भारतको अवस्था निकै चिन्ताजनक, नेपालमा आपत्‌कालीन स्थिति : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको बताएका छन्।

भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकालीन स्थिति निम्तिएको टेड्रोसले बताएका छन् ।

भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहेको जनाउँदै टेड्रोसले भारत सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।

डा. टेड्रोसले अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएको उल्लेख गरेका छन्। भारतमा डब्ल्यूएचओले अक्सिजन कन्सन्ट्रेटर्स, मोबाइल फिल्ड अस्पतालका लागि टेन्ट, मास्क र मेडिकल सामग्री पठाइरहेको पनि उनले जानकारी दिएका छन्।

‘भारतको अवस्था अहिले पनि निकै चिन्ताजनक छ, कयौं राज्यमा संक्रमण मामिला र मृतक संख्या बढिरहेको छ,’ टेड्रोसले भनेका छन्। भारतलाई सहायता प्रदान गरिरहेका मुलुकहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन्।

भारतमा प्रतिदिन लाखौं मानिसहरू संक्रमित भइरहेका छन्। शुक्रबारमात्रै त्यहाँ ३ लाख ४० हजार नयाँ संक्रमित फेला परेका थिए। गत डिसेम्बरसम्म एक करोड मानिस संक्रमित भएकोमा पछिल्लो ६ महिनाभित्र यो संख्या २ करोड पुगेको बीबीसी हिन्दीमा उल्लेख छ।

तपाईको प्रतिक्रिया