सुर्खेत । शुक्रबार दिउँसो कालिकोटबाट दुई जना कोरोना संक्रमितलाई जुम्ला रिफर गरियो । कालिकोटको कोरोना अस्पतालमा अक्सिजन अभाव भएपछी दुई जना संक्रमितलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गर्नु परेको हो ।
कालिकोटमा ५५ बेडको अस्पताल छ । तर अक्सिजन प्लान्ट छैन । अक्सिजनको अभावमा संक्रमित असुरक्षित भएपछि तिलागुफा नगरपालिका ६१ वर्षीया महिला र खाँडाचक्र नगरपालिकाका ४१ वर्षका पुरुषलाई उपचारका लागि जुम्ला रिफार गर्नु परेको कोरोना विशेष अस्पतालका डाक्टर राजकमल कार्कीले जनाए । कालिकोटमा दुई सिलिण्डर अक्सिजन मात्रै छ ।
शुक्रबार दिउँसो नै हुम्लाबाट एक जना कोरोना संक्रमितलाई उपचारका लागि जुम्ला नै पठाइयो । जिल्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको हो । तीनदिन अघि संक्रमण पुष्टि भएका उनी रानीवनको आइसोलेनमा बस्दै आएका थिए ।
बिहीबार साँझदेखि स्वास्थ्यमा थप समस्या आएको थियो । अक्सिजनको मात्रा ४२ प्रतिशतमा झरेपछि हुम्ला रिफर गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
‘जिल्ला अस्पतालमा जटिल प्रकृतिका संक्रमितलाई उपचार गर्न सम्भव छैन’ उनले भने, ‘अक्सिजन अभाव र भेन्टिलेर सञ्चालन गर्न सभ्वन नभएपछि जुम्ला रिफर गर्नुप¥यो ।’ कालिकोट र हुम्लाका संक्रमित मात्रै होइन, अब कर्णालीका अधिकांश संक्रमितलाई उपचारका लागि जुम्ला नै रिफर गर्नुपर्ने संकेत देखिएको छ ।
जिल्ला अस्पतालमा अक्सिजन नहुनु, अक्सिजन र जनशक्ति अभावका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन नहुनु र प्रदेश राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालले थप संक्रमति भर्ना लिन सक्ने अवस्था नभएका कारण अब सिंगो कर्णालीका संक्रमितलाई उपचारका लागि जुम्ला नै रिफर गर्नुपर्ने अवस्था आएको छ । तर जुम्लामा पनि संक्रमितका लागि सहज अवस्था छैन ।
त्यहाँ पनि अक्सिजन अभाव देखिन थालेको छ । संक्रमितले अस्पताल भरिन थालेपछि अक्सिजन अभाव सुरु भएको हो । प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर राजिव शाहका अनुसार हाल सुर्खेत, नेपालगञ्ज, कैलाली र दाङबाटसमेत संक्रमित उपचारका लागि त्यहाँ पुगेको छन् । ‘अस्पतालमा दिन प्रतिदिन बाहिरी जिल्लाबाट संक्रमित थपिन थालेका छन्’ डा. शाहले भने, ‘तर अक्सिजनको अभावका कारण अब धेरै संक्रमित लिन सक्ने अवस्था छैन ।’ प्रतिष्ठानमा हाल ३० जना संक्रमित छन् ।
ति मध्ये पाँच जना भेन्टिलेटरमा छन् । तर भेन्टिलेटर सञ्चालनका लागि अस्पतालसँग पर्याप्त अक्सिजन छैन । ‘पाँच दिनमा एउटा गाडी सिलिण्डर पनि आउने सक्ने अवस्था छैन’ उनले भने, ‘केही दिनमै जुम्लामा पनि अक्सिजन अभाव सुरु हुन्छ ।’ अक्सिजन बाहेक पूर्वाधार र जनशक्ति भने तत्काल पर्याप्त छ । अस्पतालले संक्रमितको उपचारका लागि एकसय २० बेड आइसोलेसन, २४ बेड एचडीयु बेड, १२ बेड आइसियु र १५ बेड भेन्टिलेटर छन्् । त्यस्तै पिपिई, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीको पनि अभाव छैन ।
जुम्लामा पनि विद्युतकै समस्या
युग संवाददाता । । १ जेष्ठ २०७८, शनिबार १७:२८