चीनकाे जुरोङ रोभर मंगलग्रहमा सफल अवतरण

एजेन्सी । चीनले अन्तरिक्ष यानबाट प्रक्षेपण गरेको जुरोङ रोभर मंगल ग्रहमा अवतरण भएको छ। यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो मुलुक बनेको छ ।

६ वटा पाङ्ग्रा भएको सो रोभर मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको जानकारी चिनियाँ अधिकारीहरूले बीबीसीलाई दिएका छन्‌ ।

​मंगल ग्रहमा अवतरित क्यामेराजडित रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ ।

रोभरमा अन्य पाँचवटा उपकरण पनि जडान गरिएको र त्यसले मंगल ग्रहमा हिउँ भए/नभएको तथा त्यहाँका ढुंगाभित्र रहेका खनिज पदार्थ परीक्षण समेत गर्नेछ।

चीनले दोस्रो प्रयासमा मंगलग्रहमा रोभर पुर्‍याउन सफल भएको हो। यसअघि सन् २०११ मा रूस र चीनले संयुक्त रूपमा गरेको यान प्रक्षेपण विफल भएको थियो। चीनअघि अमेरिकाले मात्रै मंगल ग्रहमा रोभर अवतरण गराउन सकेको छ। यतिखेर अमेरिका र युएईले पनि मंगलग्रहतर्फ रोभर पठाएका छन्‌। ती रोभर हाल अन्तरिक्षमै छन्‌।

तपाईको प्रतिक्रिया