काठमाडौंविरुद्ध ललितपुर : प्लेयर्स टु वाच

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा आज काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं र ललितपुरबीचको उपत्यका डर्बी खेल साँझ ५:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ ।

पहिलो एलिमिनेटर धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएपछि काठमाडौंले दोस्रो क्वालिफायर खेल्न लागेको हो । ललितपुरले भने दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंसँगको भेट पक्का गरेको हो ।

लिग चरणको उद्घाटन खेलमा काठमाडौं र ललितपुर प्रतिस्पर्धा गरेका थिए । उक्त खेलम काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो । आज ललितपुर पहिलो भेटको हारको बदला लिन चाहन्छ । काठमाडौं भने अघिल्लो जित दोहोर्याउन चाहन्छ । काठमाडौलाई मार्की खेलाडी विकेश कुथु, तेज तामाङ, विदेशी खेलाडी मेसौके, स्टेफन, छिरिङ गुरुङ जस्ता खेलाडीको साथ रहनेछ ।

ललितपुरलाई मार्की तथा कप्तान अन्जन सहित, डोना थापा, निरज बस्नेत, कमल श्रेष्ठ, एरिक बिष्ट, पिटर सेगुन, नुर्लान जाहिद जस्ता खेलाडीको साथ रहनेछ । आजको खेलमा ललितपुरका नुर्लान जाहिद र काठमाडौंका तेज तामाङ प्रभावशाली देखिन सक्छन् । उनीहरु खेलको प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया