अष्ट्रेलिया–भारत उडान पुनः शुरू

एजेन्सी । भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि हटेको। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो जानकारी दिएका हुन्‌।

उडानपूर्व कोभिड–१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गराइएको छ । अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो।

अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका छन्‌। पोष्टमा भनिएको छ, ‘आज मध्यरातदेखि भारतबाट अष्ट्रेलियाको लागि हुने उडानमा लगाइएको अस्थायी विराम अन्त्य भएको छ।’

अष्ट्रेलियाली सरकारले भारतलाई कोभिड–१९ सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो ।

भारतमा कोभिड–१९ को सङ्क्रमण बढेपछि मे ३ देखि उडानमा प्रतिबन्ध लगाइएको थियो। अष्ट्रेलियाले १४ दिन पहिले भारतमा रहेका आफ्ना नागरिकसमेत सरकारको निर्देशन विपरित अष्ट्रेलिया गएमा उनीहरूले सङ्क्रामक रोग नियन्त्रण नियम अनुसार जेल वा जरिवाना तिर्नुपर्ने बताइएको थियो ।

तपाईको प्रतिक्रिया