डडेल्धुरा : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका लागि स्वास्थ्य सामग्री पठाएका छन् । देउवाको सचिवालयबाट पठाइएका स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शुक्रबार विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् ।
देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेड लकर १५ थान, आइभी स्टेण्ड १५ थान, पिपिई सेट ८५ थान र केही आवश्यक औषधिहरू छन्।
आवश्यकताअनुसार विपद् व्यवस्थापन समितिले स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमार्फत वितरण गर्नेछ। उक्त सामग्री डडेल्धुरा अस्पताल र जोगबुढा अस्पताललाई दिइने जनाइएको छ।
पहिलो चरणमा स्वास्थ्य सामग्री जिल्ला पुगेको र अन्य सामग्रीहरु पनि पुग्ने क्रममा रहेको जिल्ला समन्वय समिति प्रमुख भट्टले जानकारी दिए । गत वर्ष लकडाउनमा खाद्यान्न पठाएका देउवाले यसवर्ष स्वास्थ्य सामग्री पठाएको उनले बताए।
संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र डडेल्धुरा अस्पतालमा दक्ष जनशक्ति कम रहेको र अक्सिजन प्लान्टको पनि स्तरोन्नति नगरिएकाले यसको उचित व्यवस्थापनका लागि प्रयास भइरहेको उनले बताए।
युग संवाददाता । । ३१ बैशाख २०७८, शुक्रबार १५:४२