काेराेना कहरकाे दाेस्राे लहर

कर्णालीलाई अब जुम्लाको भर

संक्रमितलाई जिल्लामै उपचार पाउन कठिन

सुर्खेत । शुक्रबार दिउँसो कालिकोटबाट दुई जना कोरोना संक्रमितलाई जुम्ला रिफर गरियो । कालिकोटको कोरोना अस्पतालमा अक्सिजन अभाव भएपछी दुई जना संक्रमितलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गर्नु परेको हो ।

कालिकोटमा ५५ बेडको अस्पताल छ । तर अक्सिजन प्लान्ट छैन । अक्सिजनको अभावमा संक्रमित असुरक्षित भएपछि तिलागुफा नगरपालिका ६१ वर्षीया महिला र खाँडाचक्र नगरपालिकाका ४१ वर्षका पुरुषलाई उपचारका लागि जुम्ला रिफार गर्नु परेको कोरोना विशेष अस्पतालका डाक्टर राजकमल कार्कीले जनाए । कालिकोटमा दुई सिलिण्डर अक्सिजन मात्रै छ ।

शुक्रबार दिउँसो नै हुम्लाबाट एक जना कोरोना संक्रमितलाई उपचारका लागि जुम्ला नै पठाइयो । जिल्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको हो । तीनदिन अघि संक्रमण पुष्टि भएका उनी रानीवनको आइसोलेनमा बस्दै आएका थिए ।

बिहीबार साँझदेखि स्वास्थ्यमा थप समस्या आएको थियो । अक्सिजनको मात्रा ४२ प्रतिशतमा झरेपछि हुम्ला रिफर गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयमा प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
‘जिल्ला अस्पतालमा जटिल प्रकृतिका संक्रमितलाई उपचार गर्न सम्भव छैन’ उनले भने, ‘अक्सिजन अभाव र भेन्टिलेर सञ्चालन गर्न सभ्वन नभएपछि जुम्ला रिफर गर्नुप¥यो ।’ कालिकोट र हुम्लाका संक्रमित मात्रै होइन, अब कर्णालीका अधिकांश संक्रमितलाई उपचारका लागि जुम्ला नै रिफर गर्नुपर्ने संकेत देखिएको छ ।

जिल्ला अस्पतालमा अक्सिजन नहुनु, अक्सिजन र जनशक्ति अभावका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन नहुनु र प्रदेश राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालले थप संक्रमति भर्ना लिन सक्ने अवस्था नभएका कारण अब सिंगो कर्णालीका संक्रमितलाई उपचारका लागि जुम्ला नै रिफर गर्नुपर्ने अवस्था आएको छ । तर जुम्लामा पनि संक्रमितका लागि सहज अवस्था छैन ।

त्यहाँ पनि अक्सिजन अभाव देखिन थालेको छ । संक्रमितले अस्पताल भरिन थालेपछि अक्सिजन अभाव सुरु भएको हो । प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर राजिव शाहका अनुसार हाल सुर्खेत, नेपालगञ्ज, कैलाली र दाङबाटसमेत संक्रमित उपचारका लागि त्यहाँ पुगेको छन् । ‘अस्पतालमा दिन प्रतिदिन बाहिरी जिल्लाबाट संक्रमित थपिन थालेका छन्’ डा. शाहले भने, ‘तर अक्सिजनको अभावका कारण अब धेरै संक्रमित लिन सक्ने अवस्था छैन ।’ प्रतिष्ठानमा हाल ३० जना संक्रमित छन् ।

ति मध्ये पाँच जना भेन्टिलेटरमा छन् । तर भेन्टिलेटर सञ्चालनका लागि अस्पतालसँग पर्याप्त अक्सिजन छैन । ‘पाँच दिनमा एउटा गाडी सिलिण्डर पनि आउने सक्ने अवस्था छैन’ उनले भने, ‘केही दिनमै जुम्लामा पनि अक्सिजन अभाव सुरु हुन्छ ।’ अक्सिजन बाहेक पूर्वाधार र जनशक्ति भने तत्काल पर्याप्त छ । अस्पतालले संक्रमितको उपचारका लागि एकसय २० बेड आइसोलेसन, २४ बेड एचडीयु बेड, १२ बेड आइसियु र १५ बेड भेन्टिलेटर छन्् । त्यस्तै पिपिई, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रीको पनि अभाव छैन ।

जुम्लामा पनि विद्युतकै समस्या

संक्रमितको उपचारका लागि आश गरिएको जुम्लामा पनि अक्सिजन उत्पादनका लागि विद्युतको समस्या छ । जुम्लामा विजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ । अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि विजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो ।
त्यहाँको प्लान्टले झण्डै तीनसय बेडलाई धान्छ । तर प्लान्टबाट सिधै एकसय ५० बेडमा अक्सिजन पुगि रहेको प्रतिष्ठानले जनाएको छ । अहिले २४ घण्टामा आठ सिलिण्डर मात्रै अक्सिजन उत्पादन  हुन्छ । ‘विजुली नहुँदा जेनेरेटर चलाएर भए पनि जेनतेन अक्सिजन बेडसम्म पु¥याइरहेका छौँ, प्रतिष्ठानका निमित्त निर्देशक राजिव शाहले भने, ‘बुस्टर कम क्षमताको भएको कारणले सिलिण्डर भर्न सकिएको छैन ।’
त्यहाँ अक्सिजन प्लान्टबाट सिलिण्डर भर्नको लागि आवश्यक पर्ने बुस्टर खरिदको प्रक्रिया अघि बढी सकेको छ । तर बुस्टर आपूर्ति गर्न सक्ने अवस्था छैन ।  ‘बुस्टरहरु भारतबाट मगाउनुपर्छ’ उनले भने, ‘अहिले भारतमै बुस्टर अभाव छ, तत्काल आपूर्ति हुने अवस्था छैन ।’
अक्सिजन उत्पादनमा समस्या आउन सक्ने भन्दै प्रतिष्ठानले अत्यावश्यक प्रयोजनका लागि झण्डै चारसय अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी गरेको छ । २४ घण्टा विद्युत आपूर्तिको लागि विद्युत प्राधिकरण शाखा कार्यालय जुम्लासँग समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया