कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तीन मन्त्री भित्रिए, दुई मन्त्री बाहिरिए

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सीताकुमारी नेपाली छन् ।

शर्मा रूकुमपश्चिम निर्वाचन क्षेत्र १ (ख) र विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित माओवादीका सांसदहरु हुन् । त्यस्तै नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । उनी पनि माओवादीबाटै निर्वाचित हुन् । यसअघि माओवादी संसदीय दलको प्रमुख सचेतक रहेकी नेपालीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयल टुक्राएर जलस्रोत मन्त्री बनाइएको हो ।

नवनियुक्त मन्त्रीको आज (बिहीबार) ११ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराइने कार्यक्रम रहेको मुख्ममन्त्री कार्यालयले जनाएको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार (कार्यविभाजन) नियमावली–२०७४ को अनुसूची १ र २ संशोधन गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्राउने निर्णय गरेको थियो ।

सोही बैठकले सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभ्ने गरी कार्यक्षेत्र हेरफेर गरेको थियो । सोही बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहरी विकासलाई गाभ्ने निर्णय गरेको छ । योसँगै कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्रीसहित माओवादीका चार मन्त्री भएका छन् ।

यसअघि मन्त्रिपरिषद्मा माओवादीका तीन जना मात्रै मन्त्री थिए । नयाँ मन्त्रिपरिषद्मा यसअघि मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेलामा एमालेबाट फ्लोर क्रस गरेका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अमरबहादुर थापाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र कुर्मराज शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेपाली काँग्रेस सरकारमा सहभागी भएको छैन । हाल रिक्त रहेको सामाजिक विकास मन्त्रालय मुख्यमन्त्रीले काँगे्रसलाई दिने सोच बनाएका छन् । तर काँग्रेसले दुई वटा मन्त्रालय मागेकोबताइएको छ ।

१२ बर्षमै राजनीतिमा होमिएका शर्मा

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । २०३४ साल पुग १२ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा उनको जन्म भएको हो । विद्यार्थी जीवनमै १२ बर्षको उमेरदेखि नै उनले राजनीति सुरु गरेका हुन् । तत्काली माओवादी विद्रोहमा २०५१ सालदेखि नै उनी भूमिगत भएका थिए ।

माओवादी भएका कारण उनले २०५२ साल चैत २६ गतेदेखि ४५ दिनसम्म बन्दी जीवन विताएका छन् । २०७४ को निर्वाचनमा रुकुमपश्चिम प्रदेशसभा (ख) बाट निर्वाचित उनी हाल माओवादी केन्द्र रुकुमपश्चिमका अध्यक्षसमेत हुन् । उनले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

 

जेलब्रेक घटनाका कमाण्डर विष्ट

 नवनियुक्त आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री विन्दमान विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । २०३६ साल बैशाख १६ गते कालिकोटमा उनको जन्म भएको हो । हाल बराहताल गाउँपालिका–१ सुर्खेतका स्थायी वासिन्दा उनले विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका हुन् ।

२०५६ सालमा तत्कालीन माओवादीले थालेका विद्रोहमा उनी भूमिगत भएका थिए । भूमिगतकालमै उनले २०५६ भदौदेखि २०५८ माघ १ गतेसम्म झण्डै १८ महिना बन्दी जीवन विताए । उनी सुर्खेत जेलब्रेक घटनाका कमाण्डर समेत हुन् ।

२०५८ माघ १ गते विष्ट लगायतले सुर्खेत कारागारबाट जेलब्रेक गरेर भाग्न सफल भएका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनले तत्कालिन अखिल क्रान्तिकारी विद्यार्थी संगठनको महासचिव जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । उनले राजनीतिक शास्त्रमा स्नातक तहसम्मअध्ययन गरेका छन् ।

 

दलितहरुको मुक्तिका लागि सक्रिय नेपाली

नवनियुक्त जलस्रोत तथा उर्जा विकास मन्त्री सीताकुमारी नेपाली कर्णाली प्रदेशमा दलित समुदायबाट मन्त्री हुने पहिलो व्यक्ति हुन् । २०४१ साल माघ १७ गते वीरेन्द्रनगर–७ ईत्राममा उनको जन्म भएको हो । २०५१ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेकी उनी दलित आन्दोलनको सशक्त योद्धा हुन् । २०५५ सालदेखि उनी माओवादी विद्रोहमा सहभागी भइन् ।

शिक्षा क्याम्पस सुर्खेतमा पढ्दै गर्दा उनले पार्टीको सदस्यता लिएकी हुन् । हाल लेकवेशी नगरपालिका वडा नम्बर ४ को स्थायी वासिन्दा उनी २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेकी थिइन् । संविधानसभा सदस्य रहेकै बेला उनी माओवादी केन्द्रको सचेतकको समेत जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । उनले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् ।

 

‘जग बसाल्ने काम ग¥यौं’

बुधबार मन्त्रीबाट विदा भएका नरेश भण्डारी र विमला केसीले आफूहरुको कार्यकाल सफल भएको बताएका छन् । प्रदेश सरकार गठन भएसँगै आफूहरुले सरकारको जग बसाल्ने काम गरेको उनीहरुको भनाइ छ । विमला केसीले पदमा रहँदा आफूले कर्णालीको गरिवी निवारणमा महत्वपूर्ण काम गरेको बताएकी छन् । ‘कर्णालीको गरिवी निवारण र कृषकलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण योगदान गरे’ केसीले भनिन् ।

सहकारी नमूना गाउँ अभियान, किसान हातेमालो कार्यक्रम, सहुलित ऋण कर्ता, विपन्न समुदायका लागि अनुदान जस्ता विभिन्न कार्यक्रमबाट किसानलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गरेको दाबी गरिन् । यस्तै नरेश भण्डारीले पदमा रहँदा प्रदेशको जग बसाल्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताए ।

मन्त्रीबाट विदा भएपछि युगआह्वान दैनिकसँग कुराकानी गर्दै भण्डारीले जनमूखि कानून निर्माण र समाजवादको अभ्यासको थालनी गरेको दाबी गरे । ‘प्रदेशका लागि आवश्यक पर्ने कानूनी निर्माण गरेर महत्वपूर्ण जिम्मेवारी निभाएँ’ भण्डारीले भने, ‘नेपालमै पहिलो पटक कर्णालीबाट समाजवादी अभ्यासको थालनी गरेँ ।’ निजामति कर्मचारी र कर्णालीवासीको सामूहिक दुर्घटना विमा, प्राकृतिक विपद्का घटनामा मृतका परिवारलाई राहतको सुरुवात द्वन्दपीडितहरुको निःशुल्क उपचारको व्यवस्था लगायतका कार्यक्रमहरुको थालनीलाई उनले महत्वपूर्ण उपलब्धी ठानेका छन् ।

 

‘समय आएपछि सरकारमा जान्छौं’

बैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वसाको मत दिएपछि नेपाली काँग्रेस सरकारमा सहभागी हुन्छ भन्ने धेरैको अपेक्षा थियो । तर महिना दिन पुगिसक्दा पनि काँग्रेस सहकारमा सहभागी भएको छैन । काँग्रेसले तत्काल सरकारमा सहभागी नहुने जनाएको छ ।

‘मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैमा सरकारमा गइहाल्नुपर्छ भन्ने छैन’ काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘तत्काल बाहिर बसेर सरकारलाई सघाउँछौं, समय आएपछि सरकारमा जाउँला ।’ अहिले बाहिरै बसेर सरकारलाई सघाउने र आवश्यक परेको खण्डमा सरकारमा सहभागी हुने उनको भनाइ छ । तटस्थ बस्दा एमालेलाई सहयोग पुग्ने भएका कारण काँग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया