सहकार्य

संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । नारायण रिटायर्ड शिक्षक हुन् । सीता गाउँपालिकाको उपाध्यक्ष । यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । उनीहरु घरपरिवारसँगै सामाजिक काममा पनि संक्रिय हुने भएकाले उनीहरु सबै काम सल्लाहमा गर्छन् ।

उनीहरु अन्य जोडीलाई पनि हरेक काम गर्दा सल्लाह र सहकार्यमा गर्न सुझाव दिन्छन् । यसो गर्दा सम्बन्धमा दरार आउँदैन । यो जोडीले एकअर्काको बानीलाई असाध्यै मन पराउँछन् । एक अर्कालाई केयर गर्ने समस्या बुझ्ने बानी असाध्यै मनपर्छ । सितालाई नारायण धेरै माया गर्ने कुराले कहिले पनि रिसाउन मन लाग्दैन ।

घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् । एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उनीहरु कुनै पनि निर्णय एकल गर्दैनन् ।

उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा, अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो ।

 

तपाईको प्रतिक्रिया