अनमोलसँग ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

नायक भूवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन भएको छ । उनको आज मुम्बइमा निधन भएको निर्माता केसीले जानकारी दिए । उनले भने–‘उहाँलाई कोभिड भएको रहेछ । तर, कोरोनाको रिपोर्ट केही दिन अगाडि मात्र नेगेटिभ पनि आएको रहेछ । आज निधन भएको खबर आयो ।’

सुवोध चोपडाको निधन भएपछि नायक अनमोल केसीले पनि दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आफू स्तब्ध भएको बताएका छन् । अनमोलले, ‘माइतीघर २’लाई उत्कृष्ट बनाउने सुवोधको सपना दि सुपर काजोल फिल्मस्ले पुरा गर्ने बताएका छन् ।

सुवोध चलचित्र ‘माइतीघर २’ बनाउनका लागि केही महिनादेखि लागिपरेका थिए । अब, यो चलचित्र बन्छ कि बन्दैन भन्ने प्रश्नमा निर्माता भूवनले भने–‘सुवोधजीले जुन सपना बोकेर यसको कामलाई अगाडि बढाउनुभएको थियो, त्यो हामीले सक्छौं या सक्दैनौ थाहा छैन । तर, हामी यो चलचित्रलाई बनाउने कोशिश भने गर्नेछौं ।’

भूवनले अब, चलचित्र ‘पारस’को छायांकन पहिले गर्ने संकेत गरे । उनले भने–‘हामी वैशाखको दोश्रो साताबाट नै चलचित्र ‘माइतीघर २’को छायांकन सुरु गर्ने तयारीमा थियौं । तर, कोरोनाका कारण चलचित्रको काम सुरु हुन सकेन । अब, कोरोना महामारी सकिएपछि ‘पारस’को काम नै अगाडि बढ्छ होला ।’

सन् १९९७ देखि नै चलचित्रमा सक्रिय रहेका सुवोध स्क्रिप्ट राइटर हुन् । उनले ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका थिए । उनले, वि.सं २०२३ मा निर्माण भएको चलचित्र ‘माइतीघर’को कथालाई अगाडि बढाउँदै ‘माइतीघर २’ बनाउने तयारी गरेका थिए ।

तपाईको प्रतिक्रिया